मनमोहन अस्पतालमा आइभिएफ सेवा सुरु

काठमाडौँ । निःसन्तान दम्पतीलाई लक्ष्य गरेर राजधानीको स्वयम्भूमा रहेको मनमोहन अस्पतालमा आइभिएफ (टेष्टट्युब बेबी) सेवा शनिवारदेखि सुरु भएको छ । 

सो सेवाको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र डा.भोला रिजालले संयुक्त रूपमा मनमोहन आइभिएफ सेवाको उद्घाटन गर्नुभएको हो ।

मुख्यमन्त्री पाण्डेले मनमोहन अस्पतालको सेवा अझै फराकिलो र विस्तारित भएको बताउनुभयो । मनमोहन शिक्षण अस्पतालले कलेजको मान्यता नपाउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले  देशमा १९ जनाले निजी शिक्षण अस्पताल सञ्चालन गरिरहेको बेला दुई हजार ८०० जनाले लगानी गरेको र सहकारीको माध्यमबाट सञ्चालित मनमोहन अस्पताललाई योजनाबद्ध तरिकाले रोकिएको बताउनुभयो ।

टेष्टट्युब बेबी सेवा सुरुआत कार्यक्रममा डा.भोला रिजालले नेपालमै टेष्टट्युब बेबी सेवाले नेपाली निःसन्तान दम्पतीलाई राहत हुने तथा यसले नेपाली पैसा स्वदेशमै राख्न भूमिका निर्वाह गर्ने बताउनुभयो । 

कार्यक्रममा मनमोहन अस्पतालका निर्देशक डा.वंशीधर मिश्रले निःसन्तान दम्पतीको पीडालाई खुसीमा बदल्न यस्तो सेवा थप गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : २४ बजे