नेकपा एमालेको बैठकबाट काठमाडौंको मेयर केशव स्थापित, उपमेयर सुनिता डंगोल

काठमाडौँ / नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उप मेयरमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ । प्रदेश सांसद रहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले सञ्चारकर्मी डंगोललाई उपमेयर बनाउने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

डंगोलले यसअघि स्वतन्त्र रूपमा मेयरमा उठ्ने घोषणा गर्दै प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेकी थिइन् । सन् २०११ मा मिस नेवा समेत बनेकी डंगोलले काठमाडौंलाई सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउनका लागि विभिन्न प्रतिबद्धता जनाएकी थिइन् । उनले आफ्नो ८ खम्बे विकास मोडेलमा 'स्वच्छ वातावरण, यातायात व्यवस्थापन,राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद,रोजगारी तथा उद्यमशीलता, रिसर्च एन्ड डिभलपमेन्ट' लाई समेटेकी थिइन् ।

सत्तारुढ गठबन्धनले भने काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् । सत्ता गठबन्धनको सहमतिअनुसार काठमाडौंमा उपमेयरमा भने नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारी दिनेछ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : १२ बजे