‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आर्थिक अभावमा स्वास्थ्य बीमाबाट बञ्चित किसान समुदाय

झापा / स्वास्थ्य बीमालाई हरेक नेपालीको घरघर पुर्‍याउने उद्देश्यले सरकारले सुरु गरे तापनि लोपोन्मुख किसान समुदाय भने अझै आवद्ध हुनसकेको छैन ।

अर्थाभावका कारण किसान समुदायले स्वास्थ्य बीमामा आफूहरु आवद्ध हुन नसकेको जनाएका छन् । ज्याला, मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरु एकमुष्ट रकम तिर्न नसक्दा स्वाथ्य बीमामा जोडिन नसकेका हुन् ।

मेचीनगरका विभिन्न स्थानमा करिब एक हजार ९०० किसानको बसोबास रहेको छ तर अझैसम्म पनि स्वास्थ्य बीमा गर्न नसकेको जनाएका छन् । “एकैपटक त्यति धेरै पैसा कहाँबाट ल्याउनु”, मेचीनगर–९ की ५५ वर्षीया कुमारी किसानले भन्नुभयो, “मजदुरी गरेर ल्याएको पैसा खानै ठिक्क हुन्छ, अनि कसरी गर्नु र बीमा ।”

सरकारले पाँच जनाको परिवार बराबर रु तीन हजार ५०० र त्यो भन्दा बढी भएमा प्रतिव्यक्ति रु ५०० का दरले थप्नुपर्ने बिमाको नियम बनाएको छ । जसबाट परिवारका सदस्य बिरामी परेमा तोकिएको अस्पतालबाट रु एक लाख बराबरको औषधोपचार गर्न पाइनेछ । यी सबै विषयमा जानकारी लिएका किसान समुदाय भने अर्थाभावले बीमा गर्न नसकेको बताउँछन् ।

समुदायले राजा भनेर मानेका सुन्दरलाल किसान, अगुवा मानिएका जोगी किसानले समेत स्वास्थ्य बीमा अझै गरेका छैनन् । उहाँहरुले बीमा गराउन भनेर केही वर्षअघि बस्तीमा अभिकर्ता आए पनि फेरि फर्किएर नआएको कारण पनि गर्न नसकेको बताउनुभयो ।

“कहाँ गएर कसरी गर्ने भन्ने पनि थाहा छैन, बीमा गराउन कोही गाउँमा आउँदैन”, अगुवा जोगी किसान भन्नुहुन्छ । चन्द्रगढीमा रहेको बीमा बोर्डको कार्यालयले पालिकाका प्रत्येक वडामा बीमा अभिकर्ता खटाएर नै हरेक नागरिकको स्वास्थ्य बीमा गरिरहेको छ ।

तर मेचीनगरमा मात्र बसोबास गर्दै आएका नेपालकै लोपोन्मुख जातिका रूपमा रहेको किसान समुदायको स्वास्थ्य बीमाप्रति स्थानीय सरकारलेसमेत बेवास्ता गरेको उहाँको आरोप छ । स्वास्थ्य बीमा बोर्ड झापाका फोकल पर्सन बद्री बरालका अनुसार जिल्लामा करिब छ लाख बढी परिवार अर्थात् कूल जनसङ्ख्याको ६० प्रतिशतले स्वास्थ्य बीमा गरिसकेका छन् । रासस

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ८ : ४७ बजे