एनपीएलको ट्रफी सार्वजनिक

मन्त्रिपरिषदको बैठक बस्दै

प्रचण्डको फाइँफुइँ : बरबादीको हर्ष बढाइँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै माओवादी आन्दोलन नेपालमा सान्दर्भिक रहेको बताउँदै आएका छन् । अर्कातिर नेपालमा लोकतन्त्र जोगाउन नेपाली काङ्‌ग्रेसलाई जिताउनुपर्छ, रूख -चिन्हमा भोट हाल्नुपर्छ भन्दै आएका छन् । तर एक्काइसौँ शताब्दीका जनता नेताले जे भने पनि पत्याउदैन् । जनता के सही हो क गलत हो भन्ने छुट्याउन सक्षम छन् । अबको नेपालमा माओवादको सान्दर्भिकता छ कि छैन भन्ने निष्कर्षमा पुग्नुअघि तलका प्रश्नहरू माथि घोत्लिनु आवश्यक छ । आसन्न स्थानीय निर्वाचनमा माओवादी पार्टीलाई मत दिनुअघि अन्य पार्टीका मतदाताले यी विषयबारे गम्भीर भएर सोच्नु आवश्यक छ ।

गौँडा गौँडामा लोकतन्त्र र मानवअधिकारको विषय उठाउने नेपाली काङ्‌ग्रेस 'लोकतन्त्र र अग्रगमन'को लागि माओवादी शक्तिसँग निरन्तर सहकार्य गर्दैछ । यसले उसको बचेखुचेको लोकतन्त्रवादी छवि धुलिसात हुने निश्चित छ ।

के अझै दीर्घकालीन जनयुद्धद्वारा नेपाली सत्ता कब्जा गर्ने हो ?
भन्न परोइन, माओवाद दीर्घकालीन जनयुद्धको माध्यमद्वारा सत्ता कब्जा गर्ने विज्ञान हो । सत्ता कब्जा गर्ने उद्देश्य राखेर प्रचण्डले १० बर्षे जनयुद्ध सञ्चालन गरेकै हुन्  । सत्ता कब्जा गर्न नसकेपछि लोकतान्त्रिक गणतन्त्रमा आएको हो । तत्कालीन संसद्वादी दलसँग मिलेर शान्तिपूर्ण निर्णायक जनआन्दोलनमा सरिक भएको हो । शान्तिपूर्ण जनआन्दोलन, दुई दुई वटा संविधानसभाको चुनाव, संसदीय प्रक्रियाबाट संविधान जारी, र संविधानबमोजिम संसदीय निर्वाचनमा भाग लिइसकेको छ । यही अवधिमा लोकतान्त्रिक प्रक्रियाबाट आफू पटक/पटक प्रधानमन्त्री भएको बिर्सेर अझै बेलाबखत प्रचण्डले सत्ता कब्जाकै धङधङी ओकल्नुबाट प्रष्ट हुन्छ–उनी अझै सत्ता कब्जा गर्ने मौका छोपेर बसेका छन् । हाकाहाकी सदन सत्ता त केवल ट्याक्टिस्‌मात्र हो भन्ने नेता/कार्यकर्ताको माओवादीमा कमी छैन । जनताको बहुदलीय जनवादलाई मान्दिएजस्तो गरेर एमाले कब्जा गर्ने र त्यहीमार्फत सत्ता कब्जा गर्ने प्रचण्डको योजना सार्वजनिक भइसकेको छ ।  सत्ता कब्जा गर्ने उद्देश्यको माओवाद र बिपीको प्रजातान्त्रिक समाजवाद चुपचाप कुम जोडेर हिँडेको अचम्मको दृश्य देखिएको छ अहिले । तत्कालीन नेकपामा हरेक ठाउँमा ४० प्रतिशत हिस्सा मागेका र पाएका प्रचण्डले गठबन्धनमा १५/१६ प्रतिशतमा चित्त बुझाउनु आठौँ आश्चर्य जस्तै भएन र ?

  जनयुद्ध सकियो कि जारी छ?
आज यत्रतत्र विभाजित भए पनि माओवादीहरू “महान् जनयुद्ध जिन्दाबाद” भन्ने नारा लगाउन छोडेका छैनन् । यसमा विप्लव माओवादीदेखि डा.बाबुराम भट्टराईलगायत केही पूर्व माओवादीहरूको समेत समान धारणा पाइन्छ । उल्लेखित नाराको सोझो अर्थ हो–युद्ध बाँचिरहोस् । शान्ति, स्थिरता र आर्थिक समृद्धि चाहने जनतालाई युद्धकै भजन गराउने ? १० बर्षे जनयुद्धका केही सकारात्मक परिणामका साथै गम्भीर कमजोरी पनि थिए । ईमान्दारले त आफ्ना कमी कमजोरीप्रति जनतासँग क्षमा याचना गर्नुपर्ने हो । यो नै जनयुद्धलाई हेर्ने द्वन्द्व दृष्टिकोण हो । एमालेको मूलधार तत्कालीन नेकपा(माले)ले झापा विद्रोहका कमिकमजोरीको द्वन्द्व आत्मसमिक्षा गरेको प्रसङ्ग यहाँ उल्लेख गर्नुपर्ने हुन्छ । 

जनताको बहुदलीय जनवादलाई मान्दिएजस्तो गरेर एमाले कब्जा गर्ने र त्यहीमार्फत सत्ता कब्जा गर्ने प्रचण्डको योजना सार्वजनिक भइसकेको छ ।  सत्ता कब्जा गर्ने उद्देश्यको माओवाद र बिपीको प्रजातान्त्रिक समाजवाद चुपचाप कुम जोडेर हिँडेको अचम्मको दृश्य देखिएको छ अहिले ।

तर माओवादीहरू त्यो मान्न तयार छैनन् । कमजोरी स्विकार्दा सानो होइन्छ भन्छन् । माओवाद बोकेर हिडुन्ज्याल युद्धको कुरा नगरी हुन्न क्यारे १ मजदुरको भेलामा माओवादी क्रान्तिकारी भाषण गर्ने प्रचण्ड अजय सुमार्गीजस्ता विवादास्पद खरवपतिसँगको डिनरमा कस्तो वार्तालाप गर्दा हुन् ?  यता बेलाबखत आफूलाई गान्धीवादी बताउने रामचन्द्र पौडेलको माओवादीसँगको निरन्तर बसउठ, सच्चा लोकतन्त्रवादी एमाले विरुद्धमा हुने गरेको साँठगाँठ झन् विचित्रको छ । 

लोकतन्त्रवादी कि माओवादी?
माओवादीले युद्ध छोडेर शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिमा आएको एक दशक भइसक्यो । लोकतन्त्रको उपयोग गर्ने, चुनाव लड्न, प्रधानमन्त्री र मन्त्री र सांसद बन्ने अनि कहिल्यै संसदीय चुनाव नभोगेका युद्धकै बलले चिनिया सत्ता कब्जा गरेका माओको नामको पछाडि वाद जोडेर भजन गरिरहने बडो गजबको राजनीति छ माओवादीहरूको । माओकालीन चिनियाँ राजनीति र वर्तमान नेपाली राजनीतिमा कुनै साइनो र समानता छैन । हुनेवाला पनि छैन । त्यसकारण माओवादी सिद्धान्त शिरमा राखेर संसदीय चुनाव लड्नु दौरा सुरुवालमाथि टाई लाउनु जस्तै हो । तर गौँडा गौँडामा लोकतन्त्र र मानवअधिकारको विषय उठाउने नेपाली काङ्‌ग्रेस 'लोकतन्त्र र अग्रगमन'को लागि माओवादी शक्तिसँग निरन्तर सहकार्य गर्दैछ । यसले उसको बचेखुचेको लोकतन्त्रवादी छवि धुलिसात हुने निश्चित छ ।

अबको बाटो कता ?
वैचारिक हिसाबले प्रचण्डलाई अबको गन्तव्य त्यति सहज देखिँदैन । संसदीय बाटो छोडेर विगतको झैँ मालेमावाद समातिरहने हो भने उनले लोकतन्त्रको डङ्‌का पिट्नु हास्यास्पद मात्र हुनेछ । सत्ता सहवास सबैसँग गर्ने अनि माओवाद र युद्धको कुरा पनि गरिरहने त कसरी मिल्ला र ?  होइन भने जीवन र जगतलाई हेर्ने मार्क्सको द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण बाहेक माओवादको भारी बिसाएर आर्थिक समृद्धि मूल नारा बोकेका के पी शर्मा ओलीको नेतृत्वमा रहेको एमालेमा ध्रुवीकृत हुनुपर्ने हुन्छ । अन्यथा सत्ताको लागि नेपाली काँग्रेसको पछि हाल भइरहेको लिगलिगे दौडले त केवल बरबादीमा पुर्‍याउँछ, शून्यतामा पुर्‍याउँछ ।सिद्धान्त र व्यवहारमा शून्य तालमेल राखेर दोबाटोमा उभिएको यात्रीजस्तो कति दिन रहन सकिन्छ र रु गन्तव्यहीन दौडाइलाई 'अग्रगामी छलाङ' र गन्तव्यहीन यात्री प्रचण्डलाई 'महान् नेता'को उपाधि दिन सकिन्छ र ?

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ०३ बजे