जसपालाई जनकपुर दिएसँगै काँग्रेसमा बढ्यो असन्तुष्टि, आज पत्रकार सम्मेलन गर्दै 

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने भएपछि नेपाली काँग्रेसमा असन्तुष्टि बढेको छ ।

काँग्रेस नगर सभापति मनोजकुमार साहले केन्द्रदेखि नगर गठबन्धनको बैठकमा पनि जनकपुरधाम काँग्रेसले राख्नुपर्ने अडान राखे पनि केन्द्रीय गठबन्धनबाट जसपा नेपालको भागमा परेपछि असन्तुष्टि बढेको हो । 

सोही असन्तुष्टिका कारण साह नेतृत्वमा आजै २:०० बजे पत्रकार सम्मेलन गरी आवश्यक निर्णय लिने तयारी भएको छ ।

“आज २ः०० बजे पत्रकार सम्मेलन गरेर जनकपुर काँग्रेसले आवश्यक निर्णय लिने जानकारी दिइएको छ । के निर्णय हुनेछ, त्यो भने अझै खुलाइएको भने छैन”,  प्रेस युनियनका धनुषाका अध्यक्ष राजनसिंहले बताउनुभयो । 

सम्भवतः पार्टीबाट राजीनामा दिएर साह नेतृत्वमा जनकपुर धाममा स्वतन्त्र उम्मेदवारी दिने बारेमा निर्णय लिने बुझिए पनि औपचारिक जानकारी भने अझै गराइएको छैन । 

यसबारेमा थप जानकारी लिन खोज्दा नगर सभापति साह सम्पर्कमा आउन चाहेनन् ।

 

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ११ : ३२ बजे