काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सञ्चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले आज १ः०० बजे औपचारिक रूपमा उद्घाटन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोही अवसरमा एमालेले स्थानीय तह निर्वाचन सम्बन्धी प्रतिबद्धता पत्र पनि सार्वजनिक गर्नेछ ।
गत २०७२ को महाभूकम्पपछि बल्खुबाट धुम्वाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सरेको एमाले केन्द्रीय कार्यालय एक वर्षअघि थापाथलीमा सरेको थियो । थापाथलीस्थित भवन साँघुरो भएपछि एमाले केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेसँगै आजबाट औपचारिक उद्घाटन हुने भएको हो ।
प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १० : ०८ बजे
प्रतिक्रिया