‘पहाड, पर्वत, खोला—नाला, जग्गा—जमिन सबको, मालिक हामी दास बनौँ किन ? हिस्सा सबमा सबको !’ यो नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्रको उद्घोष हो । सर्वप्रथम नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७३ वर्ष पूरा भई ७४ औँ वर्ष प्रवेशका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीप्रति आशा, आस्था र विश्वास राख्ने सबैमा हार्दिक शुभकामना !
अप्रिल २२, लेनिन जयन्तीको अवसर पारी सन् १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको हो । त्यो दिन वि.स. २००६ साल वैशाख १० गते थियो । त्यसैले, तारिखका हिसाबले आज र गतेका हिसाबले भोलि नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस रहेको छ । यद्यपि, अहिले नेपाल कम्युनिष्ट पार्टी एउटै छैन । नेपाल कम्युनिष्ट पार्टी अनेकौँ समूहमा विभाजित छ । हरेक सानोतिनो मतभेद हुनासाथ विभाजित भई अर्को पार्टी बनाउने र त्यसैलाई मूल प्रवाह घोषणा गर्ने प्रवृत्ति नेपालका कम्युनिष्ट नेताहरूको मूल प्रवृत्ति रहेको देख्न सकिन्छ । तर, प्रकट तथ्य के हो भने जहाँ कार्यकर्ता, सदस्य बढी छन्, जसले जनसमर्थन बढी पाएको छ, त्यो नै वास्तविक मूल प्रवाह हो ।
अहिले हेर्दा कम्युनिष्ट पार्टीहरू सत्तामा र बलियो प्रतिपक्षमा रहेको देखिन्छ । कम्युनिष्ट पार्टीका नेताहरू राजकीय जिम्मेवारीमा रहेको देख्दछौँ । तर नेपाल कम्युनिष्ट पार्टी स्थापनाको समय आजको जस्तो सहज अवस्थाको थिएन । परिवारभित्र राजकाज चलाउने शासकीय शक्ति बाँडफाँट गरेको शासन चलाउने निरङ्कुश जहानियाँ राणा शासनका रहेको थियो । यही शक्ति र यस्तो व्यवस्था विरुद्धको प्रजातान्त्रिक जन–आन्दोलनका क्रममा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको हो । २२ अप्रिल १९४९ तदनुसार २००६ साल वैशाख १० गतेका दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता—स्थापना कालका महासचिव क. पुष्पलाल हुनुहुन्छ । पार्टीका अन्य संस्थापकहरूमा नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ हुनुहुन्छ । अब वहाँहरू भौतिक रूपमा नरहनुभएको भए पनि वहाँहरूले ज्यानै जोखिममा राखेर अघि बढाउनुभएको लोकतन्त्र प्राप्तिको आन्दोलन र स्थापना गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी आज नेपालमा सबैले चिन्ने, जान्ने र उपयोग गर्ने अवस्थामा रहेको छ । यसका लागि हामी सबै नेपाली जनता वहाँहरूप्रति कृतज्ञ हुनै पर्दछ ।
वैशाख १० गते स्थापित नेपाल कम्युनिष्ट पार्टीले १५ सेप्टेम्बर १९४९ मा पार्टीको पहिलो घोषणा पत्र जारी गरेको थियो । त्यस पर्चामा नेपाल कम्युनिष्ट पार्टीको कार्यक्रमबारे उल्लेख गरिएको थियो । त्यसै पर्चामा लेखिएको थियो, ‘पहाड, पर्वत, खोला—नाला, जग्गा—जमिन सबको ! मालिक हामी दास बनौँ किन ? हिस्सा सबमा सबको !! यही उद्घोषका साथ जारी गरिएको घोषणापत्रले सामन्तवाद, साम्राज्यवाद विरोधी जनवादी नेपाल निर्माण गर्ने नेपाली क्रान्तिको दिशा अवलम्बन गर्ने स्पष्ट गरेको थियो ।
कम्युनिष्ट पार्टीका बारेमा अलोकतान्त्रिक, अधिनायकवादी र निरङ्कुश हुने अनेकौँ झुटा लाञ्छना लगाउने सिलसिला चले पनि नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्रमा ‘नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ’ भन्ने कुरा नै त्यो पर्चाको मुख्य विषय रहेको थियो । पहिलो पर्चामा त्यस्तो उल्लेख गरेको नेपाल कम्युनिष्ट पार्टीलाई अलोकतान्त्रिक, अधिनायकवादी, निरङ्कुश हुने भनेर गरिएको अपप्रचार वास्तविक अर्थमा लोकतन्त्र विरोधीहरूको कपटपूर्ण अनर्गल प्रचार थियो भन्ने स्पष्ट हुन्छ । ‘पूर्ण नागरिक स्वतन्त्रताको लडाई जिन्दाबाद’ भन्ने उद्घोष नेकपाको जहानियाँ राणा शासन विरुद्धको अविराम सङ्घर्षको उद्घोष बन्यो । नेकपाको पहिलो पर्चामा काँग्रेसीहरूद्वारा राणासँग मेलमिलापको सम्भावनाको आशङ्का व्यवहारमा पुष्टि भयो र नेकपा नै सही साबित भयो ।
नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पहिलो घोषणापत्रमा उल्लेख गरेको लोकतन्त्रको मूलभूत विषयलाई आत्मसात् गरेर नै नेकपाका अनेक साना समूहहरूमा रहेका क्रान्तिकारीहरूलाई एकजुट बनाउँदै नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवा शक्तिको रूपमा स्थापित गर्ने सफलता प्राप्त भएको छ । कम्युनिष्ट क्रान्ति या वर्ग सङ्घर्ष भनेर गरिएका सशस्त्र युद्धका नाममा हुने गरेको हत्या, हिंसा, अराजकतालाई शान्तिपूर्ण मूलधारमा ल्याउने सफलताको श्रेय पनि कम्युनिष्ट पार्टीलाई नै जान्छ ।
नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणा पत्रमा ‘नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी जनताको विकासशील सङ्घर्षमा सहभागी बन्ने र त्यसलाई सङ्गठित पार्ने तथा नेतृत्व दिने र त्यसलाई विजयसम्म अघि बढाउने काममा आफूलाई समर्पित गर्दछ । यसलाई सो बाटोबाट जस्तोसुकै आतङ्क र झुटो प्रचारले पनि विचलित पार्न सक्ने छैन’ भन्ने उल्लेख छ । इतिहास साक्षी छ, नेकपाद्वारा ऐतिहासिक घोषणा पत्र जारी भएको एक वर्ष बित्दा नबित्दै नेपालमा ठुलो राजनीतिक उथल पुथल भयो र २००७ साल फाल्गुण ७ गते जहानियाँ राणा शासनको अन्त्य भयो ।
त्यसपछिका अनेकौँ घुम्ती मोडहरू पार गर्दै नेपाल कम्युनिष्ट पार्टीका नाममा विभिन्न समूहहरू नेपालको सत्ता, सदन र सडकमा छन् । अझै पनि नेकपाको ऐतिहासिक उद्घोष पूर्ण भएको छैन । कम्युनिष्ट पार्टीहरू स्थापना कालमा उद्घोष गरेका र पछि विकास भएका जनता, जीविकासाथै सुदृढ राष्ट्रिय एकता, राष्ट्रिय हित, समावेशी लोकतन्त्रको मजबुतीकरणका क्षेत्रमा अझ सशक्त ढङ्गले अघि बढ्न आवश्यक छ ।
पछिल्लो समय जननेता मदन भण्डारीको अग्रसरतामा जनताको बहुदलीय जनवाद विकास विकास गरिएको छ । यसलाई नेकपा (एमाले)ले आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको छ । जनताको बहुदलीय जनवाद वास्तवमा नेपाल कम्युनिष्ट पार्टी स्थापना कालदेखिको वैचारिक तथा सांगठानिक विरासतको रूपमा स्थापित छ । स्पष्ट दृष्टिकोण, योग्य र सक्षम नेतृत्व पङ्क्ति, सक्रिय कार्यकर्ता, व्यापक जनसमर्थनका कारण नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले देशको सबैभन्दा ठुलो राजनीतिक पार्टी मात्र नभई नेपालकै सबैभन्दा ठुलो राजनीतिक शक्तिको स्थापित भएको छ । यसले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ ! जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ !!’ नारा सहित कम्युनिष्ट आन्दोलनको वैचारिक शुद्धीकरण र सांगठानिक सबलीकरण गर्दै समाजतर्फको यात्रामा अघि बढ्ने आँट देखाएको छ ।
वास्तवमा कम्युनिष्ट आन्दोलनमा देखा परेको अवसरवाद, अराजकता र वैचारिक क्षीणता नै हो भन्ने देखिएको छ । यसलाई परास्त गर्दै व्यवहारमा देखा पर्ने केही कमजोरीहरूलाई हटाउँदै कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध र सुदृढ बनाउँदै अघि बढ्नुपर्ने मुख्य जिम्मेवारी नेकपा (एमाले) मा नै रहेको देखिन्छ । विभिन्न नाममा कम्युनिस्ट आन्दोलनभित्र देखा परेको अवसरवाद र अराजकतावादलाई परास्त नगरी कम्युनिष्ट आन्दोलन विजयी शिखरमा पुग्न सक्ने छैन ।
अन्त्यमा, ‘नेपाल कम्युनिष्ट पार्टी श्रमजीवी जनताको विकासशील सङ्घर्षमा सहभागी बन्ने र त्यसलाई सङ्गठित पार्ने तथा नेतृत्व दिने र त्यसलाई विजयसम्म अघि बढाउने काममा आफूलाई समर्पित गर्दछ । यसलाई सो बाटोबाट जस्तोसुकै आतङ्क र झुटो प्रचारले पनि विचलित पार्न सक्ने छैन’ भन्ने स्थापना कालीन सन्दर्भ स्मरण गर्दै अघि बढ्न आवश्यक छ । यस वर्षको पार्टी स्थापना दिवस समाजवादको आधार निर्माणमा कोशेढङ्गा साबित होस् ।
प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १० : ०३ बजे
प्रतिक्रिया