आजदेखि एसइई परीक्षा सुरु, ५ लाख १४ हजार परीक्षार्थी सहभागी

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई)आज बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदै छ ।  पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदै छ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसइईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।

बोर्डले एसइईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । विद्यार्थीहरूले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन् । 

बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिसकेको छ । 

एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण र रुजुको कामसमेत गर्ने छन् ।

कोभिड–१९ महामारीका कारण अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेड सिट जारी गरेको थियो ।

 

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ३८ बजे