वाग्मती प्रदेश सांसद सुवेदीको राजीनामा

चितवन । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिनुभएको छ ।  स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उहाँले बिहीबार राजीनामा दिनुभएको हो । 

नेकपा एमालेबाट महानगरको मेयरको उम्मेदवार बन्नुभएका सुवेदीले प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिनुभएको हो ।  

३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ११ र १२ वैशाखमा मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ । सोही कारण सुवेदीले आजै हेटौंडा पुगेर राजीनामा दिनुभएको हो ।  

सुवेदी चितवन क्षेत्र नम्बर २ खबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले चार वर्ष तीन महिना एक दिन बागमती प्रदेश सभा सदस्यको रुपमा काम गर्नुभयो । 

उहाँले ४९ दिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका थिए । सुवेदीलाई नेकपा एमालेले सर्वसम्मत रुपमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार सिफारिस गरिसकेको छ ।

उहाँ भरतपुर महानगरपालिका १२ का स्थायी बासिन्दा हुनुहुन्छ । 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ४ : ३३ बजे