थप ५७ वटा हिमाल आरोहणका लागि खुला

राष्ट्रपतिद्वारा स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । 

बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई आज भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उहाँले महामारीबाट सिकेको महत्वपूर्ण पाठमा जोड दिँदै नवीन र गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने खाँचो औँल्याउनुभयो । 

राष्ट्रपति भण्डारीले नेपालजस्ता विकासोन्मुख देशको आर्थिक पुनरुत्थानका लागि विश्व समुदायलाई उदार सहयोग ‘प्याकेज’ ल्याउन विशेष अपिल पनि गर्नुभयो । 

विश्वले सामना गरिरहेका विश्वव्यापी चुनौतीलाई पार लगाउन राज्यहरूबीच साझेदारी, सहकार्य र पारस्परिक सहयोगको आवश्यकतामा जोड दिँदै उहाँले प्रत्येक राष्ट्रको हितका लागि समग्र क्षेत्र, समग्र विश्वको दृष्टिकोणलाई अघि बढाउन आह्वान गर्नुभयो । 

जलवायु परिवर्तनले हिमाली र टापु राष्ट्रको अर्थतन्त्रमा परेको नकारात्मक असरबारे चर्चा गर्दै विश्वको तामक्रम वृद्धि रोक्न कार्बन उत्सर्जन घटाउने प्रतिबद्धताको अक्षरसः कार्यान्वयन गर्न राष्ट्रपति भण्डारीले सबै देशलाई आग्रह गर्नुभयो ।

एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलन यही वैशाख ७ देखि ९ गतेसम्म चीनको हेनान प्रान्तको बोआओमा ‘कोभिड–१९ र त्यसभन्दा परः विश्वव्यापी विकास र साझा भविष्यका लागि सहकार्य’ नाराका साथ जारी छ । 

राष्ट्रपति भण्डारीले मञ्चमा भएको छलफलबाट देशहरूलाई महामारी नियन्त्रण र रोकथामका उपाय अवलम्बन गर्न तथा आर्थिक पुनरुत्थान हासिल गर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ४ : २७ बजे