राष्ट्रपति भवनमा घटस्थापना

बालुवाटारमा कुरा मिल्दा स्थानीय तहमा काँग्रेस र जसपा असन्तुष्ट !

काठमाडौँ । सत्ता गठबन्धनले आगामी स्थानीय तहका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुङ्गो लगाएसँगै नेपाली काँग्रेस सहितका दलमा चर्को असन्तुष्टि देखिएको छ ।

तीन दिनयता लगातार छलफलमा जुटेका सत्ता गठबन्धनका दलहरूको बुधवार बसेको बैठकले भागबण्डा टुङ्गो लगाएको हो । 

गठबन्धनको निर्णय अनुसार नेपाली काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर लिएको छ भने वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिने भएको छ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयर पाएको छ भने ललितपुर महानगरपालिकामा उपमेयर उसको भागमा परेको छ । 

नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ। त्यस्तै उसले काठमाडौँ महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ। 

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले वीरगंज महानगरपालिका र विराटनगरमा उम्मेदवारी दिने गठबन्धनमा सहमति भएको छ । 

उपमहानगरमा काँग्रेसले इटहरी, धरान, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख पाउने सहमति भएको छ भने माओवादीले जितपुर सिमरा र घोराहीको प्रमुख पाएको छ । एकीकृत समाजवादीले हेटौँडा पाउँदा जसपाले जनकपुर पाएको छ । 

दलहरुबीच केन्द्रमा भागबण्डा टुङ्गो लाग्दा स्थानीय स्तरमा विरोध भइरहेको छ भने नेताहरूले असन्तुष्टि जनाएका छन् । जनकपुर र बीरगञ्ज जसपालाई दिने निर्णय भएसँगै त्यहाँ काँग्रेस कार्यकर्ताहरू क्रुद्ध भएका छन् ।

काँग्रेस जनकपुरका नगर अध्यक्ष मनोज साहले यो निर्णय स्वीकार नगर्ने चेतावनी दिनुभएको छ । उहाँले निर्णय नसच्याए कठोर कदम चाल्ने चेतावनी समेत दिनुभएको छ । 

हेटौँडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गठबन्धनले गरेको छ तर स्थानीय काँग्रेस नेता कार्यकर्ता सन्तुष्ट छैनन् । बुधवार दिउँसै उनीहरूले विज्ञप्ति निकालेर एकीकृत समाजवादीलाई दिए एक्लै प्रतिस्पर्धा गर्ने चेतावनी दिएका थिए ।

त्यस्तै, सत्ता गठबन्धनको छलफलमा अड्चन पैदा गरेको कास्कीको पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको छ । तर काँग्रेस कार्यकर्ताहरू सन्तुष्ट छैनन् । स्थानीय तहमा एकीकृत समाजवादीको जनाधार नभएको भन्दै काँग्रेसले आफूले पाए मात्र चुनाव जित्न सकिने दाबी गर्दै आएको छ । केन्द्रमा गठबन्धन बनेसँगै पोखरा महानगर समितिले कास्की काँग्रेसको कार्यालयमा तालाबन्दी गरेको छ । 

काँग्रेसमा मात्र होइन गठबन्धनका अन्य दलका नेता कार्यकर्ताले समेत भागबण्डामा असन्तुष्टि व्यक्त गरेका छन् । 

जनता समाजवादी पार्टी(जसपा) बाँके जिल्ला कमिटीले केन्द्रमा शीर्ष नेताबीचको सहमति नमान्ने चेतावनी दिएको छ । जसपाले दाबी गरेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख काँग्रेसले पाउने सहमति बालुवाटारमा भएपछि जसपा नेताहरु आक्रोशित बनेका हुन् । उनीहरूले उक्त निर्णय सच्याउन अल्टिमेटम नै दिएका छन् । 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ७ : ५९ बजे