सक्षम व्यक्तिको खोजीमा मतदाता

भजनी। कैलाली टीकापुर नगरपालिका–१ एकतापुर शिविरका सोमलाल चौधरी अहिले निकै सचेत देखिनुभएको छ । विगतका वर्षमा स्थानीय अगुवा पछाडि लागेर मतदान गर्नुभएका सोमलाल यो वर्ष भने त्यो गल्ती गर्ने पक्षमा हुनुहुन्न ।

“विगतका निर्वाचनमा समुदायको अगुवाले जहाँ भन्यो त्यहीँ भोट हाल्यौँ । एक जनाको पछाडि सिङ्गो समुदाय लाग्यो । अगुवाले  जिताउनुपर्नेलाई हामीले भोट हालेर चुनाव जितायौँ । चुनाव जितेकाले त के, भोट हाल्न निर्देशन गर्नेले पनि पछि हामीलाई बिर्से”, सोमलालले भन्नुभयो, “यो पटक त्यस्तो गल्ती गर्ने पक्षमा हामी छैनौँ । जसले वर्षौंदेखिको हामी सुकुम्बासीको समस्या समाधान गर्न सक्छ । हाम्रा समस्या समाधान गर्नसक्ने क्षमता जुन उम्मेदवारमा छ, हामी त्यसैलाई भोट दिन्छौँ ।”

विसं २०६४ देखि एकतापुर शिविरमै बस्दै आउनुभएकी सुमित्रा  विश्वकर्माले विगतका निर्वाचनमा विभिन्न राजनीतिक दलले चुनावमा जित्यो भने सुकुम्बासीको समस्या समाधान गर्ने लिखित प्रतिबद्धता गरेको बताउँदै प्रतिबद्धताको कागज आज पनि आफूहरुसँग सुरक्षित भए पनि चुनाव जितेकाहरु फर्केर शिविरमा नआएको बताउनुहुन्छ । “वर्षौंदेखि हामी आधारभूत आवश्यकताबाट समेत बञ्चित हुँदै आएका छौँ । हाम्रो बस्तीमा बिजुली छैन, सडक छैन, खानेपानी छैन, शिक्षाका लागि विद्यालय छैन । यस्ता कैयौँ आवश्यकताको पर्खाइमा हामी छौँ”, सुमित्राले भन्नुभयो, “यी आवश्यकता पूरा गर्छौं भनेर हामीसँग प्रतिबद्धता गरेर गएका आज फेरि बस्तीमा आइसकेका छन् । हाम्रा आवश्यकता पूरा गरेर होइन, भोट माग्नको लागि ।” उहाँले यसपटक भने आश्वासन दिनेभन्दा सम्भावना बोकेको नयाँ व्यक्तिलाई भोट दिने बताउँनुभयो । 

टीकापुर नगरपालिका–३ का आशिष जनाला पनि पार्टीभन्दा व्यक्तिको पर्खाइमा रहेको बताउनुहुन्छ । उहाँ राजनीतिक आस्था जुनसुकै पार्टीमा भए पनि यसपटक पार्टीभन्दा माथि रहेर सक्षम व्यक्तिलाई मौका दिनुपर्ने पक्षमा हुनुहुन्छ । “हामी कुनै राजनीतिक दलसँग आबद्ध छौँ । आस्थाले समुन्नत समाजको निर्माण नहुने रहेछ”, आशिषले भन्नुभयो, “समुन्नत समाजका लागि भिजन भएको व्यक्तिलाई पालिकाको नेतृत्वमा ल्याउनुपर्छ । मैले अरुलाई पनि दिने सुझाव त्यहीँ हो अहिले पार्टी नहेरौँ व्यक्ति हेरौँ ।”

भजनी नगरपालिका–६ कि दिव्या चौधरी दुई वर्षदेखि महुन्याल सामुदायिक वनको जग्गामा त्रिपाल हालेर बस्दै आउनुभएको छ । बाढीबाट विस्थापित भएकी दिव्या मात्रै होइन नगरपालिकाका अधिकांश वडामा बाढीबाट विस्थापित भएर सामुदायिक वनको जग्गा अतिक्रमण गरी बसेको दुई वर्ष भइसक्दा पनि आफूहरुको कुनै व्यवस्थापन सरकारले गर्न नसकेकामा निकै दुखित छन् । “हामीले कसलाई भोट दिने भन्ने अब, जसले हाम्रो व्यवस्थापन गर्छ त्यसैलाई भोट दिने हो । यसभन्दा पहिले धेरै आश्वासन भए । हामीले अहिले पहिला काम त्यसपछि भोट अभियान नै चलाएका छौँ”, दिव्याले भन्नुभयो, “आश्वासनले हामीलाई केही दिन सकेन । हाम्रा पीडाको सम्बोधन कतैबाट पनि भएन । अब पार्टी नभएर कुनै सक्षम व्यक्तिलाई चयन गर्न सक्यो भने माग पूरा हुन्छ कि भन्ने आशा अझै बाँकी छ ।”

भजनी नगरपालिका–५ का सूर्यबहादुर साउँद पनि महुल्याल सामुदायिक वनको जग्गामा बस्दै आउनुभएको छ । कान्द्रा नदीको बाढीबाट विस्थापित हुनुभएका सूर्यबहादुरको आशा सरकारले व्यवस्थापन गर्ला भन्ने   थियो । त्यो आशा पूरा हुन सकेन । निर्वाचनको समयमा नदीमा तटबन्ध गर्ने एजेन्डालाई विशेष महत्व दिएका उम्मेदवारले निर्वाचन जितेर कार्यकाल पूरा गरे पनि ती एजेन्डा पूरा गर्न नसकेको साउद बताउनुहुन्छ ।

“घरघर आए भोट मागे । यो गर्छु त्यो गर्छु भने, चुनाव जिते सरकार चलाए । पाँच वर्षसम्म भोट दिएर जिताएका जनतालाई कुनै नेताले  सम्झिएन । हाम्रो समस्या बुझ्न कोही आएन”, साउदले भन्नुभयो, “अब हामी पनि सचेत भइसकेका छौँ । कसले काम गर्नसक्छ कसले सक्दैन त्यो छुट्याउन सक्ने क्षमता हामीमा पनि छ । त्यसैअनुसार हामीले पार्टीभन्दा पनि व्यक्तिलाई भोट हाल्छौँ ।”

भजनी नगरपालिका–५ दुदुवाफाँटाका लोकेन्द्र साउदको पीडा पनि त्यस्तै छ । उहाँसँग पाँच बिघा जग्गाको लालपुर्जा छ । त्योमध्ये उहाँसँग अहिले दुई बिघा जग्गा छ । मोहना नदीको कटानले उहाँको दुई बिघा जग्गा नदीमा परिणत भइसकेको छ । “अहिले सरकारले सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँदै आएको छ । सुकुम्बासी हौँ भनौँ भने जग्गा छ । होइनौँ भने सबैबाट बढी सुकुम्बासी हामी भएका छौँ । यसमा राज्यले केही गर्न सकेन”, लोकेन्द्रले भन्नुभयो, “अब हामी त्यो आश्वासन दिने व्यक्तिको पक्षमा छैनौँ । हाम्रो मुद्दालाई महसुस गरेको व्यक्तिलाई अबको निर्वाचनमा हाम्रो साथ र समर्थन रहनेछ ।” रासस

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : ५७ बजे