मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

भरतपुरको विकासका लागि विजय सुवेदीले लिए सरोकारवालासँग सुझाव

चितवन । ३० वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले चितवनले प्रचारप्रसारसँगै सुझाव संकलन गर्न थालेको छ । नागरिकको अपेक्षालाई आफ्नो एजेण्डामा समेट्नका लागि सुझाव संकलन गरिएको छ ।

एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा उमेद्‌वारी दिने तयारी गरिरहनु भएका विजय सुवेदीले बुधबार सरोकारवालासँग सुझाव लिनुभएको छ । चुनावी घोषणा पत्र तयार गर्नका लागि सुवेदीले सुझावहरु संकलन गर्नुभएको हो । 

भरतपुरको विकास र समृद्धिका लागि नागरिकको अपेक्षा बुझ्न सुझाव लिइएको मेयरका उमेदवार उहाँले बताउनुभयो । महानगरबासी सबै नागरिकको अभिभावकत्व लिनेगरी नमुना महानगर बनाउन व्यवस्थित गुरुयोजना बनाएर काम गरिने उहाँले भन्नुभयो । 

नागरिकलाई क्षमताअनुसारको रोजगारी दिन सुरुको वर्ष नागरिकको अभिलेखिकरण गर्ने, अनुसन्धानका लागि आविस्कार केन्द्रको स्थापना गर्ने र विकास निर्माणमा निश्पक्ष सक्रियताको अभ्यास गर्ने उहाँको  प्रतिबद्धता छ ।

‘व्यवस्था परिवर्तन भयो भनियो तर अझै पनि अव्यवस्थाको निरन्तरता छ । हामी भरतपुरबाट व्यवस्थाको सुरुवात गर्छौँ’, उहाँले भन्नुभयो । 

प्राध्यापक कपिल सुवेदीले संघ र प्रदेशको बजेटको भरमा भरतपुरमा विकास भइरहेको बताउनुभयो । यहाँको विकासका लागि वैदेशिक लगानी भित्राउन पनि सकिने भन्दै उहाँले त्यसका लागि पहिला वैदेशिक लगानी नीति बनाउन आवश्यक रहेको बताउनुभयो । ‘वैदेशिक लगानी भित्राउन सक्नुपर्छ । महानगरमा त्यस्तो लगानीको लागि ऐन नै बनेको छैन’, उहाँले भन्नुभयो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भरतपुरलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो। यहाँबाट १५० किमीको दुरीमा देशका ठूला शहरहरु रहेको भन्दै उहाँले भन्नुभयो, ‘यहाँबाट निर्यात हुने वस्तुलाई प्रवर्द्धन गर्नुपर्छ । आयात प्रतिस्थापन गर्नुपर्छ । त्यसको लागि आर्थिक कुटनीति बनाउन जरुरी छ ।’

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्ने कुरामा जनतालाई प्रत्याभुति दिलाउन उहाँले आग्रह गर्नुभयो । त्यस्तै, महानगरको अहिलेको संरचनाले आगामी १० वर्षमा कति जनसंख्यालाई धान्न सक्छ त्यसको विश्लेषण गर्नुपर्ने उहाँले सुझाव थियो ।

अधिवक्ता राजकुमार श्रेष्ठले महानगरले ऐन कानुन बनाउँदा विज्ञसँग सल्लाह नगरेको बताउनुभयो। शहरी क्षेत्रका केहि वडा हेरेर सबै ठाउँमा एकै किसिमको कर लगाउने नीति गलत भएको उहाँले बताउनुभयो। सुकुमबासीलाई एक र दुई कठ्ठा जग्गा बाँडेर मात्र नहुने भन्दै उहाँले स्थायीत्वका लागि रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो।

पर्यटन विज्ञ विश्व सुवेदीले पर्यटन क्षेत्रको विकासमा पर्याप्त लगानी हुन नसकेको बताउनुभयो। भरतपुर महानगरमा ३० वटा पर्यटकिय गन्तव्य स्थल पहिचान भएका छन् । ‘पर्यटनको छुट्टै प्लानिङ गरौँ । पर्यटनलाई धेरै पक्षसँग जोडेर विकास र आर्थिक उन्नती गर्न सकिन्छ’, उहाँले भन्नुभयो । 

पर्यटन क्षेत्रको प्रवर्द्धनमा चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वन, २०३४ सालमा बनेको होटल सञ्चालन सम्बन्धि ऐन बाधक रहेको उहाँले बताउनुभयो।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : ०० बजे