कुनै पनि देशको लोकतन्त्र कति बलियो छ भन्ने आधार त्यस देशका पार्टीहरू कति लोकतान्त्रिक छन् भन्ने कसीमा नापिन्छ । लोकतन्त्र फगत पार्टीहरूको आवधिक चुनावी लडार्इँ मात्र होइन । अझ प्रतिनिधिमूलक लोकतन्त्रमा र पार्टी पद्धतिमा त पार्टीहरू कति अद्यावधिक छन्, जनभावनाको कत्तिको प्रतिनिधित्व गर्न सक्छन् र खास समयको नेतृत्व गर्न सक्छन् कि सक्दैनन् ? भन्ने पक्ष महत्त्वपूर्ण मानिन्छ ।
‘हाम्रो पुर्खाले यसो गरेका थिए त्यसैले यो पार्टी बलियो छ । फलानोको बाबुले यो पार्टीमा यति योगदान गरेका थिए त्यसैले उसको सन्तानले अवसर पाउनुपर्छ । यति वर्ष जेल परेका बिचराले टिकट पाउनुपर्छ ।’ यस्ता भाष्यले जब राजनीतिमा स्थान पाउँछन्, त्यहाँ कमजोर लोकतन्त्र छ भन्ने प्रस्ट हुन्छ । यो आलेख इतिहास भजाउने र वर्तमानमा राजनीतिक अवसर बजाउने संस्कृति मौलाउँदै गएमा कसरी भड्खालोमा परिन्छ भन्ने तथ्यमा आधारित रही तयार गरिएको छ ।
भारतमा भारतीय राष्ट्रिय काँग्रेस सबैभन्दा पुरानो पार्टी हो । यो कुनै बेला विश्वकै सबैभन्दा शक्तिशाली पार्टी थियो । यसले विश्व शक्तिशाली साम्राज्य बेलायतसँग लडेको थियो । साम्राज्यवाद विरोधी आन्दोलनका लागि विश्वलाई नै उत्प्रेरित गरेको थियो । भारत जस्तो विभाजित र विविधतायुक्त देशमा एकताको बीउ रोपेको थियो । लोकतन्त्रको स्थापना गरेको थियो । नेहरु, गान्धी जस्ता महामानवले नेतृत्व गरेको पार्टी थियो । अहिंसा [non violence] को मान्यता लोकतान्त्रिक, समाजवादी वा कम्युनिस्टहरूका लागि समेत आदर्श बनेको थियो । कुनै बेला बीसौँ शताब्दीका चर्चित कम्युनिष्ट नेता, भियतनाममा १९४५ देखि १९६९ सम्म राष्ट्रपति भएका होचिमिन्हले ‘हामी सबै महात्मा गान्धीका अनुयायी हौँ’ भनेका थिए ।
यही ऐतिहासिक जगमा कंग्रेसले दशकौँ शासन पनि चलायो । तर, अहिले त्यो कंग्रेस भारतीय थिंकर रामचन्द्र गुहाको भाषामा ‘क्यान्सरले थलिएको एक वृद्ध मानिस जस्तै भएको छ । ऊ अवश्य मर्दैछ, तर ऊ मर्दैछ छ भन्ने उसले स्वीकार गर्दैन । अझ ऊ मर्छु भन्ने समेत चाल नपाए जस्तो गरी अजम्मरी रहेको स्वाङ पार्छ ।’
गुहाका अनुसार भारतीय कंग्रेस कमजोर हुनुका मूल कारणहरू यस्ता छन्–
१. राष्ट्रका लागि कंग्रेसले त्यति ठुलो त्याग गरेको थियो भन्ने अहिले व्यक्तिगत स्मृति कमजोर हुँदै गएको छ । जनताको तहमा भारतीय कंग्रेसले इतिहासमा कति ठुलो बलिदान गर्यो ? कङ्ग्रेसका नेताहरूले कति र कस्ता त्याग र बलिदान गरे ? भन्ने संस्थागत स्मृति खुम्चिँदै गयो ।
२. यसले लामो समयसम्म सत्तामा रहँदा पनि जन पक्षीय कामको नेतृत्व गर्न सकेन । आमजनताको पार्टी बन्ने गरी रूपान्तरणको नेतृत्वमा पछिल्लो समय स्खलित हुँदै गयो ।
३. नयाँ पुस्तामा पुराना सामाजिक, सांस्कृतिक जस्तै : जातीय, छुवाछुत, लैङ्गिक जस्ता समस्याभन्दा व्यक्तिगत उपलब्धिमा जोड दिने संस्कार बढेको तर पार्टीले त्यसको नेतृत्व गर्न सकेन ।
४. पार्टीमा परिवारवाद हाबी भयो । गान्धी परिवारबाट पार्टी नेतृत्व र शक्ति अन्यत्र सिफ्ट भएन ।
५. नयाँ नेतामा युगको नेतृत्व गर्ने सामर्थ्य कमजोर रह्यो । राहुल गान्धीमा राजनीतिक नेतृत्वको गुण नै देख्न सकिएन ।
यसो हुँदा सन् १८८५ मा जन्मेको भारतीय कङ्ग्रेसलाई करिब १०० वर्षपछि १९८० मा जन्मिएको भारतीय जनता पार्टी, जुन राष्ट्रिय लोकतान्त्रिक पार्टी नभएर कट्टर हिन्दुवादी पार्टीले पछारी दियो । अझ २०१२ मा मात्रै जन्मिएको आम आदमी पार्टीले भित्तामा धकेलेर निचोर्दै छ । भारतीय जनताले उनीहरूको वर्तमान जीवन हेरिरहेका छन् । उनीहरूको व्यक्तिगत जीवनको लाभ खोजिरहेका छन् । शिक्षा खोजेका छन् । स्वास्थ्य सुविधा खोजेका छन् । रोजगारी खोजेका छन् । सम्पन्नता खोजेका छन् । वर्तमान खुसी खोजेका छन् । भविष्यको ग्यारेन्टी खोजेका छन् । इतिहासका पानामा मात्रै उनीहरू अब रमाउने छैनन् । त्यसैले जुन पार्टीले उनीहरूको वर्तमानको नेतृत्व गर्छ, त्यसैलाई भोट दिन्छन् । इतिहासको खम्बा समातेर बसिरहनेवाला छैनन् ।
नेपालमा पनि केही पार्टीहरूले भारतीय काँग्रेसको पथ अँगाल्दै गएको प्रतीत हुन्छ । नेपाली काँग्रेसले २००७ सालको प्रजातन्त्रको लागि लडेको, २०४७, २०६३ सालको आन्दोलनको लागि बलिदान गरेको र प्रजातन्त्रको नेता पार्टी हो भनी इतिहास भजाएर यहाँसम्म आएको छ । यही ऐतिहासिक लिगेसीमा मात्रै थिरिथिरि उभिएको छ ।
काँग्रेस विचारमा भुत्ते भएको छ । सङ्गठन संरचना निकै कमजोर छ । विचार र सङ्गठन बिना कसरी ऐतिहासिक योगदानको स्मृति नयाँ पुस्तामा जान्छ ? अझ २००७ साल, २०४७ साल र २०६२/६३ सालको राजनीतिक परिवर्तन अबका नयाँ पुस्ताका लागि उनीहरूको वर्तमानभन्दा महत्त्वपूर्ण हुने छैन ।
त्यस्तै, नेपाली काँग्रेस भारतीय काँग्रेस जस्तै परिवारवादबाट माथि उठ्न सकेको छैन । बिपी, मात्रिका, गिरिजा जस्ता नेताको योगदानको ब्याज उनीहरूको सन्तानमा हस्तान्तरण गर्दै जानु अधोगतितर्फ पाइला चाल्नु हो । यसैगरी, नेपाली काँग्रेसले विगतमा सबैभन्दा धेरै समय सत्तामा रहेर पनि आमजनताको हितानुकूल काम गर्न सकेन । यिनै कारण भारतीय काँग्रेस जस्तै नेपाली काँग्रेसले पनि वर्तमानको नेतृत्व गर्न नसकेको आभास हुन्छ ।
नेकपा माओवादीले पनि जनयुद्धको ध्वाँसको बलमा पार्टी चलाइरहेको छ । अहिलेको पुस्तालाई उनीहरूले भन्ने गरेको जनयुद्धको उपलब्धिसँग के सकारात्मक साइनो छ र ? माओवादीको इतिहास सैद्धान्तिकरण भएर नयाँ पुस्तामा हस्तान्तरण भएर जाने वाला छैन । जब हस्तान्तरण हुँदैन, तब स्मृति धमिलिँदै जान्छ र अन्त्यमा कोल्याप्स हुन्छ । त्यस्तै यो पार्टी पनि एक व्यक्ति अनन्तकालीन नेतृत्वको रोगबाट ग्रसित छ । परिवारवाद र नातावादको घेरामा सीमित छ । त्यसैले, यो पनि आमजनताको पार्टी र वर्तमानको नेतृत्व गर्ने शक्ति बन्न सक्दैन । अर्कातिर, वैचारिक रूपमा पनि कुनै स्पष्ट धारको नेतृत्व गर्न नसक्ने हुँदा यो त छिट्टै विघटनको सङ्घारमा पुग्नेछ ।
अन्य साना पार्टीहरू खास पार्टी नै बन्न सकेका छैनन् । त्यसको पछाडि कि त जडसूत्रवादी भएर बस्नु, कि त प्रतिगमनकारी चिन्तन र व्यवहारको कारण थलिनु हो । केही कम्युनिष्ट नाम धारण गरेका पार्टीहरू मार्क्सवादलाई डग्मा मानेर क्रान्तिको समय कुरेर बसेका छन् । यिनीहरू बौद्धिक विलास र आलोचनामा रमाउँछन्, तर अगाडि पाइला चाल्न सक्दैनन् । यिनीहरू पनि बिस्तारै मूल पार्टीमा समाहित हुँदै कोल्याप्स हुने छन् ।
कुनै पार्टीहरू राजतन्त्र खोजिरहेका छन् । राजतन्त्र खोज्नु त घरी काटेर केरा खाएपछि त्यही बोटलाई पुनः ब्यक्ताउनु खोजे जस्तै हो । यो त निषेधको निषेध नियम अनुसार निषेध भएर नयाँ स्वरूपमा परिवर्तन भइसक्यो । त्यसैगरी, कसैले हिन्दु धर्मलाई राजनीतिको बैसाखी बनाउने चेष्टा गर्दै छन् । हिन्दु धर्म राजनीतिक विचार वा मोडेल होइन । अझ हामी अब उत्तर औद्योगिक युगमा प्रवेश गर्दैछौँ । चौथो औद्योगिक क्रान्तिको युगमा पाइला टेकेका छौँ । यहाँ धार्मिक मुद्दाले सामयिक मुद्दालाई पार लगाउन सक्दैन । यसो हुँदा धर्मको आगोमा आङ सेक्नेहरू पनि धेरै समय टिक्दैनन् ।
केही कमजोरीका बाबजुद नेकपा एमालेसँग दिगोपनाको आशा गर्न सकिने आधार देखिन्छ । ती आधार यस प्रकार रहेको देखिन्छ:
१. यससँग बलियो सङ्गठन छ । यो सङ्गठनलाई वैचारिक रूपले तिखार्न सकेमा इतिहासका उपलब्धिलाई पुस्तान्तरण गर्न सक्छ, स्मृतिमा रहन सक्छ ।
२. सत्तामा पुग्दा केही जन पक्षीय काम गरेर परीक्षण भएको छ । यसले जनताको भरोसा बढाएको छ । विपक्षीले खुइलाउने आधार कमजोर छ ।
३. अरू पार्टीमा जस्तो एक नेतृत्व अनन्तकाल र परिवारवादको छनक देखिँदैन ।
४. सैद्धान्तिक रूपमा स्पष्ट छ । जड सूत्रबाट माथि उठेको छ, उदारवादीभन्दा अलग पहिचान दिएको छ । जनताको बहुदलीय जनवादी बाटोमा दृढ छ ।
५. आन्तरिक लोकतन्त्र, प्रतिस्पर्धाबाट सक्षम नेतृत्व छनौट गर्ने परम्परा छ ।
६. अहिलेको पुस्ताको आकाङ्क्षा अनुसारको नीति र नेतृत्वको विकास गर्ने तत्परता छ ।
यसो हुँदा एमालेमा इतिहास र वर्तमान मिलान छ । जब यी तागतहरूबाट बहकिन्छ एमाले पनि विनाशको बाटोमा जान्छ । तर, अहिलेको परिदृश्य हेर्दा नेकपा एमाले लोकतान्त्रिक मूल्य सहितको कल्याणकारी बाटोमा हिँडेको देख्न सकिन्छ ।
जुन पार्टीले यसरी आफूलाई रूपान्तरित गर्छ, त्यो मात्र बच्छ । रूपान्तरित नहुने मरीच बन्दै जान्छ । आगामी चुनावहरूले समेत यस्तो सङ्केत देखाउने छन् । त्यसैले, आगामी चुनावहरूमा विघटनको बाटोमा घिसारिएकालाई भन्दा दिगो भविष्यको पथमा लम्किनेलाई रोज्नु बुद्धिमानी हुनेछ ।
प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार ९ : १३ बजे
प्रतिक्रिया