राष्ट्रपति भवनमा घटस्थापना

जसपाले नेपालगञ्ज पनि खोजेपछि बल्झियो विवाद, गठबन्धनको बैठक बस्दै

काठमाडौँ । आसन्न निर्वाचनमा उपमहानगरपालिकामा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ः०० बजे सत्ता गठबन्धनको बैठक बस्न लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।  

गठबन्धनले ६ महानगरपालिकामा सिट बाँडफाँट करिब करिब टुङ्ग्याए पनि उपमहानगरपालिकामा भने विवाद कायमै छ । मङ्गलवार राति बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । 

११ मध्ये ९ उपमहानगरमा सहमति जुटे पनि नेपालगन्ज र जनकपुर उपमहानगरपालिकामा सहमति जुटेको छैन । यसअघि जनकपुरमा जनता समाजवादी पार्टी र नेपालगञ्जमा नेपाली काँग्रेसलाई मेयरको सिट दिने विषयमा छलफल भएको थियो । तर, जसपाले नेपालगञ्जमा पनि दाबी गरेपछि काँग्रेसले जनकपुरमा समेत दाबा ठोकेको हो । 

११ उपमहानगरमा काँग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक÷एक मेयर लिने गरी सहमतिमा प्रयास भए पनि जसपाले दुई उपमहानगर खोजेको हो । 

६ महानगर मध्ये काँग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक÷एक मेयर पाउने गरी सहमति जुटिसकेको बताइएको छ । 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : ३२ बजे