मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

अर्थमन्त्री शर्मामाथि राजीनामा दिन नैतिक दबाब

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘पब्लिकली ह्यारेस’ गर्दै आएका अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामा दिन दबाब बढेको छ ।

निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएलगत्तै अर्थमन्त्री शर्मामाथि नैतिक दबाब पर्न सुरु भएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय अर्को आदेश जारी नभएसम्मका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सर्वोच्चले वैशाख १३ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

अधिकारी बुधबारदेखि नै काममा फर्कंदै हुनुहुन्छ ।

भ्रष्टाचारविरोधी अभियनन्ता केदार खड्का भन्नुहुन्छ, ‘सर्वोच्चको अन्तरिम आदेशसँगै राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी भोलिदेखि काममा फर्कने भएकाले अर्थमन्त्री जनार्दन शर्माले अब नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रसस्त गर्नु उचित होला ।’

पूर्वको चर्चित रेडियो सप्तकोशी एफएमका समाचार प्रमुख लिलाराज भट्टराईले पनि शर्माको राजीनामा अपेक्षित रहेको बताउनुभएको छ । ‘दुई दशकअघि तिलक रावललाई सर्वोच्च अदालतले पदबहाली गराइदिँदा तत्कालीन अर्थमन्त्री महेश आचार्यले तत्काल राजीनामा दिएका थिए,’ भट्टराईको भनाइ छ, ‘अहिलेका अर्थमन्त्रीले के गर्लान हेरौं ।’

परमादेशबाट अर्थमन्त्री भन्ने अवसर पाउनुभएका जनार्दन शर्माले अर्थमन्त्रालय प्रवेश गरेलगत्तै राज्यको ढुकुटीमा दुलो पार्न सुरु गरेको आरोप छ । नासु, खरिदारदेखि अर्थसचिवसम्म फेरबदल गरेर ‘माइक्रो म्यानेजमेन्ट’ गरेका शर्माले पूर्ववर्ती सरकारले ल्याएको पपुलर बजेटलाई रोकेर मुलुकको आर्थिक तहसनहस बनाउनेमा भूमिका खेल्नुभएको छ ।

गर्भनरलाई सार्वजनिक कार्यक्रममा अपहेरित गर्ने, आर्थिक मुद्दामा अनावश्यक चासो राख्ने, खटनपटन गर्न सुरु गरेपछि राष्ट्रबैंक र मन्त्रालयको तनाव चर्किएको थियो ।

सत्ताका लागि जे सुकै दिन पछि नपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई कारबाही गर्न दबाब परे पनि वास्ता नगरेको आरोप छ ।

अर्थमन्त्री शर्माले अमेरिकाबाट आएको शंकास्पद ४० करोड बढी रुपैयाँ फुकुवा गराउन केन्द्रीय बैंकलाई ताकेता गरेको र गभर्नर अधिकारी अवरोध बनेपछि सहज मार्गको निम्ति हटाइएको समाचारहरु बाहिरिएका छन् ।

दुई दशकअघि डा तिलक रावललाई सर्वोच्च अदालतले पदबहाली गराइदिँदा तत्कालीन अर्थमन्त्री महेश आचार्यले तत्काल राजीनामा दिनुभएको थियो । अब शर्मा नैतिक र राजनीतिक परीक्षा सुरु भएको छ ।

सर्वोच्च अदालतको आदेशले राष्ट्र बैंकको स्वायत्तता थप संरक्षण गरिदिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ८ : ४९ बजे