दुर्गा प्रसाईंद्वारा साङ्लोमा बाँधिएका युवाको उद्धार

बिर्तामोड – नेकपा एमालेका केन्द्रीय सदस्य तथा बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हल्दिवारीबाट साङ्लोमा बाँधेर राखिएका एक युवाको उद्धार गर्नु भएको छ ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेर साङ्लोमा बाँधेर राखिएका युवाको आज बिहान प्रसाईले उद्धार गर्नु भएको हो । उद्धार गरिएका युवाको सम्पूर्ण उपचार खर्च बीएण्डसी अस्पतालले व्यहोर्ने प्रसाईले भन्नुभयो ।

हल्दिबारी गाउँपालिका–५ बस्ने चन्द्रप्रसाद ढकालले आफ्नो २३ वर्षीय छोरा गङ्गाप्रसादलाई साङ्लोले घरको आँगनमै बाँधेर राख्दै आएका थिए । गाउँपालिकाको कार्यालय अगाडि चन्द्रले छोरालाई साङ्गोलमा बाँधेर राखेपनि गाउँपालिकाले चासो दिएको उनीहरुको गुनासो थियो । उपचार खर्च जुटाउन नसक्दा छोरालाई बाँधेर राखेको चन्द्रप्रसादको भनाई छ ।

हल्दिवारी गाउँपालिकाले बनाई दिएको घरमा बस्दै आएका गंगाप्रसाद गत पुसदेखि मानसिक अवस्था बिग्रिएर थला परेका थिए। छोराको उपचार खर्च जुटाउन नसकेको उनका बुबा चन्द्र प्रसादले दुखेसो समेत पोखेका छन् । गाउँपालिकाको गेट नै अगाडि यस्तो अवस्था हुँदा समेत कसैको ध्यान गएको थिएन ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  २ : ५१ बजे