एनपीएलको ट्रफी सार्वजनिक

मन्त्रिपरिषदको बैठक बस्दै

स्थानीय निर्वाचन: वैचारिक राजनीति, गठबन्धनको संस्कृति र निर्दलीय चरित्र कुन रोज्ने ?

राजनीति विचार र सङ्गठनविहीन छ भने त्यो अवसरवाद हुन्छ। हिजो स्वतन्त्र अभियन्ता बनेर सडकदेखि लिएर सामाजिक सञ्जालहरूमा कराउनेहरू हिजोआज राजनैतिक तथा संवैधानिक व्यवस्थाका विरुद्धमा हलो बोकेर राजतन्त्र फर्काउँछौँ भन्दै दलको झन्डा समाएर कुदेका छन्। अनि राजनीतिमा विचार सङ्गठित गरेर व्यक्तिगत स्वार्थ मात्र हाबी भयो भने त्यसले सधैँ अपराध र अराजकतालाई पक्षपोषण गरिरहन्छ। आज तिनीहरू राष्ट्रका लागि मुख्य समस्या बनिरहेका छन् र बन्दै छन्। गएको तीस वर्ष यिनै अराजक जत्थाको गतिविधिका कारणले नेपाल आर्थिक सामाजिक रूपमा मात्र होइन राजनीतिक र कूटनीतिक रूपमा पनि कमजोर हुने अवस्थामा पुगेको छ।

हलो बोकेर राजतन्त्र फर्काउन खोज्ने हुन कि क्रान्ति र परिवर्तनको नारामा अपराध र अराजकता बढाउने मात्र होइन आफूलाई वैकल्पिक राजनीतिको अगुवा ठान्नेहरू पनि यतिखेर देशका लागि समस्या बन्दै छन्। त्यो समस्यालाई मलजल गरेर बढाउने काममा कथित लोकतन्त्रवादीहरू गठबन्धनको नाइके बनेर परमादेशमार्फत जनादेश विस्थापित गरेर देशलाई राजनैतिक तथा संवैधानिक अस्थिरताको चक्रव्यूहमा फसाउने कामको नेतृत्व गरिरहेका छन्। आज देश तिनै तीन पक्षको अघोषित मोर्चाबाट पीडित भइरहेको छ। अहिले त्यसमा ‘अटेरी युवा अभियान’ भन्ने अर्को समूह जोडिन खोजेको घटनाहरूले देखाउँदै छ। जहाँ(जहाँ प्रगतिशील लोकतन्त्रवादी राजनीति बलियो छ, त्यहाँ उनीहरूले आफ्ना गतिविधिहरू बढाएका छन्।

राजनीति नै गर्ने हो भने सबभन्दा पहिला विचारको आधारमा सङ्गठित हुँदै राष्ट्रिय स्वार्थमा सामूहिक रूपमा अघि बढ्ने मार्गचित्र बनेको हुनुपर्छ। त्यही राजनीतिक विचारमा सङ्गठित समूहहरूको प्रतिस्पर्धाबाट अघि बढ्ने राजनीतिलाई हामीले दलीय राजनीति भनेर बुझ्नुपर्छ। जुन वैचारिक जगमा बनेको हुनुपर्छ। तर पछिल्लो समय नेपालको राजनीतिमा विचार, सामूहिक भावना र देश भन्दा पनि व्यक्तिगत तथा गुटीय स्वार्थ मुख्य बनाउने अवसरवादी संस्कृतिले प्राथमिकता पाउन खोजेको देखिन्छ। कम्फर्टेबल सत्ता गठबन्धन त्यसको बलियो उदाहरण हो। त्यस्तै राजतन्त्र फर्काउन चाहने समूह हुन कि अटेरी युवा अभियानको निर्दलीय चरित्र अर्को उदाहरणको रूपमा लिनुपर्ने भएको छ।

स्थानीय चुनाव सम्मुखमा छ। यो चुनावमा एकातिर नेकपा एमालेले वामपन्थी राजनीतिको नेतृत्व गर्दैछ भने अर्कोतिर दक्षिणपन्थी राजनीतिको नेतृत्व कम्फर्टेबल गठबन्धनले गर्दैछ, जसको मुख्य नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरिरहेका छन्। यो गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सामेल भएको छ। तेस्रो धारको रूपमा राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राप्रपा अनि वैकल्पिक राजनीति गर्छु भन्ने व्यक्ति तथा समूहहरू देखिन्छन्। अहिले त्यो वैकल्पिक राजनीति गर्ने समूहमा पनि एउटा पक्षको नेतृत्व रवीन्द्र मिश्रले गरिरहेका छन् भने अर्को अटेरी युवा अभियानको नेतृत्व भूमिगत समूहले गरिरहेको छ। यतिखेर जनतालाई उपलब्ध विकल्पहरू मध्ये कुन बढी असल वा कम खराब भनेर छुट्याउन कठिन भएको छ।

नेकपा एमाले चुनावमा एक्लै होमिन खोज्दै छ भने कम्फर्टेबल गठबन्धनमा केन्द्रदेखि लिएर स्थानीय तहसम्म कसरी अघि बढ्ने भन्ने सवालमा मतभेद बढ्दो छ। राप्रपा आफ्नो असल र सबल पक्षको धरातलमा होइन जनताको क्षणिक आवेगलाई राजनीतिकरण गरेर बलियो बन्ने परिकल्पनाका साथ अघि बढ्दै छ। अटेरी समूह मतदाताको असन्तुष्टिलाई प्रयोग गरेर भूमिगत समूहको योजनामा क्रियाशील छ। कम्फर्टेबल गठबन्धन दक्षिण पश्चिमको स्वार्थ पूरा गर्ने योजना बनाएर चुनावमा जान खोज्दै छ भने राप्रपा र अटेरी युवा अभियान अनि रवीन्द्र मिश्रहरू गणतन्त्रको विपक्षमा माहौल बनाउने ढङ्गले परिचालित भइरहेका छन्। यी दुवै पक्षको राजनीतिले नेपालमा नियन्त्रित अस्थिरता चाहनेहरूको रणनीतिलाई सफल बनाउन खोजेको अनुमान गर्न सकिन्छ। त्यसैले उपलब्ध विकल्पहरू मध्ये नेकपा एमाले नै उपयुक्त विकल्प भएको जनतालाई बुझाउनु पर्छ।

नेकपा हुँदै नेकपा एमालेमा विभाजन अनि कम्फर्टेबल गठबन्धन बनाएर परमादेशमार्फत जनादेश विस्थापनका पछाडि ठुलै शक्तिको चलखेल थियो भनेर नौ महिनाका गतिविधिहरूले पुष्टि गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाअभियोगदेखि लिएर नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनका घटनाहरूले वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरूलाई जिताउनु फुटबलमा आत्मघाती गोल सरह हुनेछ। राप्रपादेखि लिएर वैकल्पिक राजनीति गर्छौँ भन्नेहरू पनि राजनीतिक अस्थिरता चाहनेहरूको स्वार्थ पूरा गर्ने माध्यम बन्दै छन्। त्यसैले उपलब्ध विकल्पहरू मध्ये नेकपा एमालेलाई जिताउँदा नै राष्ट्रिय स्वार्थ बलियो हुने देखिन्छ। यो राजनीतिक यथार्थ जनतालाई बुझाउन ढिलो भइरहेको छ। फेरि एमालेले पनि राम्रो र हाम्रो लोकप्रिय उम्मेदवारसहित राजनीतिक प्रतिबद्धता पत्र कस्तो ल्याउला प्रतीक्षाको विषय बनेको छ। उम्मेदवार तय गर्न र प्रतिबद्धता पत्र सार्वजनिक गर्न ढिला हुँदा संशयको स्थिति बन्न पुगेको छ।

हिजो नेकपा एमाले अर्थात् केपी ओलीलाई सत्ताबाट हटाउन अनि नेकालाई सत्ता सुम्पिन र देउवालाई प्रम बनाउन अहोरात्र खटेका पात्रहरू माझण्ड र मोहनविक्रम सिंहहरू आज जनतालाई वामपन्थी राजनीतिको आदर्श सिकाउन खोज्दै छन्। जबकि उनीहरू व्यावहारिक रूपमा दक्षिणपन्थी दल नेपाली कांग्रेसको सच्चा सेवक भइसकेका छन्। फेरि त्यहीँ भित्र पनि को ठुलो र सानो भन्ने विवाद बढ्न थाल्दा गठबन्धन भत्कने परिस्थिति बन्छ कि भनेर अड्कल काट्न थालिएको छ। चमेराहरूलाई हात्तीले कानमा ओत लाउन नदिने हल्ला चलेपछि चमेराका नाइकेहरू बरबराउन थालेका मात्र छैनन् एक आपसमा दन्तबजान पनि गर्दै छन्। “अझै पनि माधव नेपाल आफूलाई एमाले नै ठानेर सिटहरूको दाबी गर्दै छन्।” भन्ने प्रचण्डको यो भनाइले गठबन्धनभित्र सिट बाँडफाँडलाई लिएर भएको असमझदारीको उजागर गरेको छ।

जनतालाई यथार्थ बुझेर सुझबुझपूर्ण निर्णय पुग्ने बनाउनका लागि एमालेका नेता तथा कार्यकर्ताहरूले असल र लोकप्रिय उम्मेदवार उठाउनुका साथै स्थानीय चुनावी घोषणापत्र व्यावहारिक र जनमुखी बनाउन सक्नुपर्छ। जनताको मन जित्न सक्ने राम्रो उम्मेदवार चयनमा केन्द्रित भएर पार्टीका संयन्त्रहरूलाई सक्रिय बनाउनु पर्छ। विपक्षीहरूले छरेका र छर्न सक्ने भ्रम र अफवाहहरूलाई चिर्दै एमालेको पक्षमा चुनावी माहौल बनाउन नेतृत्व पङ्क्तिले विशेष भूमिका निर्वाह गर्न सक्नुपर्छ।

आफूलाई वैकल्पिक मुख्य धार सम्झने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कुन राजा ल्याउन भनेर राजतन्त्रको पैरवी गर्दैछन् जबकि नेपालमा राजतन्त्रको वंश नास २०५८ जेठ १९ मा तिनैले गरेका होइनन् र१ आज राजतन्त्रको पक्षमा वकालत गर्नु असान्दर्भिक भइसक्यो। २१औँ शताब्दीमा वंश नास भएको राजतन्त्र फर्काउने परिकल्पना गर्ने नेता र दलको समर्थन ठिक होइन। हिजो पञ्चायती व्यवस्थामा जस्तै निर्दलीय चरित्रको पक्षपोषण गरिरहेका अटेरी युवा अभियान पनि विकल्प बन्ने अवस्था छैन। किनभने उनीहरू भूमिगत समूहबाट परिचालित भइरहेका छन्। रवीन्द्र मिश्र पार्टीको नाम र अध्यक्षमा सहमति नबन्दा राप्रपासँग पार्टी एकीकरण नगरेका हुन्। उनीलाई पनि विश्वास गर्ने कुरो भएन। 

फेरि गठबन्धनमा रहेका दलहरूको मुख्य नेतृत्व र कार्यकर्ता बीच सिट बाँडफाँडमा समझदारी नबन्दा जटिलता देखिएको छ।  नेका कार्यकर्ता तहबाट विद्रोहको चेतावनी आउन थालेका छन्। त्यसमाथि अप्राकृतिक गठबन्धनले जनताको पक्षमा काम गर्न सक्ने कुरै भएन भन्ने कुरा गएका नौ महिनाहरूमा हामीले देखेकै हौँ। त्यसैले भ्रममा नपरी यही वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा नेकपा एमालेका असल उम्मेदवारहरूलाई जिताएर जनताले आफ्नो सुझबुझ देखाउने सुवर्ण अवसर आएको छ। अन्यथा नेपालमा बाह्य स्वार्थको राजनीतिले प्राथमिकता पाउने सङ्केत भारतीय राजदूत क्वात्राको बिदाइ भोजमा प्रम देउवा, पूर्व प्रधानमन्त्रीहरू प्रचण्ड र माधव नेपालको उपस्थितिले प्रमाणित गरेको छ। यसर्थ नेपालको स्वार्थ बलियो बनाउन पनि नेकपा एमालेलाई जनताले जिताउनै पर्ने भएको छ।

अन्तमा नयाँ वर्ष २०७९ सालले हामीलाई हाम्रो असल र सबल पक्षको जगमा अघि बढ्ने शक्तिसहित विवेकशील र क्षमाशील बन्ने विचार देओस् र प्रेरणा मिलोस्। नागरिक निर्यात गरेर वस्तु आयात गर्ने नीति खारेज गर्न अनि भ्रष्ट नैतिकहिन पक्षलाई बहिष्कार गर्ने सामर्थ्य विकास गर्ने सामाजिक, राजनीतिक, आर्थिक, प्रशासनिक र न्यायिक वातावरण बनाउन पनि नेकपा एमालेका पक्षमा मतदान गर्ने प्रगतिशील सोच र व्यवहार हामी जनतामा विकास हुन सकोस्।

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ८ : ०१ बजे