बढी भाडा लिने ३१ जना नियन्त्रणमा

निर्वाचन नजिकिएसँगै जिल्लामा रगतको अभाव

चितवन।  स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि जिल्लामा रगतको अभाव देखिन थालेको छ । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आवश्यकताअनुसार रगत उपलब्ध हुन छाडेको छ ।

राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधिमा लागेकाले  रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको हो । अहिले मागको ५० प्रतिशत मात्रै रगत उपलब्ध हुने गरेको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिनुभयो । 

अहिले केन्द्रमा दैनिक १५० युनिट रगत माग भएकामा ७० देखि ७५ युनिट मात्रै उपलब्ध गराउन सकिएको उहाँले बताउनुभयो ।

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र तीनका भ्रातृ संस्था निर्वाचन केन्द्रित कार्यक्रममा लागेपछि रगतको अभाव भएको उहाँले बताउनुभयो । प्रमुख पौडेलले भन्नुभयो, “सबैको ध्यान निर्वाचनमा केन्द्रित हुँदा रक्तदानमा ध्यान पुग्न सकेको छैन।” टोलटोलमा राजनीतिक कार्यक्रम भइरहेका छन् तर रक्तदान कार्यक्रम हुन नसकेको उहाँको भनाइ थियो । 

अत्यधिक गर्मी, रक्तदाता बिरामी हुनु, क्याम्पसमा परीक्षाको समय हुनुलगायत कारणले पनि रक्तदान कार्यक्रम हुन नसकेको प्रमुख पौडेलले बताउनुभयो । नेपालको मध्यभागमा रहेको यस केन्द्रले चितवनसहित, नवलपरासी, परासी, धादिङ, गोरखा, मकवानपुर, बारा, पर्सा रौतहट, सर्लाही, लमजुङलगायत जिल्लाबाट रगत सङ्कलन गर्दै आएकोे छ । जिल्लामा एक सङ्घीय अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र दुई दर्जनभन्दा बढी साना अस्पतालमा दैनिक हुने शल्यक्रियाका लागि रगत सङ्कलन पर्याप्त हुन नसक्दा  माग बढ्दै गएको छ । रासस

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : ३७ बजे