जिताउनेका इतिहासको सिलसिला : स्थानीय तहका महिला जनप्रतिनिधि ‘चिनारी’

अखिल नेपाल महिला संघ (अनेमसंघ) नेपालको महिला आन्दोलनमा मात्र नभई देशको राजनीतिक अनेक क्रान्ति, आन्दोलन र अभियानहरूको महत्वपूर्ण साझेदार शक्ति हो । महान् विदूषी योगमाया न्यौपानेको जागरणलाई पछ्याउँदै माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा यसले नेपाली कम्युनिष्ट आन्दोलनको सिर्जनशील र क्रान्तिकारी धारालाई बलियो गरी समाएको छ । यसरी अखिल नेपाल महिला संघ देशको महिला आन्दोलनको मात्र नभई न्याय, समानता र समृद्धिको सशक्त क्रान्तिकारी मोर्चा हो भन्न सकिन्छ । 

महिलाहरूले महिलाहरूका लागि संगठित गरेको महिला आन्दोलनको अर्थमा मात्र बुझ्दा यस प्रतिको सही बुझाइ हुँदैन, किन भने अन्यत्र यस्तो काम महिलावादीहरूले मात्र गर्दछन् । हाम्रो देशको सन्दर्भमा अखिल नेपाल महिला संघ त्यसखाले महिलावादको पक्षपोषण गर्दैन, बरु यसले क्रान्तिकारी समाजवादी महिलावादको पक्षमा आपूmलाई उभ्याउँदै आएको देखिन्छ । यसको सबैभन्दा ठूलो प्रमाण हो, वर्गसंघर्षको माध्यमबाट प्राप्त हुने क्रान्तिकारी समाजवादको दर्शन माक्र्सवाद—लेनिनवाद र जनताको बहुदलीय जनवादको सिद्धान्त अवलम्बन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डामुनि गोलबन्द छ । 

अखिल नेपाल महिला संघले शिक्षित प्रशिक्षित गरेका व्यक्तित्वहरू अहिले नेपालको राजनीति र राजकीय क्षेत्रको उपल्लो तहमा समेत हुनुहुन्छ । वहाँहरू ‘महिला नेतृ’बाट माथि उठेर सम्माननीय, माननीय, महामहिम बनिसक्नुभएको छ । यसप्रति अखिल नेपाल महिला संघ र हामी सबैले गौरव गर्नुपर्दछ । गाउँ—घरका चुला चौकामा मात्र नभएर राष्ट्रिय क्षेत्रका नीति निर्माण तथा कायान्वयनको तहमा महिलाहरूको सहभागिताका लागि अनेमसंघको भूमिकाको स्मरण र सराहना गर्नैपर्छ । अनेमसंघको झण्डा बोकेर आन्दोलनमा लागेका क्रान्तिकारी महिला कमरेडहरूले थुप्रै पुरुषहरू र अन्यलाई राजनीतिमा सामेल गर्नुभएको छ, सहभागी बनाउनु भएको छ, नेतृत्व गर्नुभएको छ र आन्दोलनप्रति प्रतिबद्धताको शपथ ग्रहण गराउनुभएको छ । 

भनिन्छ, ‘इतिहास जित्नेहरूको लेखिन्छ ।’ तर, इतिहास हार्नेहरूको पनि हुन्छ । खासमा भन्ने हो भने ‘इतिहास हारेकालाई जिताउने, भुइँकोलाई उठाउनेहरूको लेख्नुपर्दछ ।’ आज अनेमसंघले यही गरेको छ, यसै गरिरहेको छ र विश्वास छ— यसै गरिरहने छ । भर्खरै प्रकाशन गरेको ‘स्थानीय तहका महिला जनप्रतिनिधि ‘चिनारी’ले यही कुरा पुष्टि गरेको छ ।

नेपालकै इतिहासमा संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनको पहिलो कठिन र चुनौतीपूर्ण अवधिमा महिला जनप्रतिनिधिहरुले अत्यन्तै महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको छ ।

यसको प्रकाशक अखिल नेपाल महिला संघ केन्द्रीय कार्यसमिति रहेको छ । सम्पादक सुजिता शाक्य सम्पादक रहनुभएको सम्पादन समूहमा इन्दिरा फुयाँल, मथुरा खनाल, श्रीधर आचार्य, धातृप्रसाद सुवेदी, नवराज खतिवडा रहनुभएको छ भने विशेष सहयोग कल्पना थापा, आशिष गिरी, सदीक्षा चौहान, कवीन्द्र शेखर रिमालको रहेको कुरा पुस्तक पढ्दा थाहा हुन्छ । 

अनेमसंघ नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनको स्थापित संगठन हो । यसका विषयमा यहाँ धेरै चर्चा गरिरहन आवश्यक पर्दैन । यसलाई चिनाउनु पर्दैन, अब यसले आन्दोलनका योद्धाहरूलाई चिनाउने कामको थालनी गरेको छ, यो विषय महत्वपूर्ण छ । 

प्रकाशनको सफलताका लागि पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एमाले)का महासचिव तथा लम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले शुभकामना दिनुभएको यो पुस्तक पठनीय मात्र होइन संग्रहणीय छ । 

यसमा नेपाली महिला आन्दोलनका हस्ती गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख सीता पौड्याल, अखिल नेपाल महिला संघ, सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक तथा पूर्वमन्त्री थममाया थापाको शुभकामना राखिएको छ । यहाँ राखिएका शुभकामना केवल औपचारिकताका लागि व्यक्त गरिएका शुभकामना नभई आन्दोलनबारे यथेष्ट जानकारी गराउने सामग्रीका रूपमा रहेका छन् । 

यस पुस्तकको प्रकाशकीयमा लेखिएका यी पंक्तिहरूले संक्षेपमा सबै कुराको बयान गरेको छ— ‘अखिल नेपाल महिला संघले प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका आन्दोलन साथै महिला मुक्तिकोलागि अग्रपङ्तिमा रही योगदान गर्दै आएको कुरा यहाँहरुलाई विदितै छ । अनेमसंघकै अगुवाईमा प्राप्त भएका उपलब्धिहरुले नेपाली महिलालाई राज्यको नीति निर्माणको तहसम्म पु¥याउन सफल भएको कुरामा हामी गौरवान्वित छौं । अनेमसंघको आन्दोलनको उपलब्धिस्वरूप प्रदेश र संघीय संसदमा कम्तीमा एकतिहाई र स्थानीयतहमा ४० प्रतिशतभन्दा बढी महिला निर्वाचित भई कुशलतापूर्वक कार्यसम्पादन गर्न सफल बन्नु हामी सबैको लागि गौरवको विषय हो ।’ जनआन्दोलन र जनसंघर्षका उपलब्धिहरुको रक्षा गर्दै ‘समृद्ध नेपाल सुखी, नेपाली’ को राष्ट्रिय आकांक्षा अनुरूप मुलुकको सन्तुलित विकासको दिशामा यो संगठन अग्रसर छ । आर्थिक–सामाजिक विकासर रूपान्तरणका माध्यमबाट समानुपातिक सहभागिताको लक्ष्यसम्म पुग्न समेत अनेमसंघ निरन्तर संघर्षरत छ ।’

अनेमसंघ नेपाली महिला आन्दोलनको विरासत हो, तर यो आन्दोलनको सीमा भने महिलामा मात्र सीमित छैन । यसले नेपाली जनताको समृद्धि र सुखका पक्षमा आपूmलाई क्रियाशील बनाउँदैआइरहेको छ । उसले आफ्नो गौरवशाली इतिहास स्मरण गरेको छ, वर्तमानको मार्गचित्र ठम्याएको र नेपाल र नेपालीको उज्यालो भविष्यलाई गन्तव्य बनाएको छ । प्रकाशकीयमा उल्लेख गरिएका यी पंक्तिले यिनै कुराको संकेत गरेको देखिन्छ— ‘नेपालकै इतिहासमा संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनको पहिलो कठिन र चुनौतीपूर्ण अवधिमा महिला जनप्रतिनिधिहरुले अत्यन्तै महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको छ । सुशासनको क्षेत्रमा नमुना बन्न सफल हुनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने समयमा उहाँहरुले गर्नुभएको महत्वपूर्ण कामलाई अनेमसंघले इतिहासको पानामा स्वर्ण अक्षरले अंकित गर्न चाहन्छ । यस अवसरमा महिलाहरुलाई अधिकारसम्पन्न बनाउने महाअभियानको नेतृत्व गर्नुहुने अनेमसंघका तत्कालीन अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष तथा वर्तमान सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूप्रति हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछौं ।’ यी हरफहरूले विगतप्रति सम्मान, वर्तमानमा क्रियाशीलता र भविष्यप्रतिको आशा जगाउँछन् ।

पुस्तक प्रकाशनको सन्दर्भमा अखिल नेपाल महिला संघका संयोजक थममाया थापाले दिनुभएको शुभकामनामा व्यक्त गरिएको यो भनाइले पछिल्लो उपलब्धि, दृष्टिकोण र नेतृत्वबारे स्पष्ट पार्दछ ः ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ को निर्माणपछि पहिलो स्थानीय तहको निर्वाचन ०७४ वैशाख र असोज गरी २ चरणमा सम्पन्न भएको थियो । यो निर्वाचन स्थानीय तहमा महिला सहभागिताका हिसाबले अत्यन्तै ऐतिहासिक रहन गयो । संवैधानिक व्यवस्था अनुसार संघ, प्रदेश र स्थानीय तहमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चित गरेपछि स्थानीय तहको नर्वाचन सम्बन्धी व्यवस्था अनुसार प्रमुख वा उप–प्रमुख मध्ये एक जना महिला हुनुपर्ने व्यवस्थाका कारण स्थानीय तहको निर्वाचनमा ४१ प्रतिशत महिलाले प्रतिनिधित्व प्राप्त गरेका छन् । वास्तवमा नेपालको राजकीय नेतृत्व तहमा महिलाका यो सहभागिता नेपाली महिलाका हकमा मात्रै होइन विश्व महिला आन्दोलनकै इतिहासमा उल्लेखनीय अध्यायका रुपमा रहेको छ । यो उदाहरणीय र गौरवको विषय पनि हो । 

अखिल नेपाल महिला संघको स्थापना कालदेखि नै महिलाहरूको हकहित, समानता, न्याय र प्रगतिको लागि निरन्तर संघर्ष गर्दै आइरहेको छ । ०६२/०६३ को शान्तिपूर्ण जनआन्दोलनपछि पुनस्र्थापित संसद्मा ०६३ जेठ १६ गते संसद्मा तत्कालीन अखिल नेपाल महिला संघकी अध्यक्ष एवं वर्तमान सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावमा महिला सम्बन्धी चारवटा प्रस्ताव संसद्बाट एकमतले पारित भयो । त्यही प्रस्तावको आधारमा ०६३ साल माघ १ गते जारी भएको अन्तरिम संविधानमा समावेश गरी ०६४ र ०७० भएका दुईवटै संविधानसभामा समेत व्यापक छलफल गरी ०७२ असोज ३ गते जारी भएको ‘नेपालको संविधान २०७२’ को मौलिक हकमा सम्पूर्ण क्षेत्रमा हिलाहरुको समानुपातिक सहभागिता गराउने कुराको सम्बोधन गरेको छ । 

त्यस्तै, राजनीतिक क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यो महिना ान्दोलनको ठुलो उपलब्धि हो । यसै सन्दर्भमा आउने दिनमा महिला सहभागिता ३३ प्रतिशत मात्र होइन ५० प्रतिशत पुर्याउने र स्थानीय तहका प्रमुख पदमा कम्तीमा ३३ प्रतिशत पु¥याउने कुरामा जोड दिइरहेका छौँ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाहरु जम्मा १८ जना र वडा अध्यक्षमा जम्मा ६२ जना मात्र महिला निर्वाचित भएका छन् । 

स्थानीय तहको कार्यकारी पदहरूमा महिलाहरुको सहभागिता जति धेरै बढाउन सक्यो जनतासँगको सम्बन्ध त्यत्तिकै घनिभूत हुनुको साथै जनताको सुखदुःखमा एकाकार हुन सक्छन् । समाजमा आधाभन्दा धेरै जनसंख्या महिलाको रहेको र समाजमा व्याप्त रुढीवादी अन्धविश्वास कुरीति तथा सामन्ती पितृसत्तात्मक सोच, चिन्तन र व्यवहारले गहिरो जरो गाडेका सामाजिक स संरचनालाई परिवर्तन गर्न त्यति सजिलो छैन । लगातारको संघर्ष, अभ्यास र सहभागितामूलक न्यायिक सहभागिता र सहकार्यले मात्र पारिस्थितिक संरचनामा परिवर्तन ल्याउन सकिन्छ । 

त्यसकारण पनि निर्णायक तहमा जति धेरै महिलाहरूको सहभागिता र भूमिकाको ग्यारेन्टी हुनसक्छ, त्यति नै धेरै परिवर्तनका सम्भावनाहरुको ढोका खुल्छ । सामाविक विभेद र विकृतिको अन्त्यका लागि आधार निर्माण हुन सक्छ । त्यसैले स्थानीय तहका प्रमुख पदहरुमा पालिका प्रमुख र वडाध्यक्षहरुमा समेत महिलाहरुको अर्थपूर्ण सहभागिता हुन आवश्यक छ । स्थानीय तहका निर्वाचित महिला प्रतिनिधिहरुले यो पाँच वर्षको अवधिमा अत्यन्तै इमानदारिता पूर्वक, दृढताका साथ र निष्ठापूर्ण ढंगले अत्यन्तै सराहनीय कामहरु गरेका छन् । नेपाल सरकारले विभिन्न विधामा उत्कृष्ट नमुना पालिका भनेर महिला प्रमुख भएका पालिकाहरूलाई घोषणा गरेको छ । 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणपछिको पहिलो पाँच वर्षको यस अवधिलाई स्थानीय शासनको नेपालको इतिहासमा अत्यन्तै उच्च मूल्याङ्कन गर्ने आधार तयार भएको छ । जसरी २००७ सालबाट प्रजातान्त्रिक चरण सुरु भएमध्ये २०१५ सालपछिका दुई वर्ष, २०४७ को परिवर्तनपछिको २०५४ सालको स्थानीय निर्वाचनको पूरा अवधि र ‘नेपालको संविधान, २०७२’ लागु भएपछिको पहिलो यस चरण (२०७४–०७८) मा निर्वाचित स्थानीय जनप्रतिनिधिहरूले गरेका कामहरूको मूल्याङ्कन सच्चाइका कसीमा खरो उत्रने खालका छन् । सुशासन, विकास, न्याय, समावेशिता, जनसेवा र सहभागिताका दृष्टिले उच्चस्तरका छन् । नेपालको इतिहासमै स्थानीय तह निर्माणका स्वर्णपाना बन्न सफल यी र यस्ता चरणहरु मध्येको लोकतान्त्रिक गणतान्त्रिक नेपालको पहिलो कालखण्डको यो नेतृत्व २०५४ सालकै जस्तो बहुमत स्थानीय तह नेकपा एमालेकै नीति र नेतृत्वद्वारा उज्याला बनेका हुन् भन्ने कुरामा कुनै दुविधा छैन ।’ 

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आप्mनो शुभकामना सन्देशमा व्यक्त गर्नुभएको यी विषयमा प्रशंसा, प्रेरणा, विश्वास, अपेक्षा र मार्गदर्शन रहेको छ । 

अध्यक्षको सन्देशमा भनिएको छ, ‘नेपाली महिला आन्दोलनमा नेतृत्वदायी संस्थाका रूपमा अखिल नेपाल महिला संघको निर्विकल्प चिनारी छ । यही संगठनको अगुवाइमा सामाजिक न्याय र समानताको आन्दोलनले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । मुलुकको नेतृत्व तहमा महिलालाई पु¥याउने तथा राजनीतिक र प्रशासनिक क्षेत्रमा महिलाको प्रभावकारी उपस्थिति गराउने सफलता प्राप्त गरेको यस संगठनले आफ्ना सिर्जनात्मक प्रयासद्वारा देशभरका महिलाबीच आफ्ना गतिविधि पु¥याउनु आवश्यक छ । यस्तो गौरवपूर्ण चिनारी रहेको अनेमसंघ नेकपा (एमाले) बाट निर्वाचित महिला जनप्रतिनिधिहरूको चिनारी प्रकाशन गर्ने रचनात्मक कार्य गरेकामा धन्यवाद दिन चाहन्छु ।’

अध्यक्षको व्यक्त गर्नुभएको शुभकामनामा पार्टीको लक्ष प्राप्तिमा अनेमसंघको अभिभारा पूरा गर्ने सन्दर्भमा यसप्रति यसरी विश्वास व्यक्त गरिएको छ ः ‘नेकपा (एमाले)को भगिनी संगठनको रूपमा अनेमसंघले हाम्रो राष्ट्रको सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको आन्दोलनलाई सफल बनाउँदै एकताबद्ध भएर राष्ट्रका अभिभाराहरू पूरा गर्नुपर्ने छ । त्यसका लागि संगठनलाई सबल, अनुशासित र एकताबद्ध बनाएर चुनौतीहरूको सामना गर्दै अगाडि बढाउन सफलता मिलोस् भन्ने कामना गर्दछु ।’

पार्टीका दृष्टिकोण, योजना र अभियानमा रहेको अनेमसंघको भूमिकालाई अध्यक्षले यसरी सम्वोधन गर्नुभएको छ, ‘हाम्रो पार्टी नेकपा (एमाले) मुलुकमा सबैभन्दा बढी जनताले आशा, भरोसा र विश्वास गरेको पार्टी हो । हामीले राज्य सञ्चालनको नेतृत्व गरेका बेला जनताको जीवनमा परिवर्तन ल्याउन नेपाललाई सुशासनयुक्त, अग्रगामी, आधुनिक समृद्ध र सुविधासम्पन्न देश बनाउने काम अघि बढाई स्थानीय तहमा जनप्रतिनिधिको रूपमा तपाईँहरूले निर्वाह गरेको भूमिकाले यसमा महत्वपूर्ण स्थान ओगटेको छ । नेकपा (एमाले)को सरकारने थालनी गरेका दूरगामी महत्वका काम जनताको साझा राष्ट्रिय उपलब्धिका रूपमा रहेका छन् ।’ अध्यक्षको शुभकामनामा व्यक्त यी सन्देशहरू प्रस्तुत पुस्तकसँग जोडिएको छ । तर, अनेमसंघ पुस्तक प्रकाशनमा मात्र सीमित छैन, महिला आन्दोलनमा मात्र सीमित छैन भन्ने स्पष्टताका प्रमाण पनि हुन् ।

यो सँगालो अनेमसंघका कामको अभिलेखीकरण हो भन्ने विषय नेकपा (एमाले)का महासचिव तथा लम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले दिनु भएको सन्देशमा स्पष्ट छ । महासचिवको सन्देशमा भनिएको छ, ‘अखिल नेपाल महिला संघले जनअधिकार र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका साथै महिला मुक्तिको लागि अग्रपङ्क्तिमा रही योगदान गर्दै आएको छ । महिलाहरूलाई राज्यको नीति निर्माण तहसम्म पुर्याउन सफल भएको छ । आन्दोलनको उपलब्धिस्वरूप प्रदेश र संघीय संसदमा कम्तिमा एक तिहाई र स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिलाहरू निर्वाचित भई कुशलतापूर्वक कार्यसम्पादन भएका छन् ।’

महासचिवको सन्देशले अनेमसंघको उत्कृष्ट भूमिका र क्षमताको उच्च मूल्याङ्कन यसरी गरिएको छ ः ‘जनआन्दोलन र जनसंघर्षका उपलब्धिहरूको रक्षा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षाअनुरूप मुलुकको सन्तुलित विकासको दिशामा यो संगठन अग्रसर रहेक सामाजिक विकास र रूपान्तरणका माध्यमबाट समानुपातिक सहभागिताको अनेमसंघ निरन्तर संघर्षरत छ । नेपालकै इतिहासमा संघीय लोकतानि कार्यान्वयनको पहिलो कठिन र चुनौतीपूर्ण अवधिमा अनेमसंघले महत्व सफलतापूर्वक निर्वाह गरेको छ । संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने सुशासनको क्षेत्रमा होस्, अनेमसंघले आफूलाई अब्बल साबित गरेको छ ।’

प्रकाशित पुस्तकका लागि दिइएको सन्देशमा लेखिएका यी सन्देशहरू अनेमसंघको न्याय, निष्ठा र निरन्तरताका लागि हुन् । त्यसैले यो चिनारी केही जनप्रतिनिधिको चिनारीको सँगालो मात्र होइन, समाजमा विभेदका कारण हारिरहेका वर्गलाई जिताउने सिलसिलाको निरन्तरताको कडी हो । 

हामीले राजनीतिक, सामाजिक, आर्थिक समानताका लागि गरिएका आन्दोलनमाथि केही प्रश्नहरू पनि उठ्ने गरेका छन् र ती प्रश्नहरू संस्कृतिसँग सम्बन्धित छन् । एकातिर हाम्रो संस्कृति महिलामैत्री नदेखिएको अवस्था सत्य हो भने त्यसका मूलभूत आधारहरूतर्फ आन्दोलनको ध्यान नपुगेको पनि हो । राजनीतिक, सामाजिक र आर्थिक समानता र न्यायका विषय संविधान, ऐन कानुनका विषय त हुन्, तर ती मात्र पर्याप्त होइनन् । समानतामा आधारित समृद्ध समाज बन्न संस्कृतिको ठूलो भूमिका हुने गर्दछ । हाम्रो संस्कृतिमा विभेद मात्र छैन, समानता पनि छ । समानता मात्र होइन, महिला उच्चताको विषय पनि छ । इस्लाम, बौद्ध आदि धर्मग्रन्थहरूमा रहेका प्रावधान निरपेक्ष महिलाद्वेषी छैनन् । यिनीहरूलाई सापेक्ष रूपमा बुझ्न र बुझाउन लागिएन कि ? 

पूर्वीय दर्शन र सनातन सांस्कृतिक परम्परामा महिलाहरूलाई विशेष सम्मान दिइएको छ । आजापूजा, शुभकर्ममा मात्र होइन; शिक्षा (ज्ञान, विद्या, सीप कला कौशल)का लागि सरस्वती, समृद्धि (धन सम्पत्ति, सौन्दर्य, पालन पोषण, प्रगति र विकास) लागि लक्ष्मी एवं रक्षा (शासन, सहभागिता, कूटनीति, रक्षा, संरक्षण र प्रतिरक्षा)का लागि दुर्गाको नेतृत्व प्राप्त गरिएको छ । हामीले संस्कृतिका आधार बिर्सँदै जाँदा र शक्ति संघर्षमा ‘शक्ति’ गुमाउँदा महिलाहरू समाजमा दोस्रो दर्जामा सीमित हुनुपरेको हो । मानव जातिको इतिहास वर्गसंघर्षको इतिहास हो भन्ने बुझाइमा यी विषयलाई पनि मनन् गर्नुपर्ने हुन्छ । यदि हामीले यी विरासतलाई समेत बुझ्न, पछ्याउन र दाबी गर्न छोड्यौँ भनेसामन्तवादी दासको साङ्लो छिनाएर हाम्रा भविष्यका छोरी सन्तान पुँजीवादी विकृत बजारको ‘माल’ बन्नुपर्ने खतरा रहन्छ ।

महिला आन्दोलनको विकासका लागि अझ धेरै गहिरिन आवश्यक छ । अहिले हाम्रो आन्दोलन र विकासमा नयाँ र चहकिलोलाई मात्र असल ठान्ने, पुरानो र मैलोलाई सम्पूर्ण रूपमा तिरष्कार गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यसले हाम्रो मौलिकता माथिको दाबी कमजोर बनाउन सक्दछ र यसो हुँदा भविष्यमा अकल्पनीय अन्योलमा पर्न सकिने र राष्ट्रिय स्वाभिमान तथा पहिचान हराउने  खतरा हुन्छ । महिला होस् वा अन्य कुनै; न्याय, समानता, र सहअस्तित्वका आन्दोलनका सन्दर्भमा सबैको साझा चासो आकर्षित र विकास गर्न आवश्यक हुन्छ । नत्र आन्दोलनहरू एकपाखे—एकाङ्गी हुनसक्दछन्, आन्दोलनहरू उपलब्धिका लागि नभएर क्रियाशीलतामा मात्र सीमित हुन सक्दछन् । 

यो प्रकाशन अध्ययन अनुसन्धानका क्षेत्रमा लाग्नुभएका अध्येताहरूका लागि पनि स्रोत सामग्री बन्नसक्दछ । भविष्यमा प्रादेशिक र संघीय तहको जिम्मेवारी निर्वाह गर्नुभएका व्यक्तित्वहरूको चिनारी पनि आउन सकोस् । राजनीतिभन्दा बाहिर रहेर गरिएका योगदानहरू पनि पढ्न पाइयोस् । यस्ता प्रकाशनहरूले विगतबाट शिक्षा लिँदै अघि बढ्न प्रेरित गर्ने हुँदा यसले पनि त्यो जिम्मेवारी पूरा गरेको छ । 

‘स्थानीय तहका महिला जनप्रतिनिधि ‘चिनारी’ एउटा पुस्तक हो, तर पुस्तक मात्र होइन । यो आन्दोलनको फरक दस्तावेज हो भन्ने कुरा शुभकामना सन्देशहरूमा व्यक्त भएका भनाइहरूले यो पुष्टि गरेको छ । यो पठनीय, ग्रहणीय र संग्रहणीय छ । यसको मूल्य पनि व्यक्तिगत र संस्थागत गरी भिन्न भिन्न राखिएको छ । हेर्दै आकर्षक र पढौँ पढौँ लाग्ने यो सँगालो महिला आन्दोलन र यसका माध्यमबाट समृद्धि र सुखका निम्ति भइरहेको सिङ्गो आन्दोलनका लागि थप प्रेरणा बन्ने विश्वास गर्न सकिन्छ । अखिल नेपाल महिला संघको यो प्रयास प्रशंसनीय छ । यसबाट अरूले पनि शिक्षा लिन पर्छ कि ?  

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ९ : २० बजे