राष्ट्रपति भवनमा घटस्थापना

माओवादी र समाजवादीले ठुलो भाग खोज्दा डोल्पामा भाँडियो तालमेल, निर्वाचनमा एक्ला एक्लै लड्ने 

सुर्खेत । आगामी वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनमा डोल्पामा गठबन्धन गर्ने विषयमा सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा एक्ला एक्लै लड्ने भएका छन् ।  

चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरू आ–आफ्नो अडानमा रहँदा सहमति हुन नसकेकाले  गठबन्धन दलहरू एक्ला एक्लै चुनाव लड्ने भएका हुन । 

नेपाली काँग्रेस डोल्पाका सभापति दीपेन्द्र शाहीले केन्द्रीय गठबन्धनको निर्णय र सर्कुलर अनुसार जिल्लामा पनि सत्तासीन दलहरू गठबन्धन गरेर चुनाव लड्ने भने पनि सबैले ठुलो भाग खोजेपछि सहमति नभएको बताउनुभयो। 

नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्रले) ठुलो भाग खोजेपछि सहमति नभएको काँग्रेसको आरोप छ । 

डोल्पाका ठूलीभेरी , त्रिपुरासुन्दरी, उपल्लो डोल्पामा काइके, छार्काताङसोङ, डोल्पोबुद्ध, शे–फोक्सुण्डो नेकपा एमालेले जितेको थियो । त्यस्तै तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिका माओवादी केन्द्रले जितेको थियो ।केही समयअघि डोल्पोबुद्ध गाउँपालिकाका बहुमत वडाध्यक्षसहित गाउँपालिकाका अध्यक्षले माओवादी केन्द्रमा प्रवेश गरेपछि माओवादीले स्थानीय तह जित्नेको सङ्ख्या बढेको थियो । 

काँग्रेसले कुनै पनि स्थानीय तह जितेको थिएन । अहिले एमालेबाट फुटेर निर्माण भएको समाजवादीले एमालेकै हिस्सा माग्दा सहमति नभएको  सभापति शाहीले बताउनुभयो ।  नेपाली काँग्रेसले कत्तै पनि भाग नपाउने भएपछि सहमति हुन नसकेको काँग्रेसको भनाइ छ । 

आफूहरूले एक्ला एक्लै लड्ने सहमति गरेर प्रदेशमा पत्र पठाएको सभापति शाहीले जानकारी दिनुभयो ।  

नेकपा समाजवादीका अध्यक्ष नन्दसिंह बुढाले डोल्पामा समाजवादी बलियो भएकाले माओवादी केन्द्र र नेपाली काँग्रेसले ठूलीभेरीमा प्रमुख दिनुपर्ने र अन्य स्थानीय तहमा समेत केन्द्रीय निर्णय अनुसार पद बाँडफाँट हुनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच डोल्पामा हुने भनिएको गठबन्धन टुट्ने भएपछि एमालेलाई सहज हुने एमालेका एक नेताले बताउनुभयो। 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज रामलाल विकले जनमत समेत भएको र २०७४ मा एमालेले जितेका सबै क्षेत्रमा समाजवादीले माग गरेको र जता एमाले बलियो छ त्यहाँ माओवादी केन्द्रलाई दिने र जहाँ एमाले कमजोर छ त्यहाँ आफू लड्ने समाजवादीको अडानले गर्दा बैठकबाट बाहिरिएको जानकारी दिनुभयो । 

उहाँले सबै क्षेत्रमा छोडेर बस्न नसक्ने भन्दै गठबन्धनबाट बाहिरिएको र अब स्थानीय तहको निर्वाचनको मिति समेत नजिकिएकोले एक्ला एक्लै लड्नुपर्ने अवस्था आएको बताउनुभयो । तर यसले गठबन्धन नै टुटी नसकेको र छलफल जारी रहेको उहाँले बताउनुभयो । 

स्थानीय तहको निर्वाचनमा कुनै पनि तहमा कुनै पनि पदमा सहमति नभएकोले डोल्पामा गठबन्धन नहुने भन्ने निर्णय केन्द्रीय कार्यालयमा पठाइएको हो । गठबन्धन नहुने भएपछि एमालेले भने उम्मेदवारमा समेत फेरबदल गर्ने सङ्केत देखिएको छ ।  

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ८ : ३३ बजे