पाँचै दल मिल्दा पनि एमाले बलियो

पोखरा ।  सत्तारूढ दलहरूले प्रक्षेपण गरेको तथ्यांकअनुसार नै पोखरा महानगरपालिका एक्ला–एक्लै तुलना गर्दा एमाले बलियो देखिएको छ । निर्वाचन आयोगका अनुसार यसपटक महानगरमा २ लाख ७ हजार ७ सय १२ जना मतदाता छन् । कास्की कांग्रेसले गरेको प्रक्षेपणअनुसार यसमा झण्डै २५ देखि ३० प्रतिशत मत नखस्ने मतदाताको छ । जुन नेपालका पछिल्ला निर्वाचनहरूको औसत दर हो ।

बाँकी मतमा ७० देखि ७२ हजार मतदाता एमालेले होल्ड गर्नसक्ने रिपोर्ट कांग्रेसको छ, जुन देउवालाई सुनाउन ल्याइएको थियो । कांग्रेससँग ६० हजारको हाराहारीमा मत छ भने ८ हजार माओवादी केन्द्र र ५ हजार नेकपा एससँग रहेको कांग्रेसको दाबी छ ।

अघिल्लो निर्वाचनमा तीनहजार बढी मत पाएको संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार गुरुङ नै एमाले प्रवेश गरेपछि सो मत उतै गएको कांग्रेसको दाबी छ ।

हुमबहादुरमात्र होइनन्, कास्कीका प्रभावशाली नेता तथा प्रदेश अध्यक्ष गणेशमान गुरुङसहित यहाँको ३ हजार मत होल्ड गर्ने समूहलाई केपी ओलीले एमालेमा स्वागत गरिसके । नेकपा एसले एमालेबाट काट्ने मत एमालेले जसपाबाट कभर गर्ने दाबी छ ।

यता नेकपा एसले भने झण्डै १८ हजार मत नेकपा एमालेको तान्ने प्रक्षेपण गरेको छ । त्यसका लागि सो पार्टीले ८३ पेजको प्रतिवेदन नै तयार पारेको स्रोतले बतायो । तर कास्की कांग्रेसले भने नेकपा एसको त्यो अनुमान आधारहीन रहेको दाबी गरिरहेको छ ।

कांग्रेसका मेयर दाबेदार बाबुराम आचार्य तीनपटक गन्दा पनि नेकपा एसको मत १८ हजार नपुग्ने दाबी गर्छन् । नेकपा एसका मेयरका दाबेदार धनराज आचार्यकै वडामा सो पार्टीले २ सय मत कटाउने अवस्था नरहेको र अन्य वडामा त्यति मत पनि नरहेको कांग्रेस र माओवादी दुवै पक्षको आँकलन छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरामा नेकपा माओवादी केन्द्रले मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई समर्थन गरेको थियो । माओवादी केन्द्रको समर्थन पाउँदा पनि कांग्रेस उम्मेदवार कुँवर नेकपा एमालेका उम्मेदवार मानबहादुर जीसीसँग झण्डै १४ हजारको मतान्तरले पराजित हुनपुगे ।

त्यतिबेला एमालेबाट उम्मेदवार जीसीले ६० हजार एकसय १८ मत पाउँदा कांग्रेसका कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरेका थिए । तेस्रो भएका संघीय समाजवादी फोरमका उम्मेदवार हुमबहादुर गुरुङले ३ हजार एक सय ७० मत ल्याउँदा राप्रपाका उम्मेदवार गिता गुरुङले २ हजार २ सय ७२ मत ल्याएकी थिइन् । अहिले हुमबहादुरसहित जसपाको सिंगो टिम नै एमालेमा प्रवेश गरिसकेको छ ।

OTV nepal bata 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ४ : २७ बजे