‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

महिलावाद र महिलावादी संस्कृति

‘प्रभुत्वशाली पुरुष र नियन्त्रित महिला’ मानसिकताबाट मुक्ति

​​​​​​​महिलावाद लैङ्गिक विभेदरहित सामाजिक न्यायमा आधारित समाज निर्माणको सिद्धान्त र पितृसत्तात्मक विभेद अन्त्यको विचार हो । पितृसत्ताका ठाउँमा मातृसत्ता स्थापना गर्ने होइन, समानतामा आधारित समाजको स्थापना महिलावादको लक्ष्य हो ।

लैङ्गिक विभेदको पहिचान र अन्त्य गर्दै नीति, कानुन र व्यवहार परिवर्तन गर्नु महिलावादको उद्देश्य हो । महिलावादले समाजका हरेक नागरिकप्रति समान मानव मर्यादा र सम्मान हुनुपर्ने दृष्टिकोण राख्छ । महिलावाद पितृसत्ताले निर्माण गरेका विभेदपूर्ण संस्कार–संस्कृति, मूल्यमान्यता र व्यवहार अन्त्य गरी समानताको संस्कार समानतामा आधारित समाज स्थापना महिलावादको लक्ष्य हो भने घरपरिवार, समाज–समुदाय, दल–सङ्घसंस्था र राज्यका हरेक निकायमा सन्तुलित लैङ्गिक सहभागितासहित हक, अधिकार, अवसर र दायित्वमा समानता स्थापित गर्नु महिलावादको उद्देश्य हो । यी लक्ष्य र उद्देश्य प्राप्तिका लागि हरेक क्षेत्रमा एकल लैङ्गिक समूहमा रहेको शक्तिको न्यायिक पुनर्वितरणबाट मात्र सम्भव छ ।

महिलावाद – लोकतन्त्र र समृद्ध समाजको आधार स्थापनाको अभियान हो । यसले व्यक्तिको दक्षता, क्षमता र योग्यता यौनिकतामा नभएर ज्ञान, सिप र विवेकमा खोज्छ । सहज बुझाइका लागि महिलावादी सोचले बच्चा जन्मँदा उसको यौनाङ्गमा होइन, स्वास्थ्यमा ख्याल गर्छ । यसैले महिलावाद यौनिकता र लैङ्गिकताको आधारमा हुने वा गरिने कुनै पनि किसिमका विभेद, नियन्त्रण, असमानता, हिंसा, दुरुत्साहन र दुर्व्यवहारबाट समाजमा पुगेको हानि नोक्सानीको विश्लेषण गर्दै हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई विभेदमुक्त र मानवतायुक्त बनाउने वैचारिक सिद्धान्त र व्यावहारिक अभियान हो । महिलावादले महिला र पुरुषलाई ‘उस्तै वा जस्तै’ ठान्दैन । यसले महिला र पुरुषको शारीरिक भिन्नताका आधारमा हुने फरक जैविक, प्राकृतिक आवश्यकता र दायित्व अनुभूत गर्छ । महिलामा निहित पाठेघर र प्रजनन क्षमता कमजोरी होइन, थप शक्ति मान्छ ।  महिलाको त्यही जैविक शक्ति र दायित्वका आधारमा महिला र पुरुषको फरक आवश्यकतालाई स्वीकार गर्दै त्यसलाई सम्बोधन गर्न फरक नीति र कार्यक्रमको व्यवस्थाले मात्र नतिजामा लैङ्गिक समानता स्थापित हुन सक्छ भन्ने मान्यता राख्छ ।

महिलावादले यौनिकता र लैङ्गिकतालाई कसरी हेर्छ ?
सामान्यतः समाजमा महिला र पुरुषको यौनिक पहिचानलाई मान्यता दिइँदै आइएको छ तर समाजमा फरक यौनिक तथा लैङ्गिक पहिचान भएका व्यक्तिहरू पनि छन् । रुढीवादी समाजमा त्यस्ता व्यक्तिलाई गालीको भाषा प्रयोग र हेला होची व्यवहार गर्ने गरिन्छ । नेपाली समाजमा पनि पहिला पहिला त्यसै गरिन्थ्यो । तर, महिलावादले त्यस्तो समुदायलाई विकृति होइन, प्राकृतिक ठान्छ । मानवमाथि उचित र मर्यादित व्यवहार गर्नुपर्ने मान्यता राख्छ । नेपालको संविधान २०७२ ले पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई फरक पहिचानसहितको समुदायका रूपमा स्वीकार गरेको छ । उनीहरूप्रति अरूसरह नै मानव मर्यादा र सम्मानको व्यवहार गर्नुपर्ने संवैधानिक व्यवस्था गरिएको छ ।

महिलावादी संस्कृति कस्तो हुन्छ ?
महिलावादी संस्कृति महिला र पुरुषबीच समानतामा आधारित हुन्छ । महिलावादले ‘प्रभुत्वशाली पुरुष र नियन्त्रित महिला’ भन्ने रुढीवादी मानसिकताबाट समाजलाई मुक्त गर्न चाहन्छ ।  यसले परम्परागत लैङ्गिक भूमिकाका आधारमा छोरा वा पुरुषले ‘यो गर्नुपर्छ’ वा ‘त्यो हुँदैन’ अथवा छोरी वा महिलाले यो ‘गर्नुपर्छ’ वा ‘त्यो हुँदैन’ भन्ने परम्परागत मान्यता र भूमिकालाई नकार्छ । 

निजी परिवारदेखि सार्वजनिक समुदाय, सङ्घ सङ्गठन र राज्यका निकायसम्म आवश्यकता र क्षमताका आधारमा ‘सबैले सबै काम गर्न सक्छन्’ वा ‘गर्नुपर्छ’ भन्ने सोच राख्छ र हरेक नागरिकले एक अर्काप्रति राखिने सोच र गरिने सम्बोधन एवं व्यवहार समान मानव मर्यादामा आधारित हुन्छ । राज्यको दृष्टिमा सबै नागरिकको समान हैसियत हुन्छ । थप दक्षता र विज्ञता उपलब्ध अवसर र वातावरण अनि व्यक्तिको चाहना र लगनशीलतामा निर्भर हुनेमा विश्वास राख्छ ।

सांस्कृतिक परिवर्तन कहाँ र कसरी ?
मानव मर्यादाको अभिव्यक्ति समाजका प्रत्येक सदस्यको संस्कारमा देखिन्छ । यसको व्यावहारिक सिकाइको सुरुआत परिवारबाट हुन्छ भने औपचारिक सिकाइ शिक्षालयहरूबाट हुने गर्छ । समुदाय र समाजले परिवार र शिक्षालयबिच पुलको काम गर्छन् । जब त्यही व्यक्ति ठुलो भएपछि राज्यका विभिन्न निकाय र क्षेत्रमा क्रियाशील हुन्छ तब उसले सिकेको संस्कार अभिव्यक्त हुन्छन् र सङ्क्षेपमा भन्दा महिलावादको मूल मर्म मानवीय संवेदना, सामाजिक न्याय र समानतामा आधारित समाज निर्माण गर्नु हो । यसले मानिसको क्षमता, योग्यता, दक्षता यौनाङ्गमा होइन, अनुभूत गर्ने मुटु, बुद्धि र विवेकको केन्द्र मस्तिष्क र गरी खाने सिपयुक्त हातखुट्टामा देख्ने गर्छ ।

महिलावादबारे दक्षिण एसियाकै प्रसिद्ध महिलावादी नेता कमला भासिनले भन्नुभएको छ— “पितृसत्ताको अन्त्यको लक्ष्य मातृसत्ता होइन, समानता हो । महिलावाद शक्तिमा आधारित सम्बन्ध होइन, सम्बन्धमा आधारित शक्ति हो । समाजका योग्य र सक्षम पुरुषहरू समानताबाट कहिल्यै डराउँदैनन् । पितृसत्तात्मक हिंसाको कुरा गर्दा पुरुषहरू जैविक रूपमा हिंसात्मक हुने होइनन्, पितृसत्ताले उनीहरूलाई हिंसात्मक बनाउने हो ।” त्यसैले महिलावादले यौनिकताका आधारमा विद्यमान सबै किसिमका अपराध, हिंसा र अहङ्कार परिवर्तन गरी समाजमा मानवीय संस्कार प्रवर्द्धनमा योगदान गर्दै आएको छ र त्यही प्रयत्नमा निरन्तर क्रियाशील रहनेछ ।

महिलावाद के चाहन्छ ?
महिलावाद पितृसत्ताको अन्त्य गर्दै समानतामा आधारित समृद्ध समाज निर्माण गर्न चाहन्छ । यसका लागि पारिवारिक वातावरण, घरायसी काममा सहकार्यको संस्कृति र सामाजिक मान्यतामा परिवर्तन आवश्यक छ । सार्वजनिक क्षेत्रको निर्णय प्रक्रियादेखि हरेक तह र क्षेत्रमा नतिजामा समान अवसर र दायित्व सुनिश्चित हुनुपर्छ । यसका लागि राज्यका नीति र कानुन सम न्यायमा आधारित हुनुपर्छ । राज्यका सबै निकायको पुनर्संरचना र शक्तिको पुनर्वितरण आवश्यक छ । यसको व्यावहारिक कार्यान्वयनका लागि परिवारमा आमाबाबु वा अभिभावकप्रति सन्तानको दायित्व, मर्यादा र सम्मान अनि सबै सन्तानप्रति अभिभावकले सिर्जना गर्ने अवसर, हक र अधिकार समान हुनुपर्छ ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १० : ४६ बजे