काँग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्ने भएको छ । 

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

काँग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो । समितिमा काँग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित आठ सह महामन्त्री र ३९ केन्द्रीय सदस्यहरू रहनुभएको छ ।

काँग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धनभित्रका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ९ : ४७ बजे