राष्ट्रपति भवनमा घटस्थापना

एमालेले पोखरामा मेयर र उपमेयरको उम्मेदवार आन्तरिक मतदानबाट टुङ्गो लगाउने

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाउने भएको छ । 

एमाले पोखरा महानगर कमिटीले लामो छलफलमा समेत सहमति नभएपछि मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाउन आज मतदानको तयारी गरिएको छ। 

उम्मेदवार मनोनयन समेत आज  नै हुनेछ । यसअघि आकाङ्क्षाका रूपमा नाम टिपाएकाहरू बाहेकले समेत मनोनयन गर्न पाउने छन् । 

सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ । जसका लागि एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको छ । 

निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने आज बिहान मनोनयनको कार्यक्रम छ । यसअघि मङ्गलवार आकाङ्क्षीको नाम टिपिए पनि पुनः नयाँ प्रक्रियाबाट मनोनयन गर्न लागिएको हो । मेयरमा १२ जनाले आकाङ्क्षा देखाएका थिए भने उपमेयरमा ११ जनाको नाम टिपिएको थियो । 

मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुङ्गाना, पुष्पराज अधिकारी, महानगरका पूर्व अध्यक्ष दीपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मि आचार्य र प्रा.डा. विश्वकल्याण पराजुलीले आकाङ्क्षा देखाउनुभएको थियो ।

उपमेयरका लागि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुङ्गाना, टिकाराम पङ्गेनी, व्यवसायी सञ्जीव बहादुर कोइराला, देवका पहारी (त्रिपाठी), बलराम गायक (गन्दर्भ)र हरिमाया गुरुङले नाम दर्ता गराउनुभएको थियो ।

आकाङ्क्षीहरूले पुनः मनोनयन गर्नुपर्ने भएपछि पहिले नाम टिपाएका भन्दा बाहिरकाले समेत मनोनयन दर्ता गर्न पाउने भएका छन् । 

२०७४ सालको निर्वाचनमा पनि आन्तरिक प्रतिस्पर्धाबाटै मेयर र उपमेयरको नाम टुङ्ग्याइएको थियो । मानबहादुर जिसीले सबैभन्दा बढी मत ल्याउनुभई मेयरको टिकट पाउनुभएको थियो भने उपमेयरमा प्रभा कोइरालाले धेरै भोट ल्याए पनि भेग र जातीय हिसाब मिलाउनुपर्ने भएकोले दोस्रो नम्बरमा सिफारिस हुनुभएकी गुरुङले टिकट पाउनुभएको थियो । 

अहिले पनि मतदाताबाट मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम सिफारिस हुनेछ । दुवै पदमा एक महिला र दुई पुरुषको नाम सिफारिस गरिने महानगर कमिटीले जनाएको छ । 

मेयर र उपमेयरको आन्तरिक चुनावमा १ सय १० जनाले मतदान गर्ने छन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ३६ बजे