‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पुरानै बोझ बोकेर नयाँ वर्ष मनाइरहनु पर्दाको पीडा

विश्वव्यापी भस्मासुर महाव्याधि कोरोना भाइरसको बिस्तार केही मन्द भएको र विश्वमा युद्धका थप काला बादलहहरु मडारिइरहेको अबस्थाकाबीच हामी नयाँ वर्ष २०७९ को कुरा गरिरहेका छौँ । हामी मानिस प्रकृतिको उत्कृष्ट सन्तान भएर पनि मातृरुपी प्रकृतिको मनपरी दोहन र शोषण जसरी गर्दै आयौ र गरिरहेका छौँ, त्यस प्रकारका क्रियाकलाप अति भएर खपी नसक्नु भए पछि प्रकृतिले समय समयमा रौद्ररुप लिएर मानिसहरूलाई अत्यन्तै पीडादायी शिक्षा दिने गर्दछ । 

अनि सामाजिक विषमता र विभेदले पनि बेला बेलामा अपूर्व विद्रोह जन्माउँदछ नै । यो पनि इतिहास सिद्ध कुरा हो नै हो । त्यसैले केवल संयम फेरिएर मात्र त्यसको सार्थकता केही हुँदैन । मानिस र समाजका गलत परम्परा, पद्धति र प्रवृत्तिहरू फेरिएर असल परम्परा स्थापित र विकसित हुनुपर्दछ । अनि नयाँ वर्षोत्सव प्रसन्नमय, सुखमय र यथार्थमा उत्सवमय हुन्छ ।

हरेक वर्ष पात्रो फेरिएको दिनकोरुपमा औपचारिकताको आदान–प्रदान गर्नु एउटा कर्मकाण्डीय कुरा होला । तर यो रूप पक्षीय कुरा मात्र हुन पुग्दछ । सार पुरानै राखेर त्यसमाथि नयाँको न्यानो पातलो लेप लगाएर रमाउनुको क्षणिक र भ्रमपूर्ण आनन्दले वास्तविक जीवन र जगतको सही प्रतिनिधित्व पनि गर्दैन । त्यसमा पनि जुन समाजमा असमानता, गरिबी, अभाव, बेरोजगारी र विभेद व्याप्त हुन्छ त्यहाँ साल या वर्ष फेरिएर केही फरक पर्दैन । मूल कुरा त उल्लेखित बोझहरूबाट मुक्त भएर समानता, न्याय, संवृद्धि र सम्पन्नता प्राप्त गर्नु हो । अनि तीनको अविच्छिन्नता र शतत निरन्तरता पनि हो ।

हिजोदेखि आजसम्म हामीले सरसरी मात्र हेर्‍यौँ भने पनि समाजका तल्लो वर्गका विभिन्न तप्काहरूमा बिषादको बिशाल छाँया परेको छ — जसले कति असीम दुस्ख, अथाह सागर जस्तै तीनले कति गहिरो, कति अन्धकार, कति पर्वत गुफा आदिलाई आफ्नो पेटमा समेटेको छ । बाहिर त केवल समयको स्वप्नाभाष जस्तो मात्र देखिने गर्दछ । नव वर्षमा आफूलाई कसैले ल्याउनु त्यो मर्ममा मलहम लगाएर दुस्ख कष्टमा आशा, भरोसा तथा सही प्रकाश दिनु हो । आखिर यो त कसैले पनि कालखण्डको गर्भको तितीर्षा देख्नु, भोग्नु र त्यसबाट मुक्ति खोज्नु न हो । एउटा मानिसले कतिसम्म अन्धकार सहन सक्तछ रु बितेका वर्षहरूमा यस्ता अन्धकारका घटनाहरूले जुन हस्ताक्षर गरेका छन् त्यो केवल एउटा पक्ष हो । सुन्दर भविष्यको मागको रूपायन पनि बिचार तथा साहित्यको काम हो । नव वर्ष त्यसपछि मात्र बन्दछ ।

हुन पनि हो, प्रत्येक वर्ष यस्ता नयाँ वर्षहरू आउँछन् जान्छन् । वर्षैपिच्छे यस प्रकार नव वर्षको यथार्थ के हो भन्ने कुरा नबुझी केवल औपचारिकता पूरा गरेर यो समाप्त हुन्छ । यही क्रम पुन: दोहोर्‍याउने गरिन्छ । नयाँ वर्षमा अन्तर्निहित भावनाको गहिरो र गम्भीर अध्ययन,चिन्तन, मनन र अनुगमन केही हुँदैन । अहिलेसम्मका हाम्रो इतिहासका कालखण्डहरू यसरी नै बित्दै गएका छन् । जान्छन् ।

यद्यपि आत्मसात् गरिनु पर्दछ कि नव वर्ष केवल नयाँ समयको पर्व मात्र होइन । अन्तर्यमा यो जिजीविषा,सामूहिकता, वैभव, समृद्धिको कामना, सङ्कल्प, नूतनताको उन्मेषको प्रकटीकरण पनि हो । व्याप्त विषादको छायाँको विरुद्ध नबीताको उद्घोष पनि हो । वास्तवमा विगत वर्षले हामीबाट हाम्रो आकलन र मूल्याङ्कन चाहन्छ । नयाँ वर्ष उज्यालो बिम्बको रङ्गिन माछा जस्तै हाम्रो मनको संरचनामा छचल्किन्छ । नव वर्षको पक्ष आवश्यकरुपले विगत वर्षको अघिल्लो चरण हो । यो मिठो, अमिलो,तीतो,पिरो, टर्रो आदि विभिन्न स्वादहरूबाट संपृक्त छ । नयाँ वर्षले विगत वर्षको सन्धि बिन्दुमा हामीलाई धेरै पटक एकान्त चिन्तन मननको सुविधा प्रदान गर्दछ । नव वर्षले हामीलाई भविष्यका दृष्यहरुसँग परिचय गराउनतिर लैजान्छ । हाम्रो दृष्टिमा संसार उसै पनि युग्महरुबाट सिर्जित छ – पुरानो या नयाँ, परम्परा या आधुनिकता, स्थिर र जंगम आदि इत्यादिबाट । नयाँ समयको अर्थ मनको रङ्गमा नयाँ सिर्जनाको सङ्कल्पको रूपमा जोडिएको हुन्छ । दुस्ख, विषाद अभाव,बेरोजगारीको बज्र र सङ्कट – यी सबै कुरा हुँदाहुँदै पनि नव वर्षले हामीलाई नयाँ दुष्चक्रलाई भेदन गर्नतिर आलोकित गराउँदछ र यसका लागि उष्मा तथा ऊर्जा दिन्छ भने मात्र त्यो वास्तवमा नव वर्षको महिमा गानको अर्थ पनि हुन्छ । प्रष्ट छ, नयाँ वर्षलाई सार्थक तुल्याउन हामीले मानवीय जीवनका सबै आबश्यक आधारहरू प्राप्त गरेकै हुनु पर्दछ ।

त्यसो हुनाले, नव वर्षलाई साँच्चै सार्थक र मूर्तरूपमा रूपमा मान्ने मनाउने हो भने पुराना या विगतदेखिका सारा विकृति र बिसंगतहरुलाई फाल्नु पर्दछ र फाल्ने दिशामा सचेतनरुपमा अग्रसर हुनै पर्दछ । त्यो साहस, त्यो दृष्टि, त्यो सङ्कल्प, त्यो नैतिकता, त्यो इमानदारीताको परिपालना अथक सङ्घर्षको द्योतक बन्नु पर्दछ । पाखण्ड प्रदर्शन र त्यसलाई दोहोर्‍याइरहने औपचारिक गतिविधिले केही हुँदैन यो समयले सिकाएको अखण्डनीय पाठलाई मनन गर्नु अत्यावश्यक छ । अन्यथा हामी एउटा औपचारिकताको अन्ध अभ्यासको निरन्तरतामा खोक्रो आडम्बरमा मात्र रमाइरहेका हुन्छौँ र त्यसैमा अभ्यस्त भइरहेका हुन्छौ । मनमा विषाद मुखमा फिस्स हाँसोको आडम्बरी जीवन बाचिरहेका हुन्छौ । त्यहाँ समयोत्सव एउटा यस्तै विडम्बनाको क्रम उपक्रम मात्र बनिरहन्छ र अभ्यस्त भइरहन्छ । हामीले आज देखिरहेको समाजको भित्री तह र सतहको वास्तविकता यही नै हो । त्यसर्थ, समयलाई आज क्रमभंगता चाहिएको छ । त्यो क्रम भंगता समाज र प्रकृतिमाथिको निर्मम दोहन र शोषण विरुद्धको गलतबाट सहीतिर, खराबबाट असलतिर, परनिर्भरताबाट स्वनिर्भरतातिर, दुर्बलताबाट सबलतातिर, अवसरबादबाट सत्यनिष्ठातिरको अर्थपूर्ण, आधारभूत र दूरदर्शी तथा कालभेदी क्रमभंगता हो १ अनि मात्र नव बर्षोत्सवको वास्तविकता सही अर्थमा जनताको सामूहिक इच्छाकोरुपमा हाम्रा बीचमा अभिव्यक्त हुन्छ । हामी त्यस्तो समानतामा अधारित न्यायपूर्ण समाज र परिवेश निर्माण गर्न अग्रसर होऔँ  ! सबैमा आज आरम्भ भएको नव वर्ष २०७९को यही मङ्गलमय शुभकामना !

 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १ : २० बजे