सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदै

डडेलधुरा । सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसु पर्वका रूपमा मनाउने गरेका छन् । 

सुदूरपश्चिमका पहाडी जिल्ला डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलिकताअनुसार विसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोशीले बताउनुभयो । 

सुदूरपश्चिममा एक वर्षभरि बिदेसिएका सबै परिवारका सदस्य र दिदी, बहिनी समेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भई मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने मनाउने गरिएको पाइन्छ । 

सिस्नो लगाएर पर्व मनाइन्छ 
​​​​​​​सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर विसुु पर्व मनाउने गरिएको छ । देवर र भाउजू तथा साली र भिनाजु एकापसमै सिस्नो लगाएर पनि नयाँ वर्ष तथा विसु पर्व मनाउने गरेका छन् । 

आजको दिन सिस्नो लगाए वर्षभरि सङ्कट नआउने जनविश्वास रहेको अमरगढी नगरपालिका–७ का टेकराज भट्टले बताउनुभयो । आजका दिन सिस्नो लगाउँदा वर्षभरि राम्रै बित्ने र सङ्कट नआउने उहाँले बताउनुभयो । 

यस्तै आजै सुदूरपश्चिमका विभिन्न शक्ति पीठमा पूजाआर्चना गरिने गरेको र धेरैजस्तो शक्ति पीठमा पशु बलि समेत दिने गरिएको छ । 

डडेलधुराको प्रसिद्ध अमरगढी–८ मा रहेको उग्रतारा मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्दछ । हरेक वर्ष डडेलधुराको अमरगढी–३ घटालमा लाग्ने प्रसिद्ध मेला यस वर्ष दुई वर्षपछि शुक्रवार लाग्ने स्थानीय रामचन्द्र जैशीले जानकारी दिनुभयो ।  रासस

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ९ : १८ बजे