राष्ट्रपति भवनमा घटस्थापना

मुलुक आर्थिक सङ्कट उन्मुख : अध्यक्ष ओली

​​​​​​​​​​​​​काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको २०७९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेको बताउनुभएको छ । “केही अवाञ्छित शक्तिका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरूको जङ्गली आकाङ्क्षा, कुण्ठा र ईर्ष्याका कारण केही वर्षदेखि सुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो” उहाँले भन्नुभयो, “विसङ्गति, बेथिति र अस्थिरताका पुराना दूषित खेलको फेरि पुनरावृत्ति भएको छ ।”

उहाँले गत वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्य शक्तिको दुरुपयोगमा सक्रिय भएको भन्नुहुँदै व्यवस्थापिका निकम्मा हुन पुगेको र कार्यपालिकाको छायामुनि न्यायपालिका क्रमशः आफ्नो स्वतन्त्र पहिचान गुमाउँदै गएको बताउनुभयो ।

“संवैधानिक विचलन र अराजकताको विकृत उत्पादनको रूपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन भ्रष्टाचारमा निर्लिप्त छ” उहाँ भन्नुभयो “केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा अहिले सत्ता शक्तिको अनुचित भागबन्डा, लेनदेन र राज्य स्रोतको दोहनमा केन्द्रित हुन पुगेको छ । ”  उहाँले यतिखेर मुलुक आर्थिक सङ्कट उन्मुख रहेको बताउनुभएको छ ।

​​​​​​​​​​​​​​

 

 

 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ८ : २९ बजे