सुनको मूल्यमा नयाँ कीर्तिमान

हत्या आरोपमा तीन पक्राउ

सप्तरी / हत्या आरोपमा सप्तरी प्रहरीले आज रुपनी गाउँपालिका–५ बसविट्टीका लालु भन्ने जयराम खंग, रामप्रवेश खंग र दीपक खंगलाई पक्राउ गरेको छ ।

रुपनी गाउँपालिका–५ बसविट्टीका २५ वर्षीय अन्सारुल मियाँको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ । अपरिचित व्यक्तिले २०७८ चैत ७ गते हत्या गरेको भन्दै मृतकका बुबा ४७ वर्षीय मो. ताहिर मियाँले तत्कालै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । कर्तव्य गरी मारेर पोखरीमा फालेको अवस्थामा मृतकको शव चैत ७ गते फेला परेको थियो ।

शवको पोष्टमार्टम चैत ७ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । जिल्ला प्रहरी कार्यालयले चैत ७ गते उजुरी दर्ता गरी अनुसन्धान सुरु गरिरहेको थियो । शङ्कास्पद केही व्यक्तिलाई अभद्र व्यवहार र केहीलाई दैनिक हाजिरीमा राखेर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले आज मात्र चार जनाविरुद्ध उजुरीसमेत दर्ता गरेको छ ।

जसमध्ये तीन जनालाई आज पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १० : १३ बजे