किसानलाई साथ लिएर लोपोन्मुख जडिबुटी संरक्षण गर्दै वनस्पति अनुसन्धान केन्द्र

जुम्ला । ठिन्केस्थित वनस्पति अनुसन्धान केन्द्रले स्थानीय किसानलाई साथमा लिएर लोपोन्मुख जडिबुटी संरक्षण सुरु गरेको छ । विशेषगरी औषधिजन्य लोपोन्मुख वनस्पतिको संरक्षण र प्रवद्र्धन गर्नेगरी केन्द्रले योजना बनाएको हो । 

अतिस, डाँलेचुक, लौठ सल्ला, रोजमेरी, देवदियार धूपीलागायतका लोपोन्मुख वनस्पति संरक्षण गर्न थालेको केन्द्रका प्रमुख रमेश बस्नेतले बताए । उनले भने, ‘जुम्लामा मात्रै पाइने ६१ प्रजातिका वनस्पतिको अनुसन्धान गरी संरक्षणमा जुटेका छौँ । किसानलाई पनि अतिसका बिरुवा दिएका छौँ ।’ यसले एकातर्फ लोपोन्मुख जडिबुटीको संरक्षण हुने र अर्काेतर्फ वनस्पतिबाट हुने फाइदा बारे स्थानीयले पनि थाहा पाउने बताए । यस्तै केन्द्रले वनस्पति विभागको ६२औँ वार्षिकोत्सव तथा २३औँ वनस्पति दिवस र नयाँ वर्षको अवसरमा शुभकाना आदनप्रदान पनि गरेको छ । 

कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाइँले जुम्ला जैविक विविधताका हिसाबले महत्वपूर्ण रहेको बताइन । यस्तो विविधताको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उनले बताइन । साथै जडिबुटीको उपयोगिता र संरक्षणसम्बन्धी परम्परागत ज्ञान र आधुनिक प्रविधिलाई संयोजन गर्नुपर्ने उनको जोड छ । 

समाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराम चौलागाइँले अनुसन्धान प्रयोजनका लागि निकासी भएका जडिबुटीको दुरुपयोग हुन नदिन सचेत हुनुपर्नेमा जोड दिए । 
गुठीचौर गाउँपलिका–५ का अध्यक्ष चन्द्रबहादुर नेपालीले केसर खेतीको नामले चिनिएको यो क्षेत्रमा आउने पर्यटकलाई निगरानी गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ३ : ३२ बजे