राष्ट्रपति भवनमा घटस्थापना

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने 

सिन्धुपाल्चोक । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । 

मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । 

समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिनुभयो । केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उहाँले बताउनुभयो । 

आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो ।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साता जति लाग्नेछ ।

गत वर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

सुरुङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : २० बजे