अछाम । नेकपा एमाले ढकारी गाउँपालिका कमिटीले आगामी स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेको छ ।
कमिटीको भेलाले एमाले अछामका पुराना नेता धर्मबहादुर शाहीलाई अध्यक्ष र युवा नेतृ एमाले जिल्ला सदस्य मायादेवी बुढालाई उपाध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेर माथिल्लो कमिटीमा पठाएको हो ।
पालिका अध्यक्ष अमर सिंह बुढाको अध्यक्षतामा भएको बैठकमा उम्मेदवार छनौटका लागि गाउँपालिका सङ्गठन कमिटी सचिव नहकुल साउदले राखेको प्रस्ताव भेलाले सर्वसम्मत अनुमोदन गरेको थियो ।
भेलामा ढकारी गाउँपालिका अन्तर्गतका ८ मध्ये ३ वटा वडामा वडा अध्यक्षका उम्मेदवार पनि सर्वसम्मत चयन गरेको छ ।
पालिकाको वडा नम्बर ३ बाट धनबहादुर बुढा, वडा नम्बर ४ बाट नैनसिंह बुढा र वडा नम्बर ८ बाट दीपेन्द्र खडकालाई वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गरिएको हो ।
प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार ७ : ११ बजे
प्रतिक्रिया