एमाले भेरीले टुंग्यो लगायो उम्मेदवार

सुर्खेत । नेकपा एमाले भेरी नगर कमिटिले जाजरकोट भेरी नगरपालिकाको उम्मेदवारहरू टुंग्यो लगाएको छ ।  सत्ता गठबन्धन दललाई उम्मेदवारको टुंग्यो लगाउन हम्मे परेको बेला नेकपा एमालले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई सर्वसहमत फेरि पनि उम्मेदवार बनाउने निर्णय गरेको एमाले जाजरकोटका अध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए ।

सत्ता गठबन्धन दलहरू कसले के कति लिने भन्ने विषयमा छलफल जारी राखे पनि निश्कर्षमा पुगिनसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश उपाध्यक्ष ढकवीर रानाले बताए ।

जाजरकोटमा सात वटा स्थानीय तह छन् । भेरीमा कांग्रेस, माओवादी र नेकपा एसको दावी रहेको छ । पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको पालिका भएकै कारण सबैको आँखा भेरीमै छ ।

सत्तारुढ दलहरू प्रचारप्रसारमा समेत सुस्त देखिएका छन् । नेकपा एमालले भने छलफललाई समेत तीव्रता दिएको छ ।  सुरुमा आरोप प्रतिआरोपमा उत्रिएका माओवादी केन्द्र र कांग्रेस अहिले वाक युद्ध छोडेर भागबण्डा र टिकट कसले पाउने भन्ने विषयमा व्यापक छलफलमा रहेका छन् । केन्द्रीय स्तरमा नेताहरूको घरदैलो धाउन समेत थालेका छन् ।  

माओवादीले चार स्थानीय तहमा दावी गरेको छ भने कांग्रेसले पनि त्यही संख्या मागेको छ । नेकपा एसले दुई पालिकामा मागेकाे छ । २०७४ सालमा माओवादीले दुई, कांग्रेसले दुई स्थानीय तह जितेका थिए । नेकपा एमालेले दुइ नगरपालिका सहित एक गाउँपालिकामा जित हात पारेको थियो । 
 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ४ : १९ बजे