कृषि गणना गर्न सुपरिवेक्षक खटिँदै

रुकुम(पूर्व) ।  रुकुम(पूर्व) मा कृषि गणनाको लागि १८  गणक र पाँच  सुपरिवेक्षक खटिने भएका छन् । 

केन्द्रीय तथ्याङ्क विभागले हरेक १०÷१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौँ कृषि गणना हुन लागेको हो । गणनामा खटिने जिल्लाका गणक सुपरिवेक्षकको लागि तालिमको आयोजना गरिएको छ । 

तालिम रुकुमकोटमा जारी छ । तालिम अगामी वैशाख ३ गतेसम्म चल्ने कृषि गणना कार्यालय रुकुम(पूर्व)ले जानकारी दिएको छ । 

यसका लागि जिल्लामा ४९  गणना क्षेत्र तोकिएको कार्यालय प्रमुख शतिसकुमार चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार कृषि गणना वैशाख ६ देखि जेठ १९ गतेसम्म हुनेछ । ४५ दिनमा दुई चरणमा गणना हुनेछ । पहिलो चरणमा सूचीकरण हुनेछ भने दोस्रो चरणमा मुख्य प्रश्नावली भरिने छ ।

गणनामा कृषक परिवार, जग्गाको उपभोग र उपयोग, कित्ताको विवरण, सिञ्चित जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदे बाली, मसला बाली, तरकारी बाली र फलफूल लगाएको जग्गाको क्षेत्रफल, तथा प्रमुख बालीको उत्पादन, बीउ विजन, विषादी र मल खादको प्रयोग लगायतको विवरण सङ्कलन हुने जनाइएको छ ।

जातअनुसार पाल्तु पशुपक्षीको सङ्ख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछा पालन, मौरी पालन, च्याउ खेती, पुष्प खेती, कृषिमा ऋण, बीमा, अनुदान, कामदार, महिलाको नाममा रहेको जग्गा र खाद्यान्नको प्रर्याप्तताका बारेमा पनि जानकारी सङ्कलन हुनेछ । रासस

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ५० बजे