सत्ता गठबन्धनसँग तालमेल गर्ने लोसपाको प्रयास असफल

काठमाडौँ । सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गरेर जाने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) को प्रयास असफल हुने देखिएको छ ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि पाँच दलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रले गठबन्धन आबद्ध दलहरू बिचमा मात्रै साझा उम्मेदवार चयन गर्न सुझाव पेस गरेपछि लोसपाको प्रयास असफल हुने देखिएको हो ।

आफ्ना माग पुरा गराउन तथा स्थानीय तह निर्वाचनमा तालमेल गर्ने विषयमा लोसपा अध्यक्ष महन्थ ठाकुरले दुई दुई पटक प्रधानमन्त्री समेत रहनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो । 

काँग्रेस सभापति देउवाले तालमेलका लागि सकारात्मक रहेको जनाउँदै भारत भ्रमणबाट फर्केपछि पुनः वार्ता गर्ने भनिरहेको बेला अनुगमन संयन्त्रले पाँच दल बिचमा मात्रै गठबन्धन गर्न सिफारिस गरेपछि लोसपाको सो प्रयास असफल हुने देखिएको हो । 

''स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धनका बिचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अघि बढ्ने'' सुझाव अनुगमन संयन्त्रले दिएको छ ।

सो सुझावका आधारमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका बिचमा मात्रै गठबन्धन हुने देखिएको छ ।

सोमवार बस्ने गठबन्धन शीर्ष नेतृत्वको बैठकले अन्यसँग पनि गठबन्धन गर्ने निर्णय नलिएको खण्डमा लोसपाको प्रयास अन्ततः असफल हुने देखिएको छ ।

“अहिलेसम्म गठबन्धन गर्ने भनेर केन्द्रीय निर्णय भएको छैन, स्थानीय तहले आवश्यकताका आधारमा चुनावी तालमेल गर्न सक्नेछन्”, केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झाले भन्नुभयो, “सत्तारुढ गठबन्धनसँग तालमेल नभए अन्यसँग तालमेलको ढोका भने खुल्ला रहेनछ, हामी छलफलमा नै छौँ ।”

उहाँका अनुसार नेकपा एमालेसहित साना दलहरूसँग तालमेल गरेर अघि बढ्ने बारेमा छलफल अघि बढाउन सकिने विकल्प भने अझै खुल्ला रहेको छ । 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ०१ बजे