राष्ट्रपति भवनमा घटस्थापना

एमालेबाट हेटौँडा उपमहानगरपालिकाको मेयरमा ९ र उपमेयरमा ७ जना सिफारिस

हेटौँडा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेबाट हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि ९ जना र उपमेयर पदको लागि ७ जनाको नाम सिफारिस गरिएको छ ।

आइतबार बसेको नगर कमिटीको बैठकमा सहमति नजुटेपछि आकाङ्क्षी सबै जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको हो ।

हेटौँडा उपमहानगरपालिकाको मेयर पदका लागि आकाङ्क्षी हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई सिफारिस गरिएको हो ।

महत अहिले पनि मेयर हुनुहुन्छ भने खुलाल जिल्ला समन्वय समितिका प्रमुख हुनुहुन्छ। राना नेकपा एमाले केन्द्रीय सदस्य हुनुहुन्छ भने श्रेष्ठ जिल्ला अध्यक्ष हुनुहुन्छ ।

यस्तै, मेयरका अर्का आकाङ्क्षी पौडेल दोस्रो संविधानसभा सदस्य हुनुहुन्थ्यो । दाहाल र चौंलागाईं अधिवक्ता हुनुहुन्छ भने महर्जन यसअघि हेटौँडा उपमहानगरपालिकाको वातावरण महाशाखा प्रबन्धकमा कार्यरत हुनुहुन्थ्यो ।

मेयर पदमा सिफारिस एक मात्र महिला प्रधान भने जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य छिन् ।  उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता विष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ८ : ३१ बजे