गठबन्धनमा अनौठो सहमति : एकले अर्काको कार्यकर्ता नभित्र्याउने

​​​​​​​काठमाडौं ।  गठबन्धनमा आवद्घ दलहरूले कार्यकर्ता जोगाउन नयाँ राजनीतिक फर्मुला ल्याएका छन् । उनीहरूले राजनीतिक दलमा पहिलो पटक एकले अर्को दलको कार्यकर्ता पार्टी प्रवेश नगराउने सिण्डिकेटको अभ्यास  सुरु गरेका हुन् । 

समाचार हो धादिङ जिल्लाको । जिल्लामा क्रियाशील सत्ता गठबन्धनमा आबद्ध चारवटा राजनीतिक दलले गठबन्धन दलबीच एकले अर्को पार्टीका कार्यकर्ता तथा समर्थकलाई पार्टी प्रवेश गराउन नपाउने लिखित सहमति गरेका हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलसहित उपस्थित भएको बैठकले गरेको ८ बुँदे निर्णयमा एकले अर्काका कार्यकर्ता तथा मतदातालाई पार्टीमा प्रवेश नगराउने निर्णय गरिएको छ । 

निर्णयको बुँदा नम्बर ७ मा भनिएको छ–गठबन्धन दलहरुबीच एक आपसमा आरोप प्रत्यारोप नगर्न र गठबन्धन दलबीच एक अर्को सदस्य वा मतदातालाई आफ्नो पार्टीमा प्रवेश नगराउने निर्णय गरियो ।

चार दलीय गठबन्धनको यो निर्णयसँगै ती दलसँग आबद्ध वा ती दल नजिकका मतदाताले अब गठबन्धनमा आबद्ध दलमा प्रवेश गर्न नपाउने भएका छन् । यस्तो निर्णय सम्भवतःनेपालमै पहिलो पटक भएको हो । 

निर्वाचनका मुखमा गठबन्धनमा आवद्घ दलकै कार्यकर्ताहरूले दल अदलबदल गर्न थालेपछि  सत्ता गठबन्धनले चुनावसम्म एकको कायकर्ता अर्को पार्टीमा नभित्र्याउने अनौठो सहमति गरेका हुन् । 

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : ०८ बजे