एमालेले भरतपुर महानगरको मेयरमा विजय सुवेदीलाई उठाउने

चितवन / नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ ।

एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको  मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिनु भयो  ।

महानगरको मेयरमा सुवेदीलाई सर्वसंगत ढङ्गले उम्मेदवार बनाउने घोषणा गरिएको ज्ञवालीले बताउनु भयो  । मेयरको उम्मेदवारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्नु भएको हो । 

यसअघि महानगरको मेयरको उम्मेदवारमा देवी ज्ञवालीको पनि चर्चा थियो । २०७४ को चुनावमा माओवादी केन्द्रकी रेणु दाहालसँग पराजित भएका ज्ञवालीले यस पटक विजय सुवेदीलाई नै मेयरको उम्मेदवारमा प्रस्ताव गरेको हो । उपमेयरको उम्मेदवारको घोषणा गरिएको छैन । उपमेयरमा एमालेले राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : १२ बजे