मानवसेवा आश्रम चितवन आजदेखी आफ्नै भवनमा  

​​​​​​​भरतपुर ।  मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) चितवन शाखाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । आश्रमले आइतबार आफ्नै घरमा गृह प्रवेश कार्यक्रम गरि यसबारे जानकारी गराएको हो ।

यसअघि भरतपुर – १०, बाइपास रोडमा घर भाडामा लिएर सञ्चालन भएको मानवसेवा आश्रमले आजदेखि भरतपुर–३, बेलचोकमा भृकुटी स्कुलसँगै सरेको हो ।

मानवसेवा आश्रमले सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन गर्दै आइरहेको छ । पारिवारिक पुनर्मिलन हुन नसक्नेहरुको लागि लौरी स्वरुपको सहारा बनेर लालनपालन, संरक्षण र औषधोपचार गर्दै आइरहेको छ । 

हाल मानवसेवा आश्रमले सातै प्रदेशको १९ जिल्लाहरुमा २७ वटा सेवा केन्द्रहरु विस्तार गरि देशै भरि सेवा प्रवाह गरिरहेको छ ।

कार्यक्रममा मानवसेवा आश्रमका परिकल्पनाकार, संस्थापक अध्यक्ष रामजी अधिकारी, चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्मा, स्थानीय समाजसेवी प्रेम कुमार श्रेष्ठ, ओमकार कंडेल लगायत महत्त्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ४ : ०७ बजे