यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नेपाली सेनाद्वारा सशस्त्र प्रहरी बललाई हतियार तथा एम्युनिशन हस्तान्तरण

काठमाडौँ / नेपाली सेनाले ५९० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरू सशस्त्र प्रहरी बल, नेपाललाई हस्तान्तरण गरेको छ । 

सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार एक कार्यक्रमको आयोजना गरी ती हतियार सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको थियो । 

प्रधान सेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनाललाई ती हतियार हस्तान्तरण गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाउनु भयो  । 

निर्देशनालयका अनुसार आज हस्तान्तरण गरिएका हतियारमा ईन्सास राइफल ५ सय नाल र लाइट सपोर्ट विपन ९० नाल रहेको छ । ती हतियारलाई आवश्यक पर्ने उम्युनिशन लगायतका सामाग्री पनि हस्तान्तरण गरिएको सेनाले जनाएको छ । 

सशस्त्र प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरू सञ्चालन गर्ने प्रयोजनका लागि यही चैत्र २४ गतेको मन्त्रिपरिषद्ले सहयोग स्वरूप हतियार उपलब्ध गराउने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्ले नेपाली सेना मार्फत सहयोग स्वरूप ईन्सास राइफल नाल ९ हजार र लाइट सपोर्ट विपन १ हजार ६ सय गरी कुल १० हजार ६०० नाल हतियार उपलब्ध गराउने निर्णय गरेको थियो । 

सोही अनुरूप आइतबार पहिलो चरणमा हतियार हस्तान्तरण गरिएको हो ।

‘बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गरिँदै लगिनेछ । यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुनुको साथै सुरक्षा निकायहरूबिचको सम्बन्ध समेत थप बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ,’ निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : १७ बजे