देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र गम्भीर दुर्घटनाको अवस्थामा पुगेको बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै उहाँले देशमा आर्थिक संकटको अवस्था आएको र मुलुलक गम्भीर मोडमा जान लागेको बताउनुभयो । 

अहिलेको अवस्थामा राजनीतिकभन्दा पनि आर्थिक समस्या सुल्झाउनेतिर लाग्नुपर्ने उहाँको भनाई छ ।   ‘राजनीतिक अवस्स्थाको कुरा पछि गर्दै गरौंला । अहिले सबै मिलेर अर्थतन्त्र सुधार गर्न तिर लाग्नुपर्छ । यसलाई समयमै सुधार गर्न सकिएन भने देशको अर्थतन्त्र गम्भीर दुर्घटनातर्फ जाने अवस्थामा छ,’ पाण्डेले भन्नुभयो ।

सरकारका अर्थतन्त्रलाई सुधार गर्न नसकेर त्यसको दोष राष्ट्र बैकमा गर्भनरमाथि लगाइरहेको उहाँको आरोप छ । सरकार आफ्नै कारण मुलुकलाई अर्थतन्त्र अस्तव्यस्त बनाउने अवस्थामा पुगेको उहाँको भनाइ छ । अहिलेकै अवस्था रहने हो भने एकदिन अर्थमन्त्रि नै भाग्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।  

अर्थमन्त्री जनार्दन शर्मा नै भाग्ने अवस्था आउन सक्ने उहाँको आरोप छ । अर्थमन्त्रि शर्माले कानुन विपरीत काम गरिरहेको भन्दै यसले उनलाई नै समस्या पर्ने उहाँले भन्नुभयो । अर्थमन्त्रीले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैर कानुनी भएको बताउनुभयो । 

‘यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ? हामीले बनाएको ऐनभन्दा बाहिर गएर कसैले चल्न मिल्छ र ?,’ उहाँले भन्नुभयो । 

अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उहाँले नेपालको अर्थमन्त्रीको पनि त्यही अवस्था आउन सक्ने टिप्पणी रहेको बताउनुभयो ।   

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : १७ बजे