‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्रीको भारत भ्रमण सन्देहको घेराभित्र 

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण सकेर नेपाल फर्किसक्नुभएको छ । भारत—नेपालबीच किनारा लगाउन थाती रहेका धेरै महत्त्वपूर्ण मुद्दाहरू रहेको अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणप्रति नेपालीहरूको चासोको विषय हुनु स्वाभाविक हो । तर, भ्रमणबाट नेपालले खास उपलब्धि हासिल गर्न सकेको देखिएन । नेपालीहरूको अधिक चासो रहेको सीमा समस्यामा दुई विशेष मित्रहरूले आपसमा संवाद र दुई देशीय सीमा समस्या संयन्त्रबाट हल गर्ने भन्ने दिल्लीले दशकौँदेखि सुनाउने गरेको वाक्य देउवाले पनि सुनेर फर्किनुभएको छ । 

भारतका कारण यो समस्या एकै दिनमा समाधान हुने प्रकृतिको छैन भन्ने सबैलाई थाहा नभएको कुरा होइन । आशा के मात्र गरिएको थियो भने चीनले सीमा मिचेकोमा तदारुकता साथ छानबिन गर्न समिति गठन गर्नुभएका प्रधानमन्त्रीबाट अवश्य पनि भारतलाई नेपाली भूमिमा सडक बनाउने काम र महाकाली नदीमा तटबन्धका नाममा नेपालतिर कटानको जोखिम बढाउने काम बन्द गराउन सफलता मिल्ने छ । तर, त्यस्तो देखिएन ।

प्रधानमन्त्रीले चार वटा सम्झौतामा हस्ताक्षर गराएर फर्किनुलाई नेपालका नयाँ प्रधानमन्त्रीहरूले प्राथमिकतासाथ भारतको भ्रमण गर्ने परम्पराको मात्र पालना गरेको जस्तो देखिए पनि यसलाई दुई छिमेकी देश बीचको संवादका रूपमा मात्र लिन सकिन्छ ।

प्रधानमन्त्रीको पछिल्लो अनौठो सत्ता रोहणले गर्दा पनि उहाँको यो भ्रमणलाई विभिन्न ढङ्गले अर्थ्याउनेहरूको देशमा कमी छैन । भारतलाई कतिपय मामिलामा औँलो ठड्याउने देउवाको पूर्ववर्ती सरकारको बहिर्गमन र त्यसै सत्तारुढ पार्टीबाट निस्केका टुक्राहरूको सहयोगमा गठबन्धनको नेताका रूपमा सत्ता सम्हाल्न पुग्नुभएका देउवामाथि सत्तामा पुग्न दिल्लीको आशीर्वाद प्राप्त थियो भन्नेहरू पनि धेरै छन् । 

तत्कालीन बलियो बहुमतमा रहेको नेकपाको सरकारभित्र चलेको बेतुकको विवाद र नेकपाको अवसानपछि बनेका दुई स–साना समूहको साथ तथा सभामुख र निर्वाचन आयोगको रहस्यमय क्रियाकलाप जस्ता रहस्यै रहस्यका भर्‍याङ चढेर सत्तामा पुग्नुभएका देउवाको पद संयोगको उपज मात्र थियो भन्न सकिने देखिन्न । 

त्यसैले आगामी चुनावमा अपनाइने रणनीतिबारे सरसल्लाह र सहयोगका लागि यो भ्रमण गरिएको धेरैको अड्कल पनि छ । यदि यो सत्य हो भने प्रधानमन्त्रीले देशको मानमर्दन गरेको ठहरिने छ । विश्वमा विदेशी स्वार्थहरूको बुई चढेर तहसनहस भएका देशहरू धेरै छन् । भ्रमणका क्रममा उहाँमाथि प्रधानमन्त्रीभन्दा काँग्रेस सभापतिको रूपमा दिल्लीमा प्रस्तुत भएको आरोप पनि लगाइएको छ । उहाँमाथि लगाइने गरेका आरोपलाई गलत साबित गर्ने अवसर यो भारत भ्रमणमा थियो तर त्यसमा सफलता हात पार्न सकेको देखिएन ।

भारतबाट आयातित हिन्दु राजनीति भनेको उदार हिन्दु राज्य हुने छैन, त्यो असहिष्णु हिन्दु राज्य हुनेछ । त्यसले देशलाई अर्को अशान्तितिर डोर्‍याउने डरलाग्दो जोखिम ल्याउने छ । यस दिशातिर सबै नेपालीले चनाखो रहन आवश्यक छ । 

भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा नेपाली प्रधानमन्त्रीको भेटघाट र बनारसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आतिथ्यमा तीर्थयात्रा र पूजाआजाले नजिकै रहेको चुनावमा काँग्रेसमा हिन्दुत्वको रङ्ग चढ्ने हो कि भन्ने शङ्का पनि बढेको छ । यस्तो भयो भने, सङ्घीयता  धर्मनिरपेक्षता र गणतन्त्रको जस दाबी गर्दै राजनीतिक अस्तित्व टिकाउँदै आएका प्रधानमन्त्री देउवाका सत्ता सहयात्री दलहरूको सान्दर्भिकता नेपाली राजनीतिमा सकिने प्रबल सम्भावना देखिन्छ ।

भारत यति बेला युक्रेन—रुस युद्धले निम्त्याएको शक्ति समीकरणको चर्को दबाबमा छ । उसले रुससँगको पारम्परिक मित्रतालाई पछिल्लो समयतिर निकट सम्बन्ध रहँदै आएको अमेरिकाको स्वार्थका लागि बेवास्ता नगर्ने निष्कर्षमा पुगेको देखिँदै छ । दिल्ली यति बेला विश्व कूटनीतिक गन्तव्यको गन्तव्य बनेको छ । यसबेला देउवाका लागि भारत भ्रमणको उचित समय पनि थिएन कि जस्तो देखिन्छ । किनभने नेपाल विश्वको शक्ति समीकरणमा कुनै प्रभाव देखाउन सक्ने ल्याकतमा छैन, बरु आफूलाई बाहिरी शक्तिहरूले दुरुपयोग गर्लान् कि भन्ने त्रासमा देखिन्छ । यो अवस्थाप्रति सचेत रहनु नै नेपालको परराष्ट्र नीति हो भन्नु अतिशयोक्ति नहोला ।

जाति, धर्म, वंश जस्ता मुद्दाहरू अति संवेदनशील मुद्दाहरू हुन् । यिनलाई उठाउन जति सजिलो छ, निराकरण गर्न त्योभन्दा धेरै कठिन छ । त्यसैले राजनीतिले यस्ता मुद्दाहरूको चुनावी फाइदाका लागि बजारीकरण गर्दै आएका छन् । नेपालमा जाति जातिबीच भिडन्त गराएर माओवादीहरूले असफल बजारीकरण गरेर विगतमा क्षणिक फाइदा लिइसकेका छन् । धर्म र राजतन्त्रको मुद्दा लिएर राजनीति गरिरहेको राप्रपा पनि नेपाली राजनीतिमा सफल हुन सकेको छैन । नेपालको राजनीतिमा अब बिकाऊ र संवेदनशील मुद्दा भनेको हिन्दुत्व नै हो । नेपाली काँग्रेसभित्र हिन्दु राज्यको पक्षमा पहिल्यैदेखि बलियो धार कायम छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई हेर्दा आउँदो चुनावमा काँग्रेसले हिन्दुत्वको बाटो लियो भने आश्चर्य मान्नुपर्ने अवस्था छैन । भारतबाट आयातित हिन्दु राजनीति भनेको उदार हिन्दु राज्य हुने छैन, त्यो असहिष्णु हिन्दु राज्य हुनेछ । त्यसले देशलाई अर्को अशान्तितिर डोर्‍याउने डरलाग्दो जोखिम ल्याउने छ । यस दिशातिर सबै नेपालीले चनाखो रहन आवश्यक छ । 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १० : ५७ बजे