‘एमालेले विकास र समृद्धिको नेतृत्व गरेको छ’

काठमाडौँ / नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा एमालेले विकास र समृद्धिको नेतृत्व गरेको बताउनुभएको छ ।

नेकपा एमाले सञ्चार इलाकाले आज आयोजना गरेको कार्यक्रममा उहाँले एमाले नेतृत्वको सरकारले विगतमा धेरै कामको सुरुआत गरेको बताउनुभयो । प्रधानमन्त्रीका रूपमा रहँदा केपी शर्मा ओलीले नागरिकलाई सपना देखाउनुभएको र ती सपना साकार बनाउन काम थाल्नुभएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “हिजो शिल्यान्यास भएका योजनाको अहिले उद्घाटन भइरहेको छ ।” नेकपा (एमाले) प्रति सबै उमेर, क्षेत्र र वर्गको आकर्षण बढिरहेको महासचिव पोखरेलले बताउनुभयो । अहिले सबैतिर पार्टी प्रवेशको लहर नै रहेको उहाँले औँल्याउनुभयो ।

यो पटक पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेका धेरै एमाले र केपी ओलीप्रति आकर्षित भएको उहाँको भनाइ छ । नेकपा (एमाले) बाट नेकपा (एकीकृत समाजवादी) छुटिएर जाँदा पार्टीलाई कुनै नोक्सानी नभएको भन्दै उहाँले सो पार्टीमा गए जति पूर्वमाओवादीबाट आएकाले समग्रमा पार्टीमा घाटा नभएको उहाँले बताउनुभयो ।

नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पार्टीमा अहिले कुनै पनि विवाद नभएकाले अघिल्लो निर्वाचनभन्दा बढी सिट जित्ने गरी लागिएको बताउनुभयो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : ४५ बजे