मत बेचेर मन्त्री हुन हिँडेकाहरूले ३ सिट जितेर देखाउन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको पार्टीलाई तीन सिट जितेर देखाउन चुनोती दिनुभएको छ । 

एमाले निकट स्वास्थ्यकर्मी संगठनको महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले ४ सिट पनि ल्याउन नसक्ने प्रचण्डलाई ५४ सिटको पार्टी बनाइदिँदा उल्टै माधव नेपाल जस्ता कुण्ठाग्रस्त मान्छेहरूलाई बोकेर आफूमाथि झम्टिएको बताउनुभयो । ‘ देश बनाउनका लागि भनेर प्रचण्ड माधवलाई बहुमत दिएँ तर उल्टै मलाई हटाउन हिंडे, दिएको बहुमतको दुरुपयोग गरे ।

ओलीले  प्रचण्ड र माधव नेपाललाई भस्मासुर (महाभारतको एक पात्र)को संज्ञा दिनुभयाे । आफूले वरदान दिएर उनीहरूलाई पार्टीमा बहुमत बनाइदिए पनि आफ्नै टाउकोमा हात ल्याएको ओलीकाे टिप्पणी थियाे । 

‘मैले वरदान दिएँ तर मेरै टाउकोमा हात राख्ने भष्मासुर प्रवृत्ति देखाए । माधव नेपाल २३ सिट ल्याउने हुती भएको मान्छे हुन् ? पार्टीभित्रको कुरा हो भनेर खुरुखुरु दिइयो तर एमालेलाई दिएको भोट बेचेर हिँडे । माधव नेपालले अब तीन सिट ल्याएर देखाउन् ।’ ओलीको भनाई थियो । 

अध्यक्ष ओलीले देश बनाउनका लागि प्रचण्ड–माधवलाई बहुमत दिएर पार्टी एकता गर्दा उल्टै आफैँलाई हटाउन खोजेपछि उनीहरूलाई औकातमा फर्काइदिएको बताउनुभयाे  । 

एमालेको भोट बेचेर कतिपय मन्त्री भएकाे चर्चा गर्नुहुँदै  अध्यक्ष ओलीले वास्तविक जनमत वैशाख ३० पछि मात्र प्रकट हुने बताउनुभयो ।

‘मन्त्री खानका लागि एमालेको भोट बेचेर केही मोटा मोटा थलथले ज्यान भएकाहरू खुरुरु दौडेर भित्तातिर हिँडेका छन्, वास्तविक जनताको जनमत वैशाख ३० पछि मात्र प्रकट हुनेछ’ अध्यक्ष ओलीको भनाई थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ५२ बजे