राष्ट्रपति पौडेल कतारमा

प्रगतिशील प्राध्यापक संगठनको अपरिहार्य पहिचान

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको १२औँ केन्द्रीय सम्मेलन यही चैत्र २५ र २६ गते काठमाडौँमा हुन गइरहेको छ । यो पेसागत सङ्गठन भए पनि राष्ट्रिय समस्याबाट यो अछुत रहन सक्तैन । यस सङ्गठनले के कस्ता पेसागत तथा देश र जनताका हक हितमा गुणात्मक बौद्धिक गतिविधि गरेको छ । अहिले फरक विचारको प्राज्ञिक नेतृत्व विश्वविद्यालयमा आएको भन्ने अति निम्न स्तरको चिन्तनका कारण नेपाली काँग्रेस पार्टीका केही नेता र सरकार नै विश्वविद्यालय लामो समयदेखि नेविसंघका नामबाट तालाबन्दी गरेर तहस नहस पारिएको छ । अति भएपछि यसको पोल त्रिविका रजिष्ट्रर प्रा.डा. पेशल दाहालले माननीय गगन थापाकै अगाडि खोल्न बाध्य हुनुपर्‍यो । तर भलाद्मी प्राध्यापकहरूले यस्ता विकृति उच्छेद गर्ने काममा कलम चलाएको देखिएन । सत्य सजिलै स्थापित हुँदैन । टन्टलापुर घाम नलागी अन्धकार मासिन्न ।  यसको समीक्षा हुने नै छ । 

सदा पद, प्रतिष्ठा र कुनै न कुनै नियुक्तिका पछि हत्ते हाल्ने निम्न पुँजीवादी चिन्तन र चरित्र बोकेको भनेर आलोचित यस क्षेत्रले आफ्नो मार्क्सवादी जनसेवामुखी छवि कायम गर्ने कुरा महत्त्वपूर्ण हुन्छ ।  

प्राध्यापक, शिक्षक तथा  बौद्धिक वर्गहरू देशका दिमाग मात्रै होइनन्, दिल पनि हुन् ।  बौद्धिक  चिन्तन, मनन, लेखन, शिक्षण र प्राध्यापन जस्ता देशलाई नै दिशा निर्देश कामहरूले दिमागी कुरा बुझाउँछ भने दिलले भावनात्मक, हार्दिक तथा मनोवैज्ञानिक पक्षलाई जनाउँछ । तर पुरानै खालको सोच राखेर हुँदैन । 

माओले भनेझैँ परिवर्तित परिस्थितिमा पनि नेता तथा बुद्धिजीवीमा समेत पुरानै शासक र शासन व्यवस्थाको विचार, चिन्तन र संस्कृति हाबी हुन्छ । यसमा विशेष सचेत हुन सकिएन भने पछौटे संस्कृति हाबी हुने खतरा हुन्छ । 

तुलनात्मक रूपमा प्रगतिशील क्षेत्रका प्राध्यापकहरूको आफ्नो उचाइ रहेको देखिन्छ । अयोग्यमध्ये योग्य हुनेभन्दा गुणात्मक उचाइ बनाउनुपर्छ । अझ प्रगतिशीलताका नाममा परिचालित मार्क्सवादी सैद्धान्तिक विचलन । त्यसैले नाम मात्रको होइन कामकै प्रगतिशीलता अपरिहार्य हुन्छ । यस क्षेत्रमा समाजवादी प्रतिस्पर्धाभन्दा पुँजीवादी प्रतिस्पर्धाकै नखरा बढी देखिन्छ ।  

यसै कारण यस क्षेत्रमा आन्तरिक अन्त विरोधहरू व्याप्त रहेका छन् ।  धेरै जसोले विषय, विज्ञता, विधा, क्षेत्र, नाक, नश्ल  र भूगोल आदि आधारमा आफूलाई कि उच्चता बोध वा नीचता बोध गर्ने प्रवृत्ति छ ।  केही दिनअघि बुद्धिजीवी परिषद्को सम्मेलन उद्घाटन समारोहमा काठमाडौँ बाहिरबाट आएको ठानेर होला यस लेखकलाई आफू बसिरहेको कुर्सी फलानालाई छाडिदिन एक प्राध्यापकले भने । काठमाडौँ कोक्यायो भन्ने एक कवितामा यस लेखकले काठमाडौँका मै हुँ भन्नेहरूलाई व्यङ्ग्य गरेको थियो । उक्त कवितामा ‘पहिलो भेटमै काठमाडौँले मलाई देखेर आँखा सन्कायो, आँखीभौँ खुम्च्यायो, तोलाको बोली भुईँमा खस्ला खस्ला झैँ गर्‍यो’ भनेर लेखेको थियो । 

यसबाट प्रगतिशील प्राध्यापक सङ्गठनभित्र रहेको एउटा अन्तर्विरोधको एउटा सानो उदाहरण हो । यहाँ त एक अमुक नेतालाई खुसी पारेर अरू सबैलाई हेपाहा व्यवहार गर्ने परिपाटी मलजल हुने गरेको थियो । त्यसको तुस अहिले पनि बाँकी रहेको देखिन्छ ।  

औपचारिक अध्ययन गर्नु, पदोन्नतिका लागि विभिन्न प्राज्ञिक पद प्रतिष्ठा र ओहोदा प्राप्त गरेकै भरमा ठूलो भइएला तर यत्तिकै भरको ठूलो मानिसलाई असल त भनिन्न, भनिन्न  ठालु चाहिँ भनिन्छ । तसर्थ विश्वविद्यालयीय औपचारिक ज्ञानसहित ऐतिहासिक भौतिकवादी, मार्क्सवादी र जनताको बहुदलीय जनवादको प्रकाश र आलोकमा जीवन र जगतको ज्ञानका समग्र विषयलाई हेर्ने विश्लेषण गर्ने र निचोड निकाल्ने चाहिँ प्रगतिशील पहिचान हो ।  यति भयो भने मात्र जनताको बहुदलीय जनवाद अनुसार समानान्तर वा प्रतिध्रुव बौद्धिक क्षेत्रभन्दा फरक पहिचान प्राप्त गर्न सकिन्छ । कामको प्रगतिशीलता अपरिहार्य हुन्छ । यसरी मात्र यस सङ्गठनको गुणात्मक औचित्य अब स्थापित गर्न सकिन्छ ।

२०७८ असोज २४ गते प्रगतिशील प्राध्यापक सङ्गठनले चाडपर्व र परम्पराको वैज्ञानिक पक्ष शीर्षकमा जुममार्फत पहिले कहिल्यै नभएको सान्दर्भिक तथा गहन  विचार गोष्ठी सम्पन्न गरेको थियो र यस लेखकलाई पनि सहभागी हुने अवसर प्राप्त भएको थियो । 

द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी मान्यताका आधार अध्ययन, मनन र विश्लेषण गर्दा मात्र जुनसुकै विषय सन्दर्भको सही अध्ययन हुनसक्छ । कम्तीमा प्रगतिशील प्राध्यापक सङ्गठनले यस विषयमा औपचारिक बहस सुरु गरेकामा धन्यवाद भन्नुपर्छ ।  चाडपर्वलगायत संस्कृतिका निर्माता जनता हुन् र जनताले दैनिक जीवन सञ्चालन गर्न उपार्जन, उत्पादन जस्ता श्रम सङ्घर्ष गर्दा सिर्जना भौतिक वा अभौतिक वा आत्मिक संस्कृतिको निर्माण गरेको हो । 

अझ तिहार त युगान्तकारी पर्व हो । एउटै आमाका सन्तानबीच विवाह गर्ने परिपाटीलाई अन्त गरेर दिदी बहिनी र दाजुभाइबीच आत्मीय आदरपूर्ण सम्बन्ध आरम्भ गरिएको महान् पर्व हो । तिहार मात्रै होइन, सामाचखेवा, राखी, जितिया आदि पर्वले चेली र माइती बीचको आत्मीय र आदरपूर्ण सम्बन्ध स्थापित गरेका छन् । 

त्यसैले यस्ता विषयमा परम्परागत विश्वविद्यालयीय औपचारिक ज्ञानमात्र पर्याप्त हुँदैन । यसैमा मात्र भर पर्ने हो र मार्क्सवादी कोणबाट अब पनि समग्र ज्ञानको विवेचन र विश्लेषण नगर्ने हो भने संस्कृतिका नाममा सतही कुराको मात्र संस्कृतिविद्हरू निर्भर हुने खतरा अझै देखिँदै छ । दर्शनका निर्माता विद्वान् तथा बुद्धिजीवी नै हुन् । त्यही दर्शन र वादका आधारमा राजनीतिक सिद्धान्त तय भएका वा गरिएका हुन् । यसैका आधारमा विभिन्न पहिचानका राजनीतिक पार्टी बन्न पुगेका हुन् । 

त्यसैले बुद्धिजीवीले राजनीति निरपेक्ष बस्छु भन्न सकिन्न र हुँदैन र होइन पनि । किनभने कहीँ न कहीँ राजनीतिमा एउटा प्राध्यापक राजनीतिमा परोक्ष रूपमा सहभागी भएकै हुन्छ । राजनीतिमा आ–आफ्ना हिसाबले लागे पनि कार्यकर्ताको मात्र पहिचानले प्राज्ञिक पहिचान अग्लिँदैन । यस्तो व्यक्तित्वले समाजमा खासै प्रभाव पनि पार्दैन ।  

जनताको बहुदलीय जनवाद भनेर वा नभनेर आम जनमानसलाई जबजका वैचारिक पक्षहरू उल्लेख गरेर त्यस अनुसार व्यावहारिक रूपमा प्रभावित गर्ने सामर्थ्य अपरिहार्य हुन्छ । हजार सिद्धान्तभन्दा एउटा व्यवहार काफी हुन्छ । आ–आफ्ना विषयगत विज्ञता र प्राध्यापकीय कौशलमार्फत आम विद्यार्थी जगतमा आफ्नो लगनशील, इमानदार तथा गहन प्रभाव पार्न सके मात्र एउटा प्राध्यापकले समाजमा प्रभाव पार्छ ।

एउटा मार्क्सवादी प्राध्यापकसित नीतिको जेठो राजनीतिलाई गहिरो रूपमा पर्गेल्ने क्षमता अपरिहार्य हुन्छ । यसका अभावमा बुद्धिजीवी नै पनि कुहिराको काग  हुन बेर छैन । सही मार्क्सवादी र जनताको बहुदलीय जनवाद अनुसार १०—२० वर्ष पछिको स्थिति आङ्कलन गर्न नसक्ने बुद्धिजीवी मार्क्सवादी हुन गाह्रो हुन्छ । पिँध विनाको लोहोटाको कुनै भर हुँदैन  । पुष्पलालको  संयुक्त जनआन्दोलनको सही नीति २९  वर्षपछि  मात्र  बुझ्ने हामी नै हौँ । जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद अझै राम्ररी नबुझ्ने हामी अझै हौला । प्राध्यापकहरूले जुन कुनै तरिकाले बेलाको बोली बोल्नै पर्छ । १०३ वर्ष बोलेर, २९ वर्ष बोलेर र पाँच वर्ष बोलेर राणा शाही, पञ्चायती र जनयुद्ध नामको अपार जनधन गर्ने हत्या हिंसा परित्याग गरेर लोकतान्त्रिक धारमा आएर पनि उग्रता कायमै रहेको माओवादीलाई तह लगाएकै हो । त्यसैले बेलाको बोलीको तत्काल नभए पनि समयमा गहिरो प्रभाव पर्छ । 

कतिपय उग्रवादी तप्काले मदन भण्डारीकै कारण कम्युनिष्ट पार्टीको झण्डा फहराउन पाएका हुन् भन्ने इतिहासको कटुयथार्थ सम्झिन चाहँदैनन् । अवसरवादी कम्युनिष्ट चाहिँ  जनताको बहुदलीय जनवादको कहिले च्याप्टर क्लोज गर्न चाहन्छन्, कहिले स्वार्थ अनुकूल जनताको बहुदलीय जनवादकै जप गर्छन् । माओले भनेझैँ जनता, पार्टी र सिद्धान्तप्रति विश्वास छैन भने त्यस्तो प्राध्यापकले कसरी आफूसहित समाजलाई परिवर्तित गर्न सक्छ । जयसिंह धामी प्रकरण, महाकालीमा भारतले भेल बाढी नेपालतिर फर्काउन एकतर्फी पक्की बाँध बनाएको र २४ लाख कोरोना खोप हरायो भन्ने नालायक सरकार र त्यसका भरथेग बनेका दाहाल—नेपाललाई प्राध्यापकहरूले नसच्चिए सकिने गरी कटाक्ष गर्नुपर्छ । 

अझ प्रधानमन्त्री देउवाले भारत भ्रमणमा रहँदा नेपालको चुच्चे नक्सा बुच्चे पारेर आए । यस्तो राष्ट्रघाती कामको विरोध गर्नै पर्छ । बेलाको बोली र मौकाको काम मात्र कामयाबी हुन्छ । बौद्धिक भेलामा ओलीले भन्नुभएझैँ ‘पाउरोटीमा जाम दलेझैँ गरेर नास्ता गर्ने प्राध्यापक र बुद्धिजीवीहरू मीठो मसिनो कसैलाई नबिझाउने खालको मात्र कुरा गर्ने होइन’ भन्नुभएझैँ आवश्यकता अनुसार आक्रामक रूपमा विषय उठान गर्नुपर्छ । हो पनि कहिले काहीँ रिस पनि सौन्दर्य हुन्छ र बन्छ ।  भारतले गरेको नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने र नाकाबन्दीका विरुद्ध चट्टानी अडान राख्ने दुवै उस्तै उस्तै भन्न मिल्छ ? देश, जनता र जनजीविकाका सवालमा काम गर्ने र नगर्ने सबै उस्तै कसरी हुन्छ ?  संसद् विघटन गराउन मरिमेटेर लाग्ने सबै चोखा ? अनि त्यसैका पछिपछि आँखा चिम्लेर दगुर्ने सबै जाती ? आखिर भारत अनुकूल वा कन्फर्टेबल सरकार बनाउने कुनियतका कारण बाह्य इसारामा दाहाल नेपाल लागेको त स्पष्ट भयो होला नि कि अझै प्रशिक्षण आवश्यक छ ।  

संसद् विघटन गरेकामा ओलीलाई सत्तोसराप गर्नेहरू परमादेशी सरकारको तारिफ गर्छन् । यति समान्य कुरा पनि नदेख्ने बुद्धि कस्तो बुद्धि र नेता ? ओलीलाई कम्युनिष्ट एकता विरोधी देख्नेहरू दुई महिनापछि हुने र गर्ने भनिएको पार्टी महाधिवेशनसम्म किन पर्खिन सकेनन् र कम्युनिष्ट विरोधी मोर्चामा किन सामेल भए अब परिणामले नै बताएपछि पनि किन बुझ पचाउँछन् ? 

अहिले एमाले र अझ ओली नेतृत्व देशी विदेशी प्रतिक्रियावादीको तारो बनेको छ । यसरी संसारले नै खेदो पाइलो गरेका बेला भए नभएका अत्तो थापी थापी घर झगडा बल्झाउन सुहाउँछ  ? ओलीले भन्नुभएझैँ ‘अहिले एमालेमा जुन लहर आएको छ, त्यो लहर देश र जनता तथा जनजीविकाका हितका पक्षमा आएको हो ।’ यसले दाहाल—नेपाल जस्ता नितान्त निजी निहित स्वार्थलाई केन्द्रमा पटक्क नराखी देशको स्वाधीनता, अखण्डता, स्वतन्त्र अस्तित्व शान्ति तथा समृद्धिका खातिर जनलहर उर्लेको हो । 

कुनै पनि प्राध्यापकले देशका लागि आग्रह रहित सोच्ने हो भने जसकसैले गरेका राम्रा कामहरूलाई राम्रो भन्न सक्नुपर्छ  । व्यक्तिगत रूपमा ‘आफूलाई कुलपति उपकुलपति आदि केही लिनु दिनु छैन’ भनेर देशमा भइरहेका भद्रगोलबारे बेचैन बस्न एउटा प्रबुद्ध प्राध्यापकलाई किमार्थ सुहाउँदैन ।  कम्तीमा देशको महँगो नुन वा पेन्सन पट्टा खाएको नाताले भए पनि देशका बारेमा केही न केही चिन्ता र चासो हुनुपर्छ । 

अहिले पनि ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाएर देश र जनताको छातीमा दाल दल्ने र नेपाली कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने कृत्य दाहाल र नेपालले गरेको कुचेष्टा अहिले त जन साधारणले नै बोध गर्ने गरी छर्लङ्ग भयो । कतिपय कुरा परिपक्व हुन समय लाग्छ । भारत र बाह्य शक्ति अनुकूल नेपाललाई परिचलित गर्न दाहाल नेपाल कम्मर कसेर लागेको त सबैका सामु स्पष्ट भयो नि । 

सुरुमा क्षयरोगको असर अति सामान्य हुन्छ तर ओली जस्ता विज्ञले सामान्य लक्षणबाट थाहा पाउँछन् । पहिलो पटक देश र जनताको हितमा काम गरेको देखेर विदेशी प्रभुलाई खुसी पार्न छापामार शैलीबाट प्रधानमन्त्रीबाट आफूलाई हटाएको प्रत्यक्ष भए पनि ओली पुरै तयारी र होसियारी साथ सकेसम्म दाहाल नेपाललाई सच्याउने नत्र सकिदिने हिसाबले लागेको उतिबेलै यही लेखकलाई लागेकै हो ।  

एकाध धन्धुकारीका देश र जनताको बलि दिन सकिन्न । अहिले चुनावी माहौल छ । यो वर्ग सङ्घर्षको एउटा मोर्चा हो । यसमा सफलता हासिल गर्नु आवश्यक छ । प्राध्यापकहरूले यस विषयमा आ–आफ्ना तरिकाले लागि पर्नु अपरिहार्य हुन्छ, किनभने एउटा प्राध्यापकका पछाडि आ–आफ्ना हैसियत अनुसार जनताको सचेत पङ्क्ति लामबद्ध हुन्छ । प्राध्यापकको सानो तिनो सरकार नकारको सङ्केत पनि असरदार हुन्छ । त्यसैले चिया पसल वा पिया पसलमा होस् निराशा बढाउने काम चाहिँ गर्नुहुन्न । 

 (लेखक सेवा निवृत्त प्रगतिशील प्राध्यापक हुनुहुन्छ ।)

 

 

 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ९ : ५४ बजे