अब ‘एस’ भन्ने पार्टीका कार्यकर्ता टर्च बालेर खोजे पनि भेटदैनन्: अध्यक्ष ओली

नेपालगन्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले आफ्नो पार्टीलाई नेतृत्व दिने दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको समेत बताउनु भयो।

आज नेपालगन्जमा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेको बताउनु भयो ।

अध्यक्ष ओलीले नेकपा (समाजवादी) पार्टीका उपसचिव किशोर थापासहित करीब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनु भएको छ । ‘नेकपा (एस) भन्ने पार्टी बाँकेबाट साफ भएको छ । अब एसका कार्यकर्ता खोजेर पनि पाइँदैनन्,’ उहाँले भन्नुभयो, ‘बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभरि जनलहर चलेको छ ।’

अध्यक्ष ओलीले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने दाबी गर्नुभयो । नेपालगन्जमा सम्बोधनपछि अध्यक्ष ओली बर्दिया जानु भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ३ : ३१ बजे