नवलपुर । “हाम्रो बसोबास जङ्गल नजिक छ, अझ त्यो पनि राष्ट्रिय निकुञ्जसँगै जोडिएर । सबैलाई थाहा छ, निकुञ्जका जनावर हिंस्रक पनि छन् । बाघ, भालु, बँदेल, दुम्सीदेखि हात्ती, गैँडा यी सबैसँग हामी जोगिनपर्छ । यी सबैबाट घर, खेती, बालबच्चा जोगाउनपर्छ । भागेर कहाँ जाने ? यही ठाउँको माया लाग्छ । माया लागेपछि केही छोड्न सकिँदैन, बाध्यताको कुरा बेग्लै हो ।”, नवलपुरका टेकनारायण महतो भन्नुहुन्छ ।
राजनीतिक पार्टीका स्थानीय नेता र जनप्रतिनिधिहरूका व्यवहार उत्प्रेरक हुनुपर्छ भन्ने सोच सबैले राखे पनि व्यवहारमा त्यस्तो देख्न भने कमै पाइन्छ । केही नेता र जनप्रतिनिधिहरू आफ्नो राजनीतिक हैसियत भजाएर ठेक्कापट्टा गर्ने, परिवारका सदस्य र आफन्तका नाममा जेसीभी, डोजर किनेर आफू जनप्रतिनिधि रहेको वडा—पालिकाबाट गराइने काममा प्रयोग गरेर लाभ लिने गरेका कुरा निकै सुनिन्छ । कतिपय जग्गाको कारोबार गर्ने, कमिसन मिलाउने गर्छन् भन्ने पनि सुनिन्छ । यस्ता जनप्रतिनिधिहरूले यही कार्यकालमा ह्वात्तै सम्पत्ति कमाए भन्ने पनि सुनिन्छ ।
केही जनप्रतिनिधिहरू आफ्नो नियमित आम्दानीको स्रोत नभएर जनसेवा गर्दागर्दै हरितन्नम भएको पनि देखिन्छ । केहीका पुर्ख्यौली सम्पत्ति र गर्दै आएका व्यवसाय पनि छन् र सुख—सुविधा सम्पन्न जनप्रतिनिधिका रूपमा पनि चिनिन्छन् । तर, धरैभन्दा भिन्न हुनुहुन्छ –टेकनारायण महतो । उहाँको सोच, परिश्रम, जनताप्रतिको समर्पण र कामप्रतिको निष्ठा उदाहरणीय छ ।
उहाँ नवलपुरको कावासोती नगरपालिका–१० का बासिन्दा हुनुहुन्छ । उहाँ त्यहाँ वि.स.२०४० मा जन्मेको हो । उहाँका बुवा कुलाइराम महतो र आमा सिखनकुमारी महतो बितिसक्नुभयो । अहिले उहाँको श्रीमती शान्ता र दुई छोरीहरू गरी चार जनाको परिवार छ ।
वि.स.२०५८ सालमा एसएलसी उत्तीर्ण गर्नुभएका उहाँ पहिले निजी विद्यालयमा नेपाली पढाउनुहुन्थ्यो । निजी विद्यालयमा पढाएर जीवन धान्न नसकिने ठानेर तरकारी खेतीमा लाग्नुभएका टेकनारायणले पढाउने काम छोडेर व्यवसाय र समाज सेवामा लाग्नुभयो ।
टेकनारायण अत्यन्त मेहनती हुनुहुन्छ, उहाँ अहिले कावासोती—१०, रतवलमा घरवास (होम स्टे) चलाउनुहुन्छ । यहाँ उहाँकै पहलमा चिलाहा रतवल सामुदायिक होम स्टे सञ्चालनमा आएको छ । यहीँ उहाँले पनि होम स्टे सञ्चालन गर्नुभएको छ तर, यसको स्वामित्व भने उहाँको श्रीमती शान्ता महतोमा रहेको छ ।
वडा अध्यक्ष भएको हुनाले कार्यालयको काममा उहाँको व्यस्तता रहन्छ नै । १० बजेदेखि ५ बजे बाहेकको समयमा पनि उहाँ सेवाग्राहीहरूलाई निराश बनाउनुहुन्न । मिल्ने जति काम घरैबाट पनि गरिदिनहुन्छ उहाँ । कार्यालय समयपछि उनी होम स्टेका पाहुनाका लागि आवश्यक पर्ने भान्सा र अन्य सामग्री किन्ने र घर जाँदा ती सामग्री लिएर जान्ने गर्नुहुन्छ । पाहुना भनेका ग्राहक नै हुन्, ग्राहकको सेवा उहाँको व्यवसाय हो । पाहुनाहरू कतिखेर के माग्नु ? के थाहा हुन्छ र ? पाहुनाको सत्कारका लागि उहाँहरूको माग अनुसारको आपूर्ति गर्न मोटरसाइकल चढेर बजार कुदिहाल्नुहुन्छ उहाँ । साह्रै फुर्तिला र जोसिलो टेकनारायण महतोमा नेता, शिक्षक, प्रशिक्षकमा हुने गुण पनि छ । उहाँको काम देखेर कसरी सक्नुभएको होला भन्ने लाग्छ । उहाँ आफ्नो बारेमा भन्नुहुन्छ “म त निम्न वर्गको मान्छे, दुःख गरेर अलिअलि पढेको पनि, समाजको अवस्था देख्दा र सामाजिक प्रतिष्ठाका लागि राजनीति र समाज सेवामा लाग्न मन लाग्यो । पार्टी र साथीहरूले पनि विश्वास गर्दा नाइँ भन्न पनि सकिनँ । अब त राजनीति छोड्नपर्छ, छोड्नहुन्छ जस्तो पनि लाग्दैन । कम सुत्ने, बढी खट्ने गरेर अघि बढ्ने बानी पारेको छु ।”
उहाँ भन्नुहुन्छ भन्छन्, “हामीले वन फाँडेर हुने फाइदा देख्थ्यौँ, त्यसलाई जोगाउँदा हुने कयौँ गुणा बढी फाइदा देखेका रहेनछौँ । वन फडानीले त वातावरण बिग्रँदो रहेछ । जनवारहरूलाई मानेर हामी सुरक्षित हुने ठान्दथ्यौँ । तर, वन र वन्य प्राणीको सुरक्षा त हाम्रो स्वस्थ जीवन र आर्थिक उपार्जनका लागि महत्त्वपूर्ण रहेछन् ।”
“घनघोर जङ्गल र भयङ्कर जनावरहरू आज हाम्रो नियमित आयस्रोत र जीविका बनेका छन् । फाँडेर वन र मारेर जनावर सिद्ध्याउन हो भने क्षणिक लाभ हुँदो हो, यिनलाई जोगाउन सक्दा त यिनले हाम्रो पुस्तौँ पुस्ता पाल्न सक्ने रहेछन् । खालि यिनको वासस्थान वन र यिनको प्राण जोगाइदिन पर्यो, यत्ति हो । अझ जोगाइ दिन पनि परेन, नमारे आफै जोगिन्छन् ।”
अलि बुझेर गर्ने हो भने व्यवसायमा नै देशभक्ति देखिन्छ, होम स्टे व्यवसायमा । यसमा प्रगतिशीलता पनि छ । व्यवसायलाई सामूहिकीकरण गरेर सामुदायिक होम स्टे बनाउँदा त सहकार्यको राम्रो संस्कार पनि विकसित हुँदो रहेछ । यसरी लोकतन्त्र—जनवाद हुँदै समाजवाद उन्मुख हुने उपायमा पनि होम स्टे महत्त्वपूर्ण व्यवसाय देखिन्छ ।
“हामी सांस्कृतिक कार्यक्रम र जङ्गल सफारीको माध्यमबाट चेतना दिइरहेका छौँ, आम्दानी गरिरहेका छौँ । हामीले पाहुनाको सम्मानमा पस्किने सांस्कृतिक कार्यक्रममा मनोरञ्जन मात्र होइन; समाज, संस्कृति, भाषा, वन, वन्य प्राणीबारे जागरण पनि गरिरहेका हुन्छौँ ।” उहाँको यो भनाइबाट संरक्षणको काममा पनि होम स्टेको भूमिका बुझ्न सकिन्छ ।
उहाँ आफ्नो जीवनसाथी शान्तालाई माया त गर्नुहुन्छ नै, सम्मान पनि उत्तिकै गर्नुहुन्छ । बोलाउँदा पनि साह्रै मायालु पाराले ‘शान्तु’ भन्नुहुन्छ उहाँ । शान्तुका कुनै कुरा नाघ्नुहुन्न उहाँ । जीवनसाथी शान्ताको बारेमा उहाँ भन्नुहुन्छ, “यिनको सोच, परिश्रम र जिम्मेवारी बोधकै कारण मैले व्यवसायसँगै राजनीति गर्न सकेको हुँ । व्यवसायको ठुलो जिम्मेवारी यिनले नै पूरा गर्छिन् ।”
वि.स. २०५४ सालमा गाउँमै ‘विकासमुखी युवा क्लब’ गठन गरी यसको नेतृत्व गर्नुभएका टेकनारायण पछि नागरिक मञ्चको अध्यक्ष पनि हुनुभयो । राजनीति, समाजसेवा र व्यवसाय तीन वटै कामको समन्वय गर्नुभएका कारण उहाँलाई पार्टी भित्रको काम र पार्टी बाहिरको काम दुवैतिरको अनुभव छ ।
उहाँ होम स्टेको सङ्गठन, अन्य सामाजिक काममा पार्टी कामलाई मिसाउनुहुन्न । साझा, सामुदायिक, सामाजिक संस्थामा पार्टी राजनीति गर्न नहुने मान्यता राख्नुहुन्छ उहाँ । उहाँ भन्नुहुन्छ, “आजको राजनीति घुसपैठ गरेर गर्नुपर्दैन, खुला रूपमा गर्न सकिन्छ, साझा संस्थालाई पार्टीगत स्वार्थभन्दा पर राख्नुपर्छ । सिङ्गो समाजमा कुनै एउटा पार्टी मात्र हुँदैन । कामबाट प्रभावित भएर समर्थन गर्छन् भने बेग्लै कुरा हो ।”
घर होस् वा बाहिर, उनी महिला हिंसा विरोधी हुनुहुन्छ । काम आ–आफ्नो जिम्मेवारी र परिस्थिति अनुसार फरक परे पनि, क्षमता फरक फरक भए पनि लिङ्गका आधारमा विभेद गर्न हुँदैन भन्नेमा उहाँ स्पष्ट देखिनुहुन्छ । “मेरा त दुवै सन्तान छोरी छन्, अरू सन्तानको रहर पनि छैन, दुई सन्तान, ईश्वरका वरदान भनेको सुन्थेँ, त्यही नै सही हो जस्तो लाग्छ ।”
होम स्टे (घरबास) चलाउँदा हुने फाइदा र राष्ट्रका लागि पुग्ने योगदानबारे उहाँ भन्नुहुन्छ “गाउँघरको उत्पादन गाउँघरमा नै खपत हुने भएकोले बजारको समस्या हुँदैन र उत्पादन बढ्छ, स्वरोजगारी बढ्छ, मौलिक संस्कृतिको संरक्षण हुन्छ, वन—वातावरणको संरक्षणमा टेवा पुग्दछ ।”
गाउँ र बन बीचको, मानिस र पशुप्राणी बीचको अन्तर्विरोधलाई संयोजन, संरक्षण र व्यवस्थापन गरेर चलाइएको यो र यस्ता अन्य होम स्टे (घरबास)ले स्वस्थ र मौलिक जीवनशैली दिएको पाइन्छ । टेकनारायण महतो पढे लेखेका, सचेत र विवेकी, परिश्रमी, इमानदार जनप्रतिनिधि आफैमा उदाहरण हुनुहुन्छ । छोटो समयमा गहकिलो प्रभाव पार्ने टेकनारायण जहान र जनताका लागि प्रेरणा हुनुहुन्छ ।
प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार १० : १२ बजे
प्रतिक्रिया