‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सुनवलको तरगौली ताल क्षेत्रलाई प्राचीन उत्तरक नगर घोषणा

​​​​​​​नवलपरासी । जिल्लाको सुनवल–७ स्थित प्राचीन तरगौली ताल क्षेत्रलाई प्राचीन उत्तरक नगर घोषणा गरिएको छ । 

सुनवल नगरपालिकाले एक घोषणा समारोह र भिक्षुहरूलाई भोजनदान गरी सो क्षेत्रलाई प्राचीन कोलिय गणराज्य अन्तरगतको उत्तरक नगर घोषणा गरेको हो ।

नगरपालिकाको आयोजना तथा कोलिय मिडिया एण्ड आइटिको समन्वयमा लुम्बिनी प्रदेश सरकारका पूर्व अर्थ तथा योजना मन्त्री बैजनाथ चौधरीले प्राचीन उत्तरक नगर घोषणा गर्नुभयो । 

जिल्लामा धेरै स्थान बौद्धकालीन स्थलहरू भएको र त्यसको खोज अनुसन्धान नहुँदा ओझेलमा परेको भन्नुहुँदै उहाँले अहिले यो भगवान् बुद्ध आफै आएको यो प्राचीन नगर पुरातात्त्विक महत्त्व बोकेको स्थान भएको बताउनुभयो ।

“प्राचीन नामले यो स्थानको घोषणा भएको छ”, उहाँले भन्नुभयो, “अगामी दिनमा यसको पुरातात्त्विक खोज गर्दै विकास गर्ने र बौद्ध तीर्थ स्थलको रूपमा विकास गर्दै लैजानुपर्छ ।” 

नगरपालिकाका कार्यवाहक नगर प्रमुख दधिराम अर्यालले कोलिय गणराज्यको राजधानी पण्डितपुरदेखि उत्तर र पहाड नजिकै उत्तरक नगर भएको बौद्ध साहित्यमा उल्लेख भएको भन्नुहुँदै उत्तरक नगरबाटै अपभ्रंश हुँदै यो तरगौली बनेको आधार बनाई उत्तरक नगर घोषणा गरिएको जानकारी दिनुभयो । 

प्राचीन कोलिय गणराज्य अन्तरगत १२ वटा नगर भएकोमा भगवान् बुद्ध राजधानी रामग्रामसहित ६ वटा नगरमा पुग्नुभएको र विभिन्न धर्म देशना समेत गरेको कुरा बौद्ध साहित्यहरूमा उल्लेख भएको पाइन्छ । 

कार्यक्रममा पत्रकार बेचु गौडले उत्तरक नगरको घोषणा गर्नु पर्ने औचित्य, धार्मिक महत्त्व र यस क्षेत्रको विकासका बारेमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । 

उत्तरक नगरको विकासका लागि नगरपालिकाले गुरुयोजना बनाई नियमित सन्देश प्रवाह गर्ने र बौद्ध धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । 

कार्यक्रममा उपस्थित सात सात वर्गीय भिक्षुलाई भोजनदान समेत गरिएको थियो । भिक्षुहरूले पनि यस्तो महत्त्वपूर्ण स्थानबारे बौद्ध साहित्यमा पढिए पनि सो स्थान यहीँ नै रहेको भन्ने यकिन नभएको बताउनुभएको थियो । 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ८ : १२ बजे