नेकपा एमाले र परिवार दलबीच चुनावी तालमेलको तयारी

काठमाडौँ – नेपाल परिवार दलले आगामी तीनै तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेको छ । २०७४ सालको निर्वाचनमा पनि ३ बुँदे सहमति गरेर परिवार दलले एमालेसँग चुनावी सहकार्य गरेको थियो।

पार्टी अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्भावित चुनावी तालमेलका विषयमा केही दिनअधि छलफल गर्नु भएको थियो । स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताउनु भयो ।  

अध्यक्ष ढकालले भन्नुभयो, ‘हामीले पहिला पनि एमालेलाई सहयोग गरेका थियौँ । अहिले पनि आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जाने विषयमा सकारात्मक छलफल भएको छ ।’ २०७६ जिल्लाको निर्वाचन कार्यालयमा दर्ता रहेको उक्त दलले ५२ जिल्लामा उम्मेदवारी दिने तयारी गरेको छ ।  

तर एमालेसँग चुनावी तालमेल हुने अवस्थामा भने धेरै ठाउँ दाबी नगर्ने नीति पार्टीले लिएको अध्यक्ष ढकालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘परिवारले सातदेखि दशवटा पालिकामा दाबी हुन सक्छ । कुन पालिकामा दाबी गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन ।’

 एमाले स्थानीय तहमा लोकप्रिय रहेको भन्दै अध्यक्ष ढकालले उक्त पार्टीसँगको तालमेलले दुवै दललाई फाइदा हुने ढकालले बताउनु भयो । ‘कुन क्षेत्रमा कसरी तालमेल गर्ने भन्ने विषयमा परिवार दलले वरिष्ठ उपाध्यक्ष विनोद डाँगीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । सो समितिलाई मुलुकभर पार्टीको अवस्था र प्रभाव क्षेत्र पहिचान गर्ने जिम्मेवारी दिइएको छ । उक्त समितिले रिपोर्ट दिएपछि परिवार दलले दाबी गर्ने पालिकाको टुङ्गो लाग्ने’ अध्यक्ष ढकालले जानकारी दिनु भयो ।

एमाले उपाध्यक्ष पौडेलसँग कसरी तालमेल गर्ने मोडालिटीसहित फेरि छलफल गर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्ने परिवार दलले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ३ : ०६ बजे