एकसय असीलाई जग्गाधनी लालपुर्जा

चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिकाका १८० जनालाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ ।

नगरको २, ३ र ५ नं वडामा रहेका पाँच गाउँ ब्लकका बासिन्दालाई  लालपुर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख कैलाशनाथ पाण्डेले बताउनुभयो । लामो समयपछि लालपुर्जा पाएकामा समस्यामा रहेका गाउँ ब्लकका बासिन्दा खुसी भएका छन् । 

लालपुर्जा वितरण गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले नापी भएर पनि लामो समयदेखि लालपुर्जा नपाएका जग्गाधनीलाई पुर्जा वितरण गरिएको बताउनुभयो । शिवराजका अन्य वडाहरूमा पनि गाउँ ब्लक रहेको र निरन्तर लालपुर्जा वितरण गरिने उहाँले जानकारी दिनुभयो । लालपुर्जा पाएका नागरिक स्थायी बासिन्दाका रूपमा रहेकाले अब सरकार तथा अन्य निकायले प्रदान गर्ने सेवा तथा सुविधा पनि पाउने नगरप्रमुख अधिकारीले बताउनुभयो । उहाँले २०२६ देखि नाप जाँच सुरु भए पनि लालपुर्जा वितरणको काम भर्खरै सुरु भएको नगरभरका यो समस्यालाई समाधान गर्न आग्रह गर्नुभयो ।

नगर उपप्रमुख शिवकुमारी थारूले वषौँदेखि लालपुर्जा माग गर्दै आएका नागरिकले पुर्जा पाएको बताउनुभयो । कपिलवस्तुमा २०२६ सालदेखि सुरु भएको गाउँ ब्लक जग्गा २०२८ मा सामान्य नापी भएको थियो । हालसम्म जिल्लाका साबिक ८१ गाविसमा  एक हजार ९३ गाउँ ब्लक र ६७ बजार ब्लक छ । उक्त नगरपालिका–३ बलुहवाका विश्वनाथ थारू लालपुर्जा पाएपछि खुसीहुँदै भन्नुभयो, “लालपुर्जा पाउने आश मरेको भए पनि अहिले पाउँदा खुसी लागेको छ।” रासस

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १ : २५ बजे